कमिसनको खेलले हुम्लावासी भोकै, सेनाको हेलिकोप्टरमार्फत पठाइँदै चामल

हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा तीन बस्ती छन्, हल्जी, जाङ र तिल । तीनवटै गाउँमा वर्षमा एक बाली मात्र उब्जनी हुन्छ । ती गाउँहरूमा खाद्यान्न बालीका रुपमा उवा र आलु मात्र फल्ने गर्छ । 

चीनसँग सीमा जोडिएको गाउँ भएकोले स्थानीयहरुले अपुग खाद्यन्न चीनबाट आयात गर्दै आएका थिए । तर, चीन सरकारले करिव दुई वर्षदेखि कोरोना महामारी देखाउँदै सीमा नाका बन्द गरेको छ । अहिले चीनबाट खाद्यान्न आउने बाटो पनि बन्द छ ।  

खाद्यान्नको चरम अभाव भएपछि गएको आइतबार वडा अध्यक्षसहित लिमीका ३० जना स्थानीय चामलको माग राख्दै सदरमुकामका सिमकोट पुगेका थिए । 

सिमकोटमा पनि खाद्यान्नको जोहो हुने नदेखेपछि वडा अध्यक्ष पाल्जोर तामाङ काठमाडौं हानिएका थिए । काठमाडौंमा गएर उनले गृह र अर्थ मन्त्रालयको ढोका ढकढकाए । उनले जसरी पनि खाद्यन्न उपलब्ध गरिदिन भने । 

चामल माग्न जनप्रतिनिधिहरू हुम्लाबाट काठमाडौं आएको खबर फैलिएपछि गृहले चासो देखाउँदै तत्काल हेलिकोप्टरबाट ढुवानी गर्न निर्देशन दिएको थियो । 

उवा, जौ, आलु मात्र उत्पादन हुने लिमी गाउँ उत्तरी चीनसँग सिमा जोडिएको गाउँ हो । गाउँमा खाद्यान्न तथा अन्य व्यापारका लागि चीनसँग भर पर्नुपर्ने बाध्यता छ । 
लिमी गाउँमा भिरालो जमिन र अत्यधिक चिसो हुने भएकाले वर्षभरिमा उवा मात्र पाक्ने र त्यो बालीले एक महिना मात्र खान पुग्ने गरेको स्थानीय सोनाम दोर्जी लामाले बताए । 



‘पाकेको बाली खाइसकियो, नयाँ बाली लगाएकै छैनौं । घरमा अन्नको एक गेडा छैन, कसरी जीविका चलाउने ?,’ उनले भने, ‘अधिकांश घरमा चामल सकिएपछि स्थानीयले सरसापट गरेर खाद्यान्नको जोहो गरेका छन् ।’

चामलका लागि आफुहरु काठमाडौं नै धाउनु पर्ने अवस्था आएको नाम्खा गाउँपालिका–६ का अध्यक्ष पाल्जोर तामाङले बताए । ‘नागरिक भोकले मरे भनेर खाद्यान्नका लागि काठमाडौंसम्म धाउनु पर्ने बाध्यता रहेको छ । यो बाध्यता कहिलेसम्म हट्ला,’ उनले निराशा व्यक्त गरे । 



राष्ट्रिय सडक सञ्जालले नछोएको हुम्ला जिल्लामा खाद्यान्न ढुवानीका लागि हवाई मार्गको प्रयोग गर्नुपर्दछ । यही ढुवानीमा पनि कमिसनको खेलोफड्को हुँदा हुम्लावासी खाद्यान्नबाट बञ्चित हुनुपरेको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कमिसनको चक्करमा पर्दा हुम्लामा खाद्यान्न संकट परेको स्थानीयको आरोप छ । 

हवाईमार्गबाट हुम्लामा खाद्य ढुवानी गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत साउन १५ मा बोलपत्र आह्वान गरेको थियो । कम्पनीले झन्डै ४ करोड कमिसनको प्रलोभनमा महँगो ढुवानी दर कबोल गर्ने कार्गो सर्भिसलाई ढुवानी स्वीकृत दिन खोज्यो जसका कारण अहिले चामल ढुवानी रोकिएको छ । यो मुद्दा अदालतसम्म पुग्यो र अहिले विचाराधीन अवस्थामा रहेको छ । 

चालु आर्थिक वर्ष २०७८/७९ मा हुम्लामा हवाई मार्गबाट २७ हजार ९ सय क्विन्टल चामल ढुवानी गर्न खाद्य कम्पनीले कार्यक्रम स्वीकृत गरेको थियो । 

मुख्यमन्त्रीको चासो 

हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा भएको खाद्य संकटका बिषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

खाद्यान्न ढुवानीका लागि मुख्यमन्त्री शाहीले सैनिक हेलिकोप्टरको प्रयोग गर्न नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गरेको उनको स्वकीय सचिव राज रोकायाले जानकारी दिए । 

‘लिमीमा समस्या भएको त हो । त्यस बिषयमा मुख्यमन्त्रीले नेपाली सेनासँग कुरा गर्नु भएको छ,’ उनले भने, ‘ढुवानीका बिषयमा अदालतमा मुद्धा रहेका कारण समस्या भएको हो । अहिले सेनासँग अल्पकालिन ढुवानीका लागि कुरा भएको हो ।’ 

लिमीमा हिउँदको समयमा कोही नबस्ने गरेको जनाउँदै स्वकीय सचिव रोकायाले भने, ‘लिमीका बासिन्दा मंसिरमा चिसो भएर प्रत्येक वर्ष काठमाडौ वा हुम्ला सदरमुकाममा झर्ने चलन छ ।’ 

छलफलमा नेपाली सेना हुम्लामा चामल ढुवानी गर्नको लागि हेलिकप्टर दिन राजी भएको छ । सेनाले हेलिकप्टरबाट बुधबारदेखि लिमी क्षेत्रमा खाद्यान्न ढुवानी गर्ने हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।  

‘खाद्यान्न संकट भएका कारणले लिमी क्षेत्रमा स्थानीय निकै आत्तिएका छन् । बुधबारदेखि खाद्यान्न ढुवानीको काम हुनेछ,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने । 

  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १२:४१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया