सर्वोच्चको फुलकोर्ट बैठक आज, प्रधानन्यायाधीश भने उपस्थित हुने सम्भावना कम

सर्वोच्च अदालतको फुलकोर्ट बैठक आज बस्दैछ । बैठकमा १९ जना न्यायाधीश सहभागी हुनेछन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भने सो बैठकमा उपस्थित हुने सम्भावना न्यून छ । यसअघि प्रधानन्यायाधीशबिनाको न्यायाधीशहरूको बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेसी व्यवस्थापन गोलाप्रथाबाट तोक्ने निर्णय गरेको थियो । 

बैठकले गोलाप्रथाबाट मुद्दाको पेसी तोक्नेबारे न्यायाधीश मीरा खड्का नेतृत्वको टोलीले अध्ययन गरेर बुझाएको प्रतिवेदनअनुसार सर्वोच्च अदालत नियमावली र निर्देशिका संशोधन गरेको थियो । 

जुन राजपत्रमा प्रकाशन भइसकेको छ । प्रकाशन भएसँगै गोलाप्रथाबाट मुद्दाको पेसी तोक्न बाटो खुलेको छ । सर्वोच्च अदालत प्रशासनले पनि आन्तरिक तयारी थालेको छ । स्रोतका अनुसार १५ मंसिरदेखि मुद्दाको पेसी गोलाप्रथाबाट तोक्ने तयारी भइरहेको छ । 

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले अदालतको सुधारसम्बन्धी बुझाएको अध्ययन प्रतिवेदनअनुसार गोला प्रथामा सर्वोच्च जान लागेको हो । 

न्यायालयहरूमा व्याप्त ‘बेन्च सपिङ’देखि अनियमितता र अनेकन खालका विकृति–विसंगति गोलाप्रथाबाट पेसी तोकिँदा न्यूनीकरण हुने प्रतिवेदनमा उल्लेख छ । 



प्रधानन्यायाधीश जबरा भने सो प्रतिवेदन कार्यान्वयन गर्ने पक्षमा छैनन् । उनले सो प्रतिवेदन कार्यान्वयन गरिएको अवस्थामा न्यायालय भड्खालोमा जाने अभिव्यक्ति दिँदै आएका छन् । 

सोहीकारण सहकर्मी न्यायाधीशहरू उनको अवज्ञामा उत्रिएका छन् । ८ कात्तिकदेखि उनीहरु जबराले तोकेका इजलासमा बसेनन् । दैनिक दुई सयभन्दा बढी मुद्दा रद्द भए । बन्दी–प्रत्यक्षीकरणका केही मुद्दा मात्रै सुनुवाइ भयो । 



यतिसम्म कि न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराबाट अदालतको सुधार नहुने भन्दै राजीनामा दिन दबाबसमेत दिए । जबरा राजीनामा दिन तयार अझै छैनन् । सडकबाट राजीनामा माग्दैमा नदिने उनको अडान छ । 

उनीमाथि न्यायाधीशहरूले आचरणको प्रश्न पनि उठाएका छन् । मन्त्रिपरिषद् र संवैधानिक नियुक्तिमा भाग लिएको आरोप सार्वजनिक भएपछि न्यायाधीशहरूले प्रश्न उठाएका हुन् ।   

  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार ७:२१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया