शिक्षकको स्थायी नतिजा प्रकाशनमा किन ढिलासुस्ती ?

काठमाडौं– गत असार २९ र ३० गते लिइएको अस्थायी शिक्षकको परीक्षा नतिजा ४ महिना बितिसक्दा पनि प्रकाशन हुन सकेको छैन । खुला तथा आन्तरिक परीक्षा एकै समयमा भएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको बताउँछन्, शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख  तुलसी थपलिया । 

फरकधारसँगको कुराकानीमा आयोगका प्रमुख थपलियाले यसअघि भनेका थिए,  ‘अन्तिम चरणका केही काम बाँकी छन्, सम्भवतः दसैँअघि नै नतिजा प्रकाशन गर्छाै‌ । 

द्रोसोपटक थपलियासँग जानकारी माग्दा उनले दसैँ–तिहारको बीचमा निस्किने बताएका थिए । उत्तरपुस्तिका परीक्षण सकेर रुजु तथा पुनः परीक्षण भइरहेको र यही गतिमा काम भयो भने केही विषय र तहका परीक्षा तिहारअघि नै सार्वजनिक गर्न सकिने थपलियाले जानकारी दिएका थिए । 

असोजमा लिएको स्थायी शिक्षकको खुला परीक्षाको तयारीले गर्दा अस्थायी शिक्षकको नतिजा केही समय पर सरेको उनको भनाइ थियो । 

परीक्षा सकिएको चार महिना बितिसक्दा पनि नतिजा कहिले निक्काले भने विषयमा आयोग अन्योलमै रहेको देखिन्छ । 

पछिल्लो कुराकानीमा प्रशासकीय प्रमुख थपलिया भन्छन्, ‘खुला परीक्षाको उत्तर पुस्तिकाको प्रारम्भिक काम गर्दा आन्तरिक परीक्षाको नतिजा समयमै निकाल्न सकिएन । परीक्षाको नतिजा कहिले गर्ने भन्ने टुंगो भइसकेको छैन ।’ 



अस्थायी शिक्षकको परीक्षाफल निकाल्न आन्तरिक तयारी भइरहेको उनको भनाइ छ । आन्तरिक रूपमा रहेका केही काम सुल्झाएपछि परीक्षाफल निकालिने थपलियाको भनाइ छ । 

प्रशासकीय प्रमुख थपलिया भन्छन्, ‘नतिजा यही समयमा आउँछ भन्न भन्न सकिँदैन । नतिजा निस्किँदा एकैचोटि आउँदैन, तहअनुसारको नतिजा क्रमशः प्रकाशन हुन्छ ।’



आयोगले २२ हजार ७६ पदका लागि आवाह्न गरेको अस्थायी शिक्षकको परीक्षाका लागि २३ हजार २ सय ८६ आवेदन परेको थियो । तीमध्ये प्राथमिक तहमा १६ हजार १ सय ९७, निम्नमाध्यमिक तहमा ३ हजार ७ सय ८३ र माध्यमिक तहमा ३ हजार ३ सय शिक्षकले परीक्षा फारम भरेका थिए । 

सो परीक्षा असार २९ र ३० गते लिइएको थियो । परीक्षा दिएसँगै अस्थायी शिक्षकहरूले आन्तिरक रूपमा ७५ प्रतिशत शिक्षकलाई स्थायी गराउनुपर्ने माग राख्दै आएका छन् । परीक्षामा फेल भएका शिक्षकलाई स्वास्थ्य उपचारसहितको एकमुष्ट उपदान रकम दिनुपर्ने उनीहरूको माग । 

अस्थायी शिक्षक केन्द्रीय समितिका अध्यक्ष हेमनाथ चौलागाईं भन्छन्, ‘सरकारले अस्थायी शिक्षकलाई दिने भनेको उपदान कसरी व्यवस्था गर्ने भन्ने प्रस्ट पारिएको छैन । अहिलेको बजेटमा पनि सरकारले अस्थायी शिक्षकको उपदानका लागि भनेर  रकम छुट्याएको छैन ।’

त्यसैले पनि अस्थायी शिक्षकको माग पूर्ण रूपमा सम्बोधन गर्ने सरकार तत्पर नभएको उनी बताँउछन् । स्थायी रूपमा सरकारले खटाएको, तर काम खाएपछि अस्थायी शिक्षकहरूलाई अन्त्यमा रित्तो हात घर पठाउन लागेको अध्यक्ष चौलागाईंको आरोप छ । 

अध्यक्ष चौलागाईं भन्छन्, ‘शिक्षा सेवा आयोगले समयमा नतिजा प्रकाशन नगर्दा अस्थायी शिक्षकमा निराशा छाएको छ । धेरै शिक्षक नतिजाको पखाइमा छन् ।’

शिक्षा मन्त्रालयले फेल हुने परीक्षार्थीको हकमा दिइने राहत (गोल्डेन ह्यान्डसेक)को विषयमा निर्णय नसक्दा नतिजा प्रकाशनमा समस्या आएको शिक्षक आयोगका एक सदस्यले बताए । 

शिक्षकका फरक–फरक समूहले फरक–फरक माग राख्दै आन्दोलन गरेकाले आयोगले पाँचौँपटकको प्रयासमा अस्थायी शिक्षकका लागि परीक्षा लिन सफल भएको थियो । 

विसं २०५६ सालमा आयोगको स्थापना भएपछि खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गर्न थालिएको हो । आयोग स्थापनापछि हालसम्म तीनपटक मात्र खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गरिएको छ । यस्तो प्रतिस्पर्धाबाट १८ हजार मात्र शिक्षक नियुक्त भएका छन् । आयोग स्थापना हुनुअघि जिल्ला र क्षेत्रीय रूपमा शिक्षक नियुक्त हुन्थे । 

के भन्छ मन्त्रालय ?

शिक्षा मन्त्रालयका प्रवक्ता वैकुठ अर्याल भन्छन्, ‘शिक्षक आयोगको नतिजा प्रकाशनपछि त्यसबाट आउने परिमाणका आधारमा वा शिक्षा ऐनको आठौँ एवं नवौँ संशोधनका आधारमा अस्थायी शिक्षकले पाउने सुविधा दिने गरी मन्त्रालयले आवश्यक गृहकार्य गर्नेछ ।’

तर, अहिलेको बजेटमा अस्थायी शिक्षकको लागि कुनै बजेट नछुट्याएको विषयमा कुरा गर्दा प्रवक्ता भन्छन्, ‘बजेट छुट्याएको छ कि छैन भन्ने विषय सरकारको कुरा हो । सरकारले अस्थायी शिक्षकसँग गरेको सम्झौताकै आधारमा नतिजा आएपछि अस्थायी शिक्षकको समस्या समधान हुन्छ ।’

प्रवक्ता अर्याल भन्छन्, ‘अस्थायी शिक्षक व्यवस्थापनका लागि सरकारले केही बजेट व्यवस्था गरेको छ, केही अपुग बजेट अर्थ मन्त्रालयसँग माग गरिएको छ ।’ 


 

  • प्रकाशित मिति : कात्तिक २९, २०७५ बिहीबार १७:२४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया