बझाङलाई आलुमा आत्मनिर्भर बनाउने अभियानमा कृषि ज्ञान केन्द्र
रिदम सिंह
फरकधार / ८ मंसिर, २०७८

बझाङलाई आलुमा आत्मनिर्भर जिल्ला बनाउने अभियानका रूपमा विभिन्न कार्यक्रम अगाडि बढाइएका छन् । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले कृषकलाई आत्मनिर्भर बनाउन अभियान सुरु गरेका हुन् ।  



‘कृषकलाई आलु खेतीमा प्रोत्साहन गर्न अहिले उन्नत जातको विउ वितरण तथा उनीहरूका लागि बेलाबेला तालिमको आयोजना गर्ने गरेका छौं,’ कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले भने, ‘कृषकहरूलाई आवश्यक औजार तथा सिंचाइका सामान दिएर पनि सहयोग गर्ने गरेका छौं, यसले गर्दा जिल्लाका किसानमा आलु खेती गर्ने चाहनामा बढ्दै गएको छ ।’  

बझाङमा अन्य बालीको तुलनामा आलु राम्रो उत्पादन हुने गरेको किसान । किसानलाई जागरुक गराउन सके बझाङको आलुले सुदूरपश्चिम प्रदेशभरलाई धान्न सक्ने कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले बताए । जिल्लालाई आलु जोनका रूपमा विकास गर्ने योजना बनाइएको उनले बताए । जसका लागि आलु जोनको पनि सहकार्य रहेको विष्टले बताए । 



‘सरकारले गहुँ खेतीभन्दा आलु लगाउन आदेश दिएको छ, गहुँभन्दा आलु बढी उब्जनी हुन्छ, नाफा पनि गहुँको तुलनामा धेरै हुन्छ । आलुबाट कृषकले मनग्य आम्दानी पनि गर्न सक्छन्, त्यसैले अब बझाङलाई आलु जोनका रूपमा विकास गर्न हामी सबैले हातेमालो गर्न आवश्यक छ,’ उनले भने । 

कृषि ज्ञान केन्द्रले अहिले बीउ वितरणदेखि बजारीकरण, प्याकेजिङ, निःशुल्क ढुवानी गर्नेसम्म गर्ने गरेको छ । यसअघि पनि कार्यालयले विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो । तर ज्ञान केन्द्रको सो काम खासै प्रभावकारी नदेखिएको किसानको गुनासो छ । 

ज्ञान केन्द्रले कार्यक्रम वास्तविक किसानको क्षेत्रमा नपुग्ने भएका कारण यस अघिका कार्यक्रम प्रभावकारी हुन नसकेको जयपृथ्वी नगरपालिकाका किसान रामप्रसाद जोशीले बताए । अहिले जिल्लालाई आलु जोनको रूपमा स्थापित गर्ने उद्देश्यका साथ अगाडि बढाइएको कार्यक्रमलाई केही वर्ष निरन्तरता दिनुपर्ने उनले बताए । यस्तो गरेमा मात्र कार्यक्रम केही प्रभावकारी बन्नसक्ने जोशीको विश्वास छ ।  

किसानले पनि आलु खेतीबाट आफूहरू सन्तुष्ट भएको बताएका छन् । जयपृथ्वी नगरपालिका–११ साइला बगरका सुर्जन खड्काले यसअघि परिवारका लागि मात्रै खानका लागि आलु लगाउने भएपनि अहिले व्यावसायिक खेती गर्न थालेको बताए । व्यावसायिक रूपमा आलु खेती गर्न थालेपछि आम्दानी पनि राम्रो भइरहेको उनले बताए ।

‘गहुँभन्दा पनि आलु खेतीले मनग्य आम्दानी हुने आशामा आलु लगाएको थिए, पछि परियोजनाले सुनिगाडबाट पानी तान्ने पम्पसेट दिएपछि आलु खेती सिंचाइ गर्न पनि सहज भयो,’ खड्काले भने ।

जिल्लामा अहिले कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ आलु जोनले कृषकलाई आलु खेतीसम्बन्धी प्रशिक्षण पनि दिँदै आएका छन् । 

  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार ११:४७:१४,   अन्तिम अपडेट : मंसिर ८, २०७८ बुधबार ११:४९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया