जिटुजीमार्फत १० हजार नर्स बेलायत पठाइँदै, जापान पठाउने विषय अन्योल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सरकारले बेलायतमा रोजगारीका लागि नेपाली नर्स पठाउने भएको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सचिव गौतमले वेलायत सरकारको मागअनुसार सरकारले १० हजार नर्स रोजगारीका लागि पठाउने भएको बताएका हुन् । उनले जिटुजी सम्झौतामार्फत नेपालबाट रोजगारीका लागि नर्स लैजाने विषयमा बेलायतसँग सम्झौताको तयारी भइरहेको बताए ।

उनले कोभिडपछि बेलायतमा करिब एक लाख नर्सको माग भएकामा फिलिपिन्स, भारत र नेपालबाट नर्सिङ क्षेत्रमा आवद्ध भएका कामदार लाने तयारी भएको बताए ।

उनले भने, ‘बेलायत सरकारले कुल १० हजार नर्स लाने इच्छा देखाएको छ, पहिलो चरणमा ५ हजार नर्सलाई लाने र विस्तारै थप गर्दै जाने प्रारम्भिक सहमति भएको छ, बेलायत जाने नर्सले वार्षिक २४ हजार पाउन्ड स्टरलिंग अर्थात करिब ४५ लाख रुपैयाँ तलब हुने छ ।’

सचिव गौतमले बेलायत सरकारले आउँदो डिसेम्बरभित्रै नेपाली नर्स रोजगारीका लागि लाने प्रतिबद्धता जनाएको बताए । त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत आग्रह पत्र प्राप्त भएसँगै मन्त्रालयका महाशाखा प्रमुखको नेतृत्वमा सात सदस्य वार्ता टोलीसमेत गठन भइसेको बताए । उनले वाता टोलीले एक चरणको छलफलसमेत सम्पन्न गरि सकेको पनि बताए ।

उनले भने, ‘नयाँ सरकार गठन भएसँगै रोजगारीका लागि जापान पठाउने विषय अन्योल बनेको छ, नेपाली कामदारलाई रोजगारीको लागि जापान पठाउने विषयमा गत असारमै निर्देशिका बनाएर मन्त्रिपरिषद्मा पठाइसकेको छ, तर निर्देशिका छलफलकै क्रममा रहेको बेला नयाँ सरकार गठन भएपछि फिर्ता आएको हो, अहिले पुनः मन्त्रिपरिषदमा पठाउने तयारी भइरहेको छ ।’



सचिव गौतमले मन्त्रिपरिषद्ले निर्देशन पारित गरेमा नेपालबाट विदेशमा रोजगारीको लागि माग भएका कामदार पठाउनु सहज हुने बताए ।



  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार २०:६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया