नवीन सुब्बा १० वर्षपछि निर्देशनमा फर्किंदै, ‘गाउँ आएको बाटो’ बनाउने

चलचित्र ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने भएका छन् ।

निर्देशक नवीन सुब्बा दश वर्षपछि चलचित्र निर्देशनमा फर्कन लागेका हुन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने औपचारिक घोषणा गरिएको हो ।

चलचित्र पूर्वी पहाडको स्थानीय राई समुदाय जीवन परिवेशको कथामा बन्ने भएको छ । चलचित्रमा दयाहाङ राई, पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ । पत्रकार सम्मेलनमा निर्देशक सुब्बाले चलचित्र राम्रो बनाउन आफ्नो इमानदार प्रयास हुने बताए ।

 ‘म लामो समयपछि निर्देशनमा फर्किएको छु । चलचित्र भयंकर राम्रो बनाउँछु भनेर दाबी त गर्दिनँ तर नराम्रो पनि बनाउने छैन । स्क्रिप्टबाट म सन्तुष्ट छु । अहिले हामी कलाकारसँग बसेर चरित्र निर्माणको विषयमा छलफल गरिरहेका छौं । चलचित्रले नेपाली समाजको यथार्थलाई पस्किनेछ’ उनले भने ।

त्यस्तै, नायक दयाहाङ राईले नवीन सुब्बासँग काम गर्नु आफ्ना लागि अवसर र चुनौती दुवै रहेको बताए । करिअरको सुरुवातमा सुब्बाको निर्देशनमा बनेको टेलिचलचित्र ‘दलन’ मा काम गरेको स्मरण गर्दै उनले लामो समयपछि चलचित्रमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । अभिनेत्री पशुपति राईले पनि निर्देशक सुब्बासँग काम गर्नु आफ्ना लागि अवसर र चुनौती दुवै रहेको बताइन् ।

यो चलचित्र छायांकनको जिम्मा निर्देशक सुब्बाले अमेरिकाका छायाकार मार्किन कापरोनलाई दिने भएका छन् । नेपाली छायाकारहरूभन्दा विदेशी छायाकारसँग काम गर्न सजिलो भएकोले अमेरिकाबाट छायाकार ल्याएको  निर्देशक सुब्बाले बताए ।



चलचित्रको स्क्रिप्ट महेश राई र नविन सुब्बाको रहेको छ भने मुख्य निर्मातामा अमोद राई रहेका छन्  । त्यस्तै, कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, यूकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन् । हङकङ, मकाउ, नेपाल, यूके, अमेरिका, बेल्जियम, साउथ कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनी निवासी व्यक्तिहरु चलचित्रको सह–निर्मातामा रहेकाछन् ।



  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार २०:३८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया