सभापति र महामन्त्री एक हुँदा पनि पौडेल पक्षका उम्मेदवारलाई हराउन सकेनन्

नवलपुर कांग्रेसका केन्द्रीय महामन्त्री डा. शशांक कोइरालाको गृहजिल्ला हो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कोइराला मात्रै विजयी भएनन्, उनी निकटका कृष्णचन्द्र नेपाली पोखरेल र जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले पनि बाजी मारे ।

यसको अर्थ नवलपुरमा कोइराला प्यानल राम्रो थियो । १४औं महाधिवेशनमा भने अनौठो नतिजा आएको छ । यहाँ कोइरालाले आफू मात्रै हुँदा चुनाव नजित्ने देखेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पार्टी सभापति शेरबहादुर देउवासँग मिलेर चुनावी मोर्चा बनाए ।

नवलपुरमा देउवा समूहको पनि राम्रै उपस्थिति छ । तर, नतिजा भने ठिक उल्टो आयो । सभापति र महामन्त्रीको गठबन्धनलाई जिल्याउँदै पौडेल समूहका उम्मेदवारले जीते । क्षेत्र नम्बर १ मा पौडेलका उम्मेदवार विजयी भएका छन् भने २ मा बराबर भएको छ ।

नम्बर १ मा पौडेल पक्षका अमृत भट्टचन विजयी हुँदा देउवा–कोइराला प्यानलका कमलप्रसाद पंगेनी २२३ मतान्तरले पराजित भए । भट्टचनले ६ सय ७० मत पाए भने पराजुलीको पक्षमा ४४७ मत मात्रै आयो । सचिव र सहसचिवमा दुवै प्यानलका १–१ जना विजयी भएका छन् ।

क्षेत्र नम्बर २ मा सभापतिका दुवै उम्मेदवारले बराबर मत पाएका छन् । पौडेल समूहका सूर्य गुरुङ र देउवा–कोइराला प्यानलका जगत कार्कीले समान ३९४ मत पाएका छन् । अरू सबै विजेता देउवा–कोइराला प्यानलका छन् । सचिवमा फणीन्द्रराज आचार्य र दुर्गाबहादुर गुरुङ तथा सहसचिवमा विन्दु अधिकारी केसी र रोशन श्रेष्ठ निर्वाचित भएका नवलपुर कांग्रेसका सभापति विष्णु लामिछानेले जानकारी दिए । मत बराबर भएको सभापतिको टुंगो लगाउन अहिले बैठक बसिरहेको छ ।





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १९:४८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया