एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्षमा नेम्वाङ कि पोखरेल ?

दशौं महाधिवेशनको अन्तिम तयारीमा रहेको एमालेमा पदाधिकारी चयनको विषय सबैभन्दा बढी चर्चामा छ ।

विधान महाधिवेशन सकेर राष्ट्रिय महाधिवेशन गर्न लागेको एमालेले प्रतिनिधि छनोटमा सर्वसम्मतिको सन्देश देशभरबाट दिइसकेको छ ।

नेताहरू यो पटक हुने पदाधिकारी चयन पनि सर्वसम्मति नै हुने बताउँदै आएका छन् ।

यद्यपि, १० बुँदे कार्यान्वयनको माग राखेर असन्तुष्टि जनाउँदै आएका उपाध्यक्ष भीम रावलले सर्वसम्मति अध्यक्ष बन्ने ओलीको चाहनामा ‘ब्रेक’ लगाइदिएका छन् ।

विधान महाधिवेशनबाटै उमेर हदको समस्यालाई टाढा पुर्‍याउँदै निर्विकल्प अध्यक्ष बन्ने ओलीको तयारी थियो । सँगसँगै एमालेमा ओलीपछिको अबको उत्तराधिकारी को ? भन्ने विषयले पनि निकै चर्चा पाइसक्यो ।

अध्यक्षपछिको  ठूलो पद हो, वरिष्ठ उपाध्यक्ष ।



यसअघि नवौं महाधिवेशनमा यो पद थिएन ।

गत १५ देखि १७ असोजसम्म गोदावरीमा भएको एमालेको विधान महाधिवेशनले पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष पद थपेको थियो । अध्यक्ष काम विशेषले मुलुकबाहिर जानु परे वा स्वदेशभित्रै रहँदा कारणबस जिम्मेवारी सम्हाल्न नसक्ने अवस्था उत्पन्न भए कार्यबाहक अध्यक्षको जिम्मेवारीका लागि एमालेले पार्टी विधानमा वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेको हो ।



अध्यक्षसँगै महासचिवको पदलाई कम्युनिस्ट पार्टीमा महत्त्वपूर्ण मानिन्छ । ओलीले यो पटक महासचिव छान्ने मान्छेलाई उनको उत्तराधिकारीका रूपमा धेरैले व्याख्या गर्छन् । जसमा, लुम्बिनी प्रदेशका दुई एमाले हस्ती शंकर पोखरेल र विष्णु पौडेलको नाम चर्चामा छ ।

विधान महाधिवेशनबाट थपिएको वरिष्ठ उपाध्यक्षको पदलाई पनि धेरैले चासोका साथ हेरेका छन् ।

वरिष्ठ उपाध्यक्ष को ?

एमाले महाधिवेशनको तयारी सुरु हुँदैगर्दा यो पटक महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा दाबी गर्नसक्ने शंका गरिएको थियो । पोखरेलले आफू अध्यक्षको लागि उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् ।

अध्यक्षमा ओलीलाई टक्कर दिएर ‘नबिच्काउने’ रणनीति लिएका पोखरेलको आकांक्षा वरिष्ठ उपाध्यक्षमा छ ।

उनीसँगै स्थायी समिति सदस्य सुवास नेम्वाङ र रामबहादुर थापाको नाम पनि चर्चामा छ । चर्चा चलेका अर्का पात्र रावलले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

एमाले नेताहरूका अनुसार यो पटकको महाधिवेशनमा ओलीको रोजाइमा परेकाहरूले नै नेतृत्व पाउने सम्भावना बढ्दै गएको छ । सोहीअनुसार उनीहरूले अध्यक्ष ओलीलाई एक्ला एक्लै भेटेर आफ्नो चाहना व्यक्त गरिसकेको निकटस्थ नेताहरूले बताएका छन् ।

एमाले वृत्तमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पोखरेलले पाउने चर्चा बढेको छ । नवौं महाधिवेशनमा अध्यक्षमा ओलीलाई सघाएको उनी दुई पटक महासचिवसमेत भइसकेका छन् । निर्विकल्प अध्यक्षको दाबेदारी रहेका ओलीलाई रावलले चुनौती थपेसँगै महाधिवेशन हलसम्म पुग्दा परिस्थिति फरक हुनसक्ने एमालेकै एक नेतृ बताउँछिन् ।

उनका अनुसार अध्यक्ष ओलीले महाधिवेशन हलभित्र पुग्नै लाग्दा आफ्नो उम्मेदवारी घोषणा गर्नेछन् ।

पोखरेल र नेम्वाङमध्ये को पर्लान ओलीको रोजाइमा ?

पूर्वमाओवादी पृष्ठभूमिबाट आएका रामबहादुर थापाको चाहना वरिष्ठ उपाध्यक्षमा थियो । तर, प्रचण्डको ‘मेख’ मार्न उपयोगी हुनेबाहेक थापा एमाले र ओलीका लागि त्यति उपयोगी नहुने नेताहरू बताउँछन् ।

एमालेमा एक वर्षभन्दा लामो समय नबिताएका थापालाई ओलीले अहिले नै वरिष्ठ उपाध्यक्ष पद नपत्याउने धेरैको विश्लेषण छ ।

अब बाँकी रहेका दुई आकांक्षी नेम्वाङ र पोखरेलमध्ये ओलीले कसलाई छान्छन् भन्ने महत्त्वपूर्ण विषय छ । मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले सहमति हुँदाहुँदै आफू निर्वाचन प्रक्रियामा जाने सोचमा नभएको बताएका छन् । यद्यपि, सहमतिको वातावरण नबन्दा करकाप गरेर कसैलाई फकाउन नलाग्ने उनले स्पष्ट बताइसकेका छन् ।

तर, पदाधिकारी चयनमा सर्वसम्मत गराउने अभिव्यक्ति दिएर राष्ट्रिय सन्देश दिनपर्ने अडानबाट ओली अझै पछि नहटेको ओलीनिकट एक नेताले बताए ।

त्यसो भए, वरिष्ठ उपाध्यक्षमा ओलीले कसलाई रोज्लान् ? यो आम चासोको विषय बनेको छ ।

पहिला कुरा गरौं पोखरेलबाट,

नेतृत्वका लागि ७० वर्षे उमेर हद नलाग्नेमध्ये अध्यक्ष ओलीपछिका सबैभन्दा वरिष्ठ एमाले नेता हुन्, महासचिव पोखरेल । दुईपटक एमालेको महासचिव बनिसकेका पोखरेललाई धेरैले अध्यक्षको दाबेदारका रूपमा हेरेका थिए । तर, उनी आफैँ त्यसबाट पछि हटिसके ।

एमालेमा महासचिव रहेकै बेला उनले नेकपामा आफ्ना विश्वासपात्र विष्णु पौडेललाई अघि सारे । पौडेलको ‘प्रोमोसन’ भएसँगै पोखरेलको मनमा चिसो पसिसकेको थियो, कतै ओलीले अब मलाई पछि पार्ने त होइनन् ।

आफ्नो अनुपस्थितिमा कार्यबहाक जिम्मेवारी सुम्पिने कुरामा ओली सचेत छन् । अध्यक्षपछि वरिष्ठ उपाध्यक्ष पदमा पोखरेल निर्विरोध हुनसक्ने धेरैको अनुमान थियो । पोखरेलले आफू वरिष्ठ उपाध्यक्षका दाबेदार भनेर सार्वजनिक अभिव्यक्तिसमेत दिएका छन् ।

तर, रावलको अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि भने परिस्थिति अलिक फेरिएको छ । पोखरेलले पार्टीमा ओलीपछिको पोर्टफोलियो खोजेका छन् ।

सुवास नेम्वाङका कुरा,

रावल अध्यक्षको दाबेदार भएपछि पोखरेललाई चुनौती दिने आन्तरिक तयारीमा पुगेका छन्, सुवास नेम्वाङ ।

उनले यसबारे अहिलेसम्म सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । राजनीतिमा चातुर्यतासहित अघि बढ्ने नेम्वाङ पछिल्ला दिनमा वरिष्ठ उपाध्यक्षका लागि लविङ गरिरहेका छन् ।

नेम्वाङ ओलीको विश्वासपात्र हुन् । ओलीले व्यक्तिगत रूपमा निकै समयदेखि मन पराउँदै आएका नेता थिए, उनी । यही कारण ओलीले एमाले संसदीय दलको उपनेताको जिम्मेवारी उनैलाई दिएका थिए ।

आफूले दुई–दुई पटक गरेको संसद विघटनको देखावटी समर्थनमात्र गरेकोमा पछिल्लो समय ओली नेम्वाङसँग त्यति धेरै सन्तुष्ट छैनन् । त्यसबाहेक पार्टी विभाजन टार्न माधव नेपाललाई समेट्न गरेको प्रयासका कारण पनि नेम्वाङले ओलीको विश्वास गुमाएका एकथरिको तर्क छ ।

तर, नेम्वाङले वरिष्ठ उपाध्यक्षमा पोखरेललाई टक्कर दिँदै गर्दा ओलीको निर्णय नै लागू हुनेछ ।

  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १९:५५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया