राजर्षि जनक विश्वविद्यालयका कन्ट्रयाक्ट शिक्षकहरूले फेरि थाले धर्ना

जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका पेपर (कोर्ष) कन्ट्रयाक्ट शिक्षकहरू पुनः धर्नामा बसेका छन् ।

शिक्षकहरूद्वारा विश्वविद्यालयमा गरिएको तालाबन्दी प्रहरी प्रशासनले फोडेको र शिक्षकमाथि दुर्व्यवहार गरेको विरोधमा उनीहरू धर्नामा बसेका हुन् ।

उपकुलपति भरत झाको कार्यकाल अन्त्य हुन लागेको बेलामा आफ्नो हरहिसाब मिलाउन जबर्जस्ती शिक्षकहरूको आन्दोलनमा दमन गरिएको राजर्षि जनक विश्वविद्यालयका पेपर (कोर्ष) कन्ट्रयाक्ट शिक्षक संघका सचिव रविकुमार राजले बताए ।

विश्वविद्यालयका शिक्षकहरू विगत लामो समयदेखि आन्दोलन गर्दासमेत व्यवस्थापन पक्षले माग सम्बोधनका लागि कुनै चासो नदेखाएको उनले आरोप लगाए ।

करार नियुक्तिको माग गर्दै गत साउन २४ गतेदेखि २९ गतेसम्म पहिलो चरणमा शरीरमा कालोपट्टी बाँधेर काम गरेका शिक्षकहरू भदौ ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गरेका थिए । आन्दोलनरत शिक्षकहरूको माग व्यवस्थापनले अझै पूरा गरेको छैन ।

शिक्षकहरूले करार नियुक्तिको माग गर्दै लामो समयसम्म सांकेतिक आन्दोलन गरे पनि माग पूरा गर्न कुनै चासो नदेखाइएको भन्दै उनीहरुले उपकुलपतिको कार्यालयमा ताला लगाएका थिए ।



उपकुलपति झाले प्रहरी बोलाएर शिक्षकहरूले लगाएको ताला फोड्न लगाएपछि विश्वविद्यालयको स्थिति केहीबेर तनावग्रस्त बनेको थियो ।



  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १६:१३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया