भ्रष्टाचारका समाचार लेख्दा ज्यादा असुरक्षा !

पोखरा– पत्रकारहरूले भ्रष्टाचारका समाचार लेख्दा बढी असुरक्षित महसुस हुने बताएका छन् । 

अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्धको दिवसका अवसरमा फ्रिडम फोरमले पोखरामा आयोजना गरेको ‘सुरक्षित पत्रकारिता तथा दण्डहीनताको अन्त्य’ विषयक अन्तर्क्रियामा सहभागी पत्रकारले भ्रष्टाचार र सामाजिक विकृति, विसंगतिका विषयमा कलम चलाउँदा असुरक्षित हुनुपरेको बताए । 

अन्तर्क्रियाका क्रममा पत्रकार प्रकाश ढकालले भने, ‘एक पक्षको समाचार लेखिरहँदा अर्को पक्षबाट धम्की आउन थाल्छ, विशेषगरी भ्रष्टाचारका समाचार लेख्दा र खोजी पत्रकारिता गर्दा मानसिक यातना हुने गर्छ ।’ 

केही समयअघि पत्रकारको परिचयपत्र देखाउँदा पनि प्रहरीले लाठीचार्ज गरेको सम्झिँदै उनले प्रहरी मिडियामैत्री हुन नसकेको गुनासो गरे । 

भ्रष्टाचारका समाचार लेखेको दिन बढी मानसिक यातना भोग्नुपरेको उल्लेख गर्दै ढकालले शारीरिकभन्दा मानसिक दुर्व्यवहारको सिकार हुनुपरेको अनुभव सुनाए । 

पत्रकारले हरेक दिन नयाँ समाचार लेख्दा चुनौतीको सामना गर्नुपर्ने बताउँदै पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले नेपालमा सशस्त्र द्वन्द्वयता विभिन्न पक्षबाट ३६ पत्रकार मारिएका, पाँचजना बेपत्ता भएकामा एकाध घटनाबाहेक अन्य घटनाका दोषीमाथि कारबाही नहुँदा दण्डहीनता मौलाएको बताए । 



दण्डहीनताका कारण पत्रकार झनै असुरक्षित हुने गरेको बताउँदै उनले सुरक्षाको प्रत्याभूति राज्यबाट हुनुपर्ने धारणा राखे । 

पत्रकार उत्तम पौडेलले केही समयअघि पोखराको सुन पसलमा भइरहेको ठगीको समाचार लेख्दा सुरक्षागार्डबाट दुर्व्यवहार भएको अनुभव सुनाए । आफ्नो पेसागत धर्मभित्र रहेर कर्तव्य पूरा गरिरहँदा हुने दुर्व्यवहारले पत्रकारलाई हतोत्साहित बनाउने चिन्ता उनले पोखे । 



पत्रकार महासंघका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठले कास्कीमा स्थानीय तहको निर्वाचनयता आठ घटनामा १० पत्रकारले विभिन्न पक्षबाट दुर्व्यवहार भोग्नुपरेको उल्लेख गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति दिलाउन सरकारलगायत सम्बन्धित सबै निकाय गम्भीर हुनुपर्नेमा जोड दिए । 

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले शान्तिसुरक्षाको प्रत्याभूतिका लागि दण्डहीनताविरुद्धको साझा संकल्पमा सबै जुट्नुपर्ने बताए । 

कार्यक्रममा विभिन्न समयमा हत्या गरिएका तथा बेपत्ता पारिएका पत्रकारबारे वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

  • प्रकाशित मिति : कात्तिक २८, २०७५ बुधबार २०:४७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया