नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’ले नेकपा एमालेकाे नेतृत्वमा मात्रै नेपालकाे समृद्धि सम्भव भएकाे बताएका छन् ।
पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।
नेता बादलले भने, ‘यो दशौं राष्ट्रिय महाधिवेशनको एउटा ऐतिहासिक महत्त्व यो कुरामा छ कि यो ऐतिहासिक महाधिवेशनले हामीले एउटा सबल र सक्षम नेतृत्वलाई स्थापित गर्नेछ । हामीले मंसिर १० गते चितवनमा के सन्देश दिन चाहन्छौँ भने पुनः जनादेशबाट राजकीय सत्तामा नेकपा एमाले पुनर्स्थापित हुनेछ । र नेकपा एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि सम्भव छ । हामी चितवनबाट कमरेड केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय समितिको निर्माण गरेर एउटा सक्षम नेतृत्व निर्माण गर्न चाहन्छौं । र, यो देशको जिम्मेवारी त्यही नेतृत्वलाई हामी दिन चाहन्छौं ।’
आगामी निर्वाचनमा आफ्नै पार्टी नेतृत्वमा सरकार बनाउने गरी सो महाधिवेशनबाट ओली नेतृत्वमा सक्षम केन्द्रीय कमिटी निर्माण गरेर अघि बढ्ने उनकाे भनाइ छ ।
परमादेशबाट बनेको सरकार र सत्तारूढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनः राजकीय सत्तामा पुग्न पनि ओलीजस्ता समक्ष नेतृत्व पार्टीका लागि आवश्यक रहेको तर्क समेत गरे ।
नेता बादलले एमालेको नेतृत्वमा मात्रै मुलुक समृद्ध हुने र नेपाली जनताले सुख पाउने दावी समेत गरे । उनले स्रोत नखुलेको सम्पत्तिबाट दलाल पूँजीपतिहरूको संरक्षण गर्न लागि परेको सत्तारूढ गठबन्धनबाट मुलुकको समृद्धि सम्भव नभएको पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।