सामुदायिक विद्यालयमा विद्यार्थीे घटे

कपिलवस्तु– चार वर्षपहिले पूर्ण साक्षर घोषणा भएको कपिलवस्तुको वाँणगंगा नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या भने अत्यन्त न्यून छ । शिक्षा क्षेत्रमा नमुना नगरका रूपमा लिइने यस नगरपालिकाका सातवटा विद्यालयको एउटा कक्षामा १०÷१२ जनाभन्दा बढी विद्यार्थी छैनन् । 

जिल्लाका शारदा आधारभूत, मझौवा, जनता आधारभूत पिपरा, वरकटिया आधारभूत बनगवा, जनकल्याण आधारभूत बालापुर, कोठीनदी आधारभूत गोगापुर, सरस्वती आधारभूत ठाटी गजेहडा र कोटीया आधारभूत गंगोलियामा विद्यार्थी न्यून मात्रामा अध्ययन गर्दछन् । नेपाल सरकारको विद्यमान शिक्षा नियमावलीअनुसार प्रतिकक्षा बराबर ५० जना विद्यार्थी हुनपर्ने प्रावधान छ । 

वाँणगंगा नगरपालिकाभित्र आधारभूत तहका विद्यालयमा मात्र नभई कतिपय माध्यमिक विद्यालयमा पनि विद्यार्थी संख्या न्यून रहेको वाँणगंगा  नगरपालिका शिक्षा शाखाले जनाएको छ । यी सबै विद्यालयको वास्तविकता पहिचान गरी एकीकरण गर्नुपर्ने आवश्यकता रहेको नगरपालिकाका प्रमुख मंगलप्रसाद थारुले बताए । 

विद्यार्थी संख्या कम भएका विद्यालयलाई एकीकरण नगर्दा एकातिर राज्यको स्रोतसाधन दुरुपयोग भएको छ भने अर्कोतिर धेरै विद्यार्थीले शिक्षक नै नपाउँदा पढ्नबाट वञ्चित हुनुपर्ने अवस्था छ । नगरमा आधा दर्जन बढी त्यस्ता विद्यालय छन्, जहाँ हरेक विद्यालयका तीनदेखि पाँचजना शिक्षकले चार वर्षदेखि आधारभूत तहका सबै कक्षामा गरेर १७ देखि ३० जना विद्यार्थीलाई पढाउँदै आएका छन् । 

नगरको यस्तो अवस्थाप्रति चिन्तित हुँदै शिक्षा विकास तथा समन्व्य एकाइका प्रमुख बाबुराम भट्टराईले विद्यार्थी कम भएका विद्यालयलाई एकीकरण गर्नुपर्ने प्रावधान रहेको बताए । उनले यसरी कम विद्यार्थी भएका विद्यालयमा घरदैलौ अभियान वा कुनै कार्यक्रममार्फत विद्यार्थीको आकर्षण पनि बढाउन सकिने बताए । 

नगरपालिकाले शिक्षा क्षेत्रका लागि विशेष कार्यक्रम नै सञ्चालन गरेर सामुदायिक विद्यालयका विद्यार्थीको आकर्षण बढाउन ध्यान दिनुपर्नेमा अभिभावकले जोड दिएका छन् । न्यून विद्यार्थी भएका विद्यालयलाई एकीकरण गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने सुनिश्चित गर्नुपर्ने नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष रमेश पन्थीले बताए । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७५ शुक्रबार १४:१९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया