एमाले महाधिवेशनलाई प्रदेश २ बाट कसरी हेरिँदै छ ?

बागमती प्रदेशको चितवनमा शुक्रबारबाट सुरु हुन लागेको नेकपा एमालेको १०औँ महाधिवेशनबाट पार्टीले आफ्नो नेतृत्व चयन गर्नेछ । नेकपा एमाले प्रदेश-२ प्रति गम्भीर नरहेको पटकपटक आरोप लागिरहेका बेला यस महाधिवेशनलाई प्रदेश-२ को दृष्टिमा महत्त्वका साथ हेरिएको छ । 

प्रदेश २ का अधिकांश वडा र पालिका अधिवेशन सकिएर एमालेका कार्यकर्ताहरू महाधिवेशनमा सहभागी हुन चितवनतर्फ गइरहेका छन् । तर, अहिलेसम्म केही नामबाहेक कोही पनि खुलेर केन्द्रीय महाधिवेशनमा आफ्नो आकांक्षाबारे बोल्न चाहेका छैनन् ।

८ वर्षअघि काठमाडौंको भृकुटीमण्डपमा पार्टीको ९औँ महाधिवेशनमा देशैभरी चहलपहल देखिएको थियो । तर, ८ वर्षपछि चितवनमा हुन लागेको १०औँ महाधिवेशनमा भने नेताहरू शान्त भएर महाधिवेशनकै दिन खुल्ने रणनीतिमा रहेको देखिन्छ ।

यस पटकको महाधिवेशनमा माधव नेपाल समूह बाहिरिएपछि एमालेभित्र भने गुट देखिएको छैन । त्यस्तै, माओवादी पृष्ठभूमिबाट रहेका एमाले नेताहरूसमेत ओली नजिकको पात्र बनिसकेका छन् ।

महाधिवेशनबाट भने मधेशी नेताहरूले अवसर पाउने वा नपाउनेबारे प्रतीक्षा नै गर्नुपर्ने देखिन्छ । तेस्रो मधेश आन्दोलनको समयमा एमालेका नेताहरूलाई मधेश प्रवेशमा बन्देज नै लगाइएको थियो । तर अहिले सो परिस्थिति बदलिएको छ । यस पटकको महाधिवेशनबाट एमालेले मधेश बिरोधी ट्याग हटाउने प्रयास गरिरहेको जानकारहरू बताउँछन् ।

रघुवीर र प्रभु एकै पदमा भिड्ने



पार्टी केन्द्रीय महाधिवेशनमा प्रदेश २ बाट दुई दर्जनभन्दा बढी आकांक्षी नेताहरूको नाम चर्चामा रहेको छ । सबैभन्दा बढी रघुवीर महासेठ र प्रभु साहको चर्चा चलिरहेको छ । यी दुई नेता यसपालि सचिव पदमै भिड्ने योजनामा रहेका छन् । दुवै जना ओली नजिकका नेता छन् । महासेठ धनुषाबाट र प्रभु रौतहटबाट प्रतिनिधित्व गर्छन् ।

यस प्रदेशबाट महासेठलाई साहले चुनौती दिने देखिएपछि ओलीलाई यी दुई मध्ये एकलाई रोज्न समस्या हुने देखिएको छ ।



महासेठका सुरुवाती राजनीति

महासेठको राजनीतिक पारी त्यति प्रभावशाली नरहे पनि पछिल्लो एक दशकभित्र सांसद हुँदै उपप्रधानमन्त्रीसम्मको यात्रा तय गरेपछि एमालेभित्र उनको कद बढ्दै गइरहेको छ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाटै राजनीति सुरु गरे पनि राजनीतिमा महासेठको खासै सक्रियता भने थिएन ।

बीआइटी कलेजबाट इन्जिनियरिङको अध्ययन सकाएर महासेठ जागिरका लागि इलाम पुगेका थिए । इलाममा भने उनी एमालेमा थोरबहुत राजनीतिमा सक्रिय भएका थिए । त्यहाँ उनी इलाम एमालेको जिल्ला सचिव भएरसमेत काम सम्हालेको एमाले धनुषाका नेताहरू बताउँछन् । इलाममा एमालेको प्रभावशाली नेता झलनाथ खनालसँग उनको घनिष्टता बढ्दै गयो ।

यद्यपि, त्यो समयमा उनको निकटता माधवकुमार नेपालसँग बढ्दै गइरहेको थियो । राजनीतिमा सक्रियता बढ्न थालेपछि महासेठको जागिर नै धरापमा पर्ने सम्भावना बढ्दै गयो । पछि माधव नेपालको पैरवीको आधारमा महासेठलाई उदयपुर सिमेन्टको जिएम बनाइयो ।

उदयपुर सिमेन्टको जिएम बनेपछि नेपालको ठूलै धनाढ्य व्यापारी मध्येका एक उपेन्द्र महतोको बहिनी जुलीकुमारी महतोसँग उनको विवाह भयो । घरमा जुलीको आगमनसँगै उनको राजनीतिक करियरले उडान लिएको कतिपय नेताको ठम्याइ छ ।

उदयपुर सिमेन्टको जिएम पदबाट हटेसँगै महासेठले एमालेको सक्रिय राजनीतिलाई तीव्रता दिन थाले । एमालेको राजनीतिमा सक्रिय भएका महासेठको कित्ता परिवर्तनको खेल सुरु भयो । उनी माधव नेपालको साटो वामदेव गौतमको विश्वास पात्रको रूपमा एमालेभित्र आफ्नो स्थायित्व स्थापित गर्न सफल भए ।

महासेठ विसं २०५४ सालमा एमालेमा विभाजन हुँदा मालेको केन्द्रीय सदस्यसमेत बनेका थिए । एमालेको २०५९ सालको सातौँ महाधिवेशनबाट महासेठ केन्द्रीय सदस्य बने । आठौं महाधिवेशनमा भने उनी केन्द्रीय सदस्य पदमा पराजित भएका थिए ।

लामो समयसम्म एमालेभित्र वामदेव गौतमको विश्वास पात्रको रूपमा रहेका महासेठ २०७१ सालमा सम्पन्न एमालेको नवौँ महाधिवेशनमा सचिव पदका उम्मेदवार बने तर पराजित भए । पछि महासेठ केपी शर्मा ओलीको नजिक हुन पुगे । ‍ ओलीको प्यानलबाट सचिव पदमा लडेका महासेठ केन्द्रीय सदस्य पदमा समेत जित्न सकेनन् ।

अब कुरा प्रभु साहको,

त्यस्तै, प्रभु साह पनि मधेशको राजनीतिमा ठूलै नाम हो । उनी माओवादीको १० वर्षे सशस्त्र जनयुद्धमा सक्रिय रहे । माओवादी आन्दोलनलाई मधेशमा सक्रिय राख्न प्रभु साहको अत्यन्त प्रभावशाली भूमिका छ । त्यसैले होला माओवादी संसदीय राजनीतिमा आएपछि पार्टीभित्र उनको उचाइ विस्तारै बढ्दै गयो । संविधानसभाका लागि विस २०६४ र २०७० सालमा भएको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले प्रभु साहलाई रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने अवसर दियो । उनी जिते पनि । अहिले उनी त्यहाँबाट प्रतिनिधिसभा सदस्य छन् ।

एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्दा प्रभु साह पार्टीको केन्द्रीय सदस्य थिए भने उनलाई प्रदेश अध्यक्षको जिम्मेवारीसमेत दिइएको थियो । तर, सर्वोच्च अदालतले यी दुई दललाई फेरि ब्यूँताएपछि प्रभु ओलीलाई नै रोजे । अहिले उनी ओलीको विश्वास पात्रका रूपमा चिनिन्छन् ।

केन्द्रमा प्रदेश २ बाट केन्द्रीय सदस्यमा चुनाव लड्न चाह्ने नेताहरूमा जुली महतो, सुमन प्याकुरेल, हरिनारायण महतो, उत्तम गौतम, टेकबहादुर बलमपाकी, सुवोध यादव, रामदयाल मण्डल, लिलानाथ श्रेष्ठ, राज नारायण साह, बलवीर चौधरी, प्रभु हजरा, रामचन्द्र मण्डल, बसरुद्दिन अन्सारी लगायतका नेताहरू रहेका छन् । 

प्रदेश २ बाट २३२ प्रतिनिधि छानियो

नेकपा एमालेले १०औँ महाधिवेशनका लागि प्रदेश २ बाट २३२ जना प्रतिनिधि छनोट गरेको छ ।

पार्टीका प्रदेश २ का सचिव मनोज खड्काले अहिलेसम्म मोटामोटी २३२ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको जानकारी दिए । यसमा अझै केही थपघट हुन सक्ने सम्भावना रहेको उनले बताए ।

धनुषाबाट ५३, महोत्तरीबाट ३२, सर्लाहीबाट १३, सिरहाबाट २२, सप्तरीबाट २०, रौतहटबाट २७,  बाराबाट ३८ र पर्साबाट २७ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ ।

प्रदेश कमिटीबाट ५ जनालाई मनोनीत गरिएको छ भने मजदुरबाट ७ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएका छन् । 

नयाँ नेतृत्व चयन गर्नका लागि मंसिर १० देखि १२ गतेसम्म एमालेको १०औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुन गइरहेको छ ।

  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १३:५५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया