झापा कांग्रेसमा दुई पक्षीय भिडन्त पक्का भएको छ । आसन्न १४ औँ महाधिवेशनअन्तर्गत झापा जिल्लाको सभापति पदका लागि दुई समूहले उम्मेदवारी घोषणा गरेपछि चुनावी भिडन्त पक्का भएको हो ।
सभापति पदका लागि देउमान थेवे र राम कट्टेल प्यानलसहित उम्मेदवारी घोषणा गरेपछि सहमतिमा नेतृत्व चयन कठिन भएको देखिएको छ ।
मंगलबार राम कट्टेल समूहले सभापति र सचिवको नाम सार्वजनिक गरेको थियो । बुधबार देउकुमार थेबे समूहले भने आफ्नो टिममा रहेका पदाधिकारीको नाम सार्वजनिक गरेको छ ।
झापा कांग्रेसमा थेवे र कट्टेल समूहका बीचमा प्रतिस्पर्धा देखिए पनि कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्माका बीचको प्रतिष्ठाका रूपमा हेरिएको छ ।
थेवेलाई सिटौलाले साथ दिएका छन् भने कट्टेल शर्मा पक्षीय उम्मेदवार हुन् । कांग्रेस केन्द्रीय राजनीतिमा प्रभावशाली यी दुई नेताले फरक-फरक समूहलाई साथ दिएपछि झापा कांग्रेसको नेतृत्व चयन रोचक मोडमा छ ।
यसअघि दुवै नेताले साझा उम्मेदवार बनाउन कसरत गरेका थिए । कसरतअनुसार सहमति नजुटेपछि सभापति पदका उम्मेदवार थेबेले आफ्ना टिममा रहेका पदाधिकारीको नाम सार्वजनिक गरे ।
थेवेको टिममा उपसभापतिमा शेरबहादुर भट्टराई, केशवराज पाण्डे, सचिव कृष्ण हुमागाईं, नवीन विमली, सहसचिव कालेन्द्र राजवंशी र कमल भण्डारी उम्मेदवार रहेका छन् ।
आफ्नो टीमको घोषणा गर्दै जिल्ला सभापतिका उम्मेदवार थेबेले १३औं महाधिवेशनमा भएको नौबुँदे सहमतिलाई टेकेर अग्रज नेताहरूको समर्थनमा आफ्नो साझा उम्मेदवारी भएको दाबी गरे ।
घोषणा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, पूर्वसांसद डिल्लीप्रसाद सिटौला, जिल्ला सभापति उद्धव थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै, झापा जिल्ला सभापति पदका उम्मेदवार राम कट्टेलले समूहले मंगलबारै उपसभापति र सचिव पदका उम्मेदवारको समेत नाम सार्वजनिक गरेका थिए ।
सो समूहको उपसभापति पदमा केदरशम्शेर गिरी र सचिव पदमा विश्वदीप लिङ्देन चुनावी भिडन्तमा छन् ।
कार्यक्रममा विश्वप्रकाश शर्मा पनि सहभागि थिए । उनले स्वच्छ छविका शालिन नेता राम कट्टेललाई जिताउन आग्रह गरे ।
शर्मा र सिटौलाको अंकगणित
झापामा प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला वर्तमान प्रवक्ता विश्वप्रकाश शर्माभन्दा अगाडि छन् ।
झापामा सिटौला पक्षका करिब ५२ प्रतिशत र विश्वप्रकाश पक्षका करिब ४८ प्रतिशत क्षेत्रीय प्रतिनिधि छनोट भएका छन् ।
पाँचवटा संघीय निर्वाचन क्षेत्र रहेको झापामा दुई जना क्षेत्रीय सभापति विश्वप्रकाशका छन् भने तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सभापतिमा सिटौलाका उम्मेदवारले जितेका छन् ।
झापाको निर्वाचन क्षेत्र १ मा ईन्द्रबहादुर बुढाथोकी, २ मा खगेन्द्र मैनाली, क्षेत्र नम्बर ३ मा गणेश पोखरेल, क्षेत्र नम्बर ४ मा जयनारायण शाह र क्षेत्र नं. ५ को क्षेत्रीय सभापतिमा ढुण्डीराज भण्डारी निर्वाचित भएका छन् ।
निर्वाचित प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापतिमध्ये बुढाथोकी र भण्डारी शर्मा निकट मानिन्छन् । मैनाली, पोखरेल र शाहा भने सिटौला निकटस्थ हुन् ।
कांग्रेस झापा प्रचार विभागका अनुसार झापामा निर्वाचित ३ हजार ५ सय ६७ जना क्षेत्रीय प्रतिनिधि मध्येबाट १३१ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट भएका हुन् ।
छनोट भएकाहरू आधाभन्दा केही कम शर्मा पक्षीय प्रतिनिधि छन् । प्रदेश निर्वाचन क्षेत्रमा दुवै पक्षले बराबर क्षेत्रीय सभापतिले जितेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।