पौडेल पक्षको किल्ला मानिएको पाँचथरमा देउवापक्षीय जबेगू विजयी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पाँचथरमा भएको जिल्ला अधिवेशनबाट सभापति शेरबहादुर देउवापक्षीय उम्मेदवार निर्वाचित भएका छन् । 

वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय उम्मेदवार सुरेन्द्रकुमार दाहाललाई पराजित गर्दै देउवापक्षीय रूपनारायण जबेगू जिल्ला सभापति चुनिएका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार जबेगूले ६३४ मत प्राप्त गरेका छन् भने दाहालले ४१६ मत प्राप्त गरे । 

कूल मत एक हजार ७७ खसेको थियो । जबेगूले प्रारम्भिक मत परिणाम सार्वजनिक भएदेखि नै ‘लिड’ गरेका थिए । जुन अन्तिमसम्मै कायम रह्यो । 

जबेगू ९५० मत गणना भइसक्दै सभापति पदमा निर्वाचित भइसकेका थिए । किनभने उक्त संख्याको मत गणना गर्दा जबेगूलाई ५५८ र दाहाललाई ३६५ मत प्राप्त भएको थियो । र, मतान्तर १९३ थियो । 
गणना हुन बाँकी १२७ मत सबै दाहाललाई पर्दा पनि जित्ने स्थिति थिएन । यसरी जबेगू पहिलोपटकमै सभापति बन्न सफल भए ।

जबेगूलाई फापेको राजनीति

राजनीतिमा आउनुअघि जबेगू शैक्षिक क्षेत्रमा थिए । गाउँ याङनामकै एउटा प्राथमिक विद्यालयको लामो समय प्रधानध्यापक भए । प्रधानध्यापक छँदै उनी नेपाल शिक्षक युनियनको जिल्ला अध्यक्ष पनि भए ।
जिल्लाको शैक्षिक क्षेत्रमा उनको रजगज नै चल्थ्यो । तर, उनीमाथि शिक्षक भएर बढी राजनीतिक गतिविधिमा सरिक भएको आरोप लाग्थ्यो । यति मात्रै होइन, उनीमाथि ‘खेताला शिक्षक’ राखेको आरोप पनि लाग्थ्यो । 



१३औँ महाधिवेशनअघि शिक्षण पेसाबाट राजीनामा गरेर उनले जिल्ला सचिवमा प्रतिस्पर्धा गरे । निर्वाचित पनि भए । पाँचथर कांग्रेसको सीमित कुशल संगठकमध्येमा उनी पर्छन् । र, उनै जबेगू मंगलबार सभापति पनि भएका हुन् । 

दाहालको ‘ह्याट्रिक’ पराजय



दाहाल पूर्वमन्त्री स्वर्गीय पूर्णकुमार शेर्मा सभापति हुँदा सचिव थिए । उनलाई १२औँ जिल्ला अधिवेशनमा सोही समितिको सहसचिव रहेका नरेन्द्रकुमार केरुङले पराजित गरे । त्यसअघि केरुङ पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापन गर्थे ।

उनै केरुङबाट दाहाल १३औँ अधिवेशनमा पनि पराजित भए । अहिले जबेगूबाट पराजित हुँदा दाहालले पराजयमा ‘ह्याट्रिक’ गरेका छन् । 

दाहाल बारम्बार पराजय हुनुको एउटा कारण उनको जिल्लामा रहेर पार्टी संगठनमा कम भूमिका रहेको कांग्रेसवृत्तमा चर्चा हुने गरेको छ । १३औँ अधिवेशनको बेला कांग्रेसभित्रै ‘पर्यटक नेता’ पनि भनेर दाहालमाथि टिप्पणी हुन्थ्यो । कारण, अधिकांश समय उनको बसाइ ललितपुरमा थियो । 

अर्कोतिर, जिल्लामा कुनै समूह सभापति पदका लागि दाहाललाई फापेन । १२औँ र १३औँ अधिवेशनमा दुईपटकसम्म सभापति पदमा पराजित गर्ने नेता नरेन्द्रकुमार केरुङले यसपटक दाहाल सहयोग गरेका थिए । यतिसम्म कि गाउँगाउँमा भोट माग्न र माहोल बनाउन केरुङ पनि खटिए । तर, दाहाललाई विजयी गराउन सकेनन् । 

यससँगै जबेगूले पाँचथर कांग्रेसमा पौडेल पक्षको पार्टी नेतृत्वमा क्रमभंगता गरेका छन् । 

पदाधिकारीमा समान प्रतिनिधित्व

जिल्ला कार्य समितिको दुई उपसभापतिमा भने दाहाल प्यानलका बृजहाङ आङदेम्बे र डिकेन्द्र चेम्जोङ निर्वाचित भएका छन् । आङदेम्बेले ६२५ र चेम्जोङले ४५१ मत प्राप्त गरे । ११ मतले जबेगूपक्षीय उम्मेदवार समरबहादुर अधिकारी पराजित भए ।  

दुई सचिव र दुई सहसचिवमा भने दुवै प्यानलका एक–एकजना निर्वाचित भएका छन् । दुई सहसचिवमा दाहाल प्यानलबाट सन्तोष श्रेष्ठ (६०८ मत) र जबेगू प्यानलबाट गजेन्द्र राई (४९९ मत)ले विजयी भए । 

महाधिवेशन प्रतिनिधिमा खस आर्यबाट गणेशप्रसाद पोखरेल, आदिवासी जनजातिबाट देउकुमार योङहाङ, धनकुमार लावती, शशिराज आङदेम्बे र विजयहाङ आङदेम्बे निर्वाचित भएका छन् ।

जिल्ला सदस्य समावेशी खसआर्यबाट गणेश प्रसाद पोख्रेल ४८०,समावेशी आदिवासी खुल्ला तर्फबाट देउकुमार योङ्हाङ ४८४, धनकुमार लावती ५२८, शशिराज आङ्देम्बे ४४० र विजयहाङ आङ्देम्बे ५३६ मतसहित निर्वाचित भएका छन् ।

फिदिम नगरपालिकाका तर्फबाट जिल्ला सदस्य महिलामा बिमला हाङ्सरुम्बा (सुब्बा) ५७४, नगरपालिका खुल्लाबाट रमेश भगत प्रधानांग ४६२, राजकुमार नेम्बाङ ५१९ मत हासिल गर्दै विजयी भए । 

त्यस्तै, याङ्वरक गाउँपालिकाबाट महिला दिला खेवाङले ४९० र खुल्लातर्फ मविन्द्र योङ्या, फाल्गुनन्द गाउँपालिकाबाट महिला दिला खेवाङले ४९० र खुल्ला तर्फ चन्द्रकुमार आङ्देम्बेले ४९८, मिक्लाजुङ गाउँपालिकाबाट खुल्लातर्फ वीरेन्द्र शेर्मा ५२०, तुम्वेवा गाउँपालिकाबाट महिलातर्फ लीला राईले ५१०, तुम्वेवा गाउँपालिकाबाट खुल्ला दिलेन्द्रकुमार शेर्माले ४५१, कुम्मायक गाउँपालिकाबाट महिलातर्फ मनुकुमारी शेर्माले ६६०, कुम्मायक गाउँपालिकाबाट खुल्लामा गोविन्दबहादुर फुयाँल ४६१ मतसहित जिल्ला सदस्यमा विजयी भएका छन् ।

  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार २१:११:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया