प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनको तेस्रो चरणको आन्दोलन आजदेखि सुरु हुने भएको छ ।
नेपाल बार एशोसिएसनको तेस्रो चरणको आन्दोलनको क्रममा आज देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस तथा पैरवी नगर्ने घोषणा गरिएको छ ।
यसअघि बिहीबार सर्वोच्च परिसरमा प्रहरीले कानुन व्यवसायीमाथि धरपकड गरेपछि बारले प्रधानन्यायाधीश जबरालाई शुक्रबार तीन बजेसम्मको अल्टिमेटम दिएको थियो । बारले शुक्रबार दिउँसो तीन बजेसम्म प्रधानन्यायाधीश जबराले राजीनामा नदिए सशक्त कार्यक्रम अगाडि बढाउने चेतावनी दिएको थियो ।
अर्कोतिर सर्वोच्चका न्यायाधीश काममा फर्किएपछि जबराले आफूलाई थप सहज भएको मानेका छन् । फलतः उनले सुरु देखि नै आफूले राजीनामा नदिने बताउँदै आएको कुरामा अडिग भएका छन् ।
नेपाल बारले सोमबार देशभरिका अदालतमा १० बजेदेखि १२ बजेसम्म कालोपट्टीसहित धर्ना दिने, केन्द्रमा संसद्मा रहेका सबै राजनीतिक दलका संसदीय दलहरूमा ज्ञापनपत्र/ध्यानाकर्षण पत्र दर्ता गराउने भएको छ ।
त्यस्तै, मंगलबार कानुन व्यवसायीले हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादबाहेक कुनै पनि अदालत र न्यायाधिकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने बारको योजना छ ।
बुधबार बारले देशभरका सबै उच्च अदालतमा बृहत् विरोधसभा गर्दै छ ।
बिहीबार र शुक्रबार उपत्यकाका सबै बार इकाइ सहभागी हुने गरी सर्वोच्चमा धर्ना दिने कार्यक्रमलाई निरन्तरता दिने बारको आन्दोलनको योजना छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।