कांग्रेस महाधिवेशन : सुर्खेतका दुई पूर्वमन्त्री र बहालवाला पार्टी सभापति पराजित

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्र्तगत दुई पूर्व मन्त्री र पार्टीका जिल्ला सभापति केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सुर्खेत क्षेत्र नं. २ बाट पूर्वमन्त्रीद्वय शिवराज जोशी र खड्कबहादुर बस्याल तथा हालका पार्टी सभापति कमलराज रेग्मी पराजित भएका हुन् । 

सुर्खेत क्षेत्र २ मा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्यानलगत चुनावमा होमिएका थिए । महाधिवेशन प्रतिनिधिमा पराजित पार्टी सभापति रेग्मी र पूर्वमन्त्रीद्वय जोशी र बस्याल पौडेल समूहका नेता हुन् । निर्वाचन समितिका अनुसार पार्टी सभापति रेग्मीले तीन सय २० मत प्राप्त गरे । यस्तै, पूर्वमन्त्री जोशीले तीन सय १० मत प्राप्त गरे । रेग्मी दाेस्राे कार्यकालका लागि पार्टी सभापतिमा चुनाव लड्ने तयारीमा थिए ।  

केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि दलित कोटाबाट उम्मेदवारी दिएका पूर्वस्वास्थ्य राज्यमन्त्री खड्कबहादुर बस्याल पनि पराजित भएका छन् । उनले तीन सय दुई मत ल्याए । संस्थापन समूहका लोकबहादुर विश्वकर्मा चार सय ७३ मत ल्याएर विजयी भए । मंगलबार सम्पन्न निर्वाचनबाट सुर्खेतका दुईवटै क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा संस्थापन (देउवा) समूहले एकलौटी गरेको छ ।  

क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिको सभापतिमा संस्थापन समूहका झकबहादुर डाँगीले सात सय १९ मत ल्याएर विजयी हुँदा पौडेल समूहका बलबहादुर वलीले एक सय तीन मत मात्रै प्राप्त गरे । 

क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमितिको सभापतिमा संस्थापन समूहका इन्द्रबहादुर रावत विजयी भए । उनले चार सय ८६ मत ल्याए । उनका प्रतिद्वन्द्वी पौडेल समूहका ललित भट्टराईले २८८ मत प्राप्त गरे । 





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार ११:३५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया