चितवनको नारायणी नदी किनारमा शुक्रबारदेखि सुरु हुने नेकपा (एमाले) को १० महाधिवेशन तयारी तीब्र छ । मञ्च सजाउने काम रफ्तारमा भइरहेको छ ।
एमालेको पदाधिकारीमा लड्नेहरू क्रमशः खुल्दै गएका छन् । महाधिवेशनमा एकताका केपी शर्मा ओलीको खरो विरोध गर्ने व्यक्ति डा. भीम बहादुर रावल उनको प्रतिस्पर्धी हुने घोषणा गरेका छन् । अध्यक्षमा ओली निर्विकल्प भनिए पनि रावल अगाडि बढेपछि धेरैको चासो बढेको छ । ०७१ सालमा भएको नवौँ महाधिवेशनमा रावल लोकप्रिय मत ल्याएर उपाध्यक्षमा विजयी भएका थिए भने यति बेला गृह प्रदेशमै कमजोर देखिएका छन् ।
रावललाई दशौँ महाधिवेशनमा साख जोगाउन चुनौती हुने देखिएको छ । सुदूरपश्चिम प्रदेशमा बलियो मानिएका रावल विश्वास पात्रले एकीकृत समाजवादी रोजेपछि एमालेभित्र कमजोर देखिएका हुन् । एमाले नछाडेका सुदूरपश्चिमका नेताले भने विगतदेखि नै अध्यक्ष ओलीलाई साथ दिँदै आएका छन् । प्रदेशमा ओली पक्षधरहरु वडादेखि प्रदेशसम्म सर्वसम्मत चयन भएको हुँदा रावल पक्षधर न्यून संख्यामा रहेका छन् ।
प्रदेशबाट अहिले एक सय ७१ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । दार्चुलाबाट १२, बझाङबाट १६, बैतडीबाट १४, डडेलधुराबाट ११, बाजुराबाट २१, कञ्चनपुरबाट १६, डोटीबाट १६, कैलालीबाट ४४ र अछामबाट १४ जना महाधिवेशन प्रतिनिधि छनोट भएका हुन् ।
एमाले सुदूरपश्चिमका एक नेताले भने, ‘एक सय ७१ जनामध्ये रावल पक्षका प्रतिनिधि न्यून छन । १२/१४ जना पनि मुस्किलले रावलको पक्षमा छन् होला । रावलको गृहजिल्ला अछाम र कञ्चनपुरबाट छनोट भएका प्रतिनिधि मात्रै रावलको पक्षका छन् ।’
महाधिवेशन प्रतिनिधि एकलौटी ढंगबाट छनोट गरिएको भन्दै कैलालीको निर्वाचन क्षेत्र नम्बर–२ मा विवाद नै भएको थियो । रावल पक्षले पनि प्रतिनिधि छनोट गरेको छ । तर, उनीहरू अवैध रहेको यसअघि प्रदेश अध्यक्ष कर्ण थापाले बताइसकेका छन् ।
‘महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भइसकेका छन्,’ धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रदेश अध्यक्ष थापाले भनेका थिए, ‘कैलाली क्षेत्र नम्बर दुईमा पार्टीले छनोट गरेका प्रतिनिधि वैध हुन् ।’ रावल निकट रहेका एक केन्द्रीय सदस्यले उनी पार्टी अध्यक्ष बन्न सक्ने दाबी गरिरहेका छन् ।
उपाध्यक्ष रावलले मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णयमा फरक मत राखेका थिए । उनले कैलालीको क्षेत्र नम्बर २ मा स्वेच्छाचारी ढंगले महाधिवेशन प्रतिनिधि छनोट गरिएको भन्दै फरक मत राखेका हुन् ।
उपाध्यक्ष रावलले कैलाली २ का महाधिवेशन प्रतिनिधि छनोटलाई बदर गरेर फेरि प्रतिनिधि छान्नु पर्ने माग गरेका थिए । तर उनको प्रस्ताव अस्वीकार गरिएपछि उनले स्थायी कमिटी बैठकमा फरक मत लेखेका हुन् । उनले पार्टी निर्णय र विधि अवलम्बन नगरी स्वेच्छाचारी किसिमको कैलाली २ मा प्रतिनिधि छानिएको बताउँदै आएका थिए ।
उनका अनुसार प्रतिनिधि छनोट बदर गर्न माग गर्दै १ हजार २२३ जना पार्टी सदस्यले हस्ताक्षर गरेर संगठन विभागमा निवेदन दिएका थिए ।
रावल समूहमा रहेको भनिएका जिल्ला समन्वय समिति सभापति सूर्यबहादुर थापालगायतले एक हजार दुई सय व्यक्तिको भेला गराइ महाधिवेशन प्रतिनिधि छनोट गरेका थिए ।
सुदूरपश्चिम प्रदेशमा रावल पक्षका खास नेताहरू कैलाली इन्चार्ज एवं भौतिक मन्त्री दीर्घ सोडारी, मन्त्री तारा लामा तामाङ, पूर्णा जोशी भीम, माया भट्ट यति बेला एकीकृत समाजवादीमा छन् । यद्यपि प्रकाश शाह, झपट रावल, कृष्ण सुवेदीजस्ता नेताहरूले भने रावलको साथ छाडेका छैनन् ।
यस्तै अध्यक्ष ओली पक्षले एकलौटी रूपमा प्रतिनिधि छनोट गरेकाले पनि रावल कमजोर देखिएको एमालेकै नेताहरू स्वीकार गर्छन् । वडादेखि प्रदेशसम्म नेतृत्वमा पार्टी अध्यक्ष ओलीको बर्चस्व रहेको एमालेका एक नेताले बताए ।
एमालेका ती नेता भन्छन्, ‘भीम रावलले दोधारे चरित्र बनाएर काम गरेकाले ओली रावलसँग पहिल्यै चिढिएका थिए । त्यसैले प्रतिनिधि छनोटमा रावल नजिकका कार्यकर्ता त्यति समेटिएका छैनन् ।’ ओलीले रावललाई पछाडि पार्न रणनीतिक रूपमा काम गरेकाले पनि रावल कमजोर देखिएको ती नेताको बुझाइ छ ।
रावल कमजोर हुनुमा एमाले प्रदेश अध्यक्ष कर्ण थापाले पनि साथ छाड्नु हो । थापाले सुदूरपश्चिम संयोजक लेखराज भट्टलाई साथ दिँदै आएका छन् । यस्तै पूर्वमाओवादीबाट आएका अन्य नेताले पनि भट्टलाई साथ दिएका छन् । रावल निकट एमाले केन्द्रीय सदस्य प्रकाश शाह पनि प्रदेशमा रावलको उपस्थिति बलियो रहेको बताउन सक्दैनन् ।
उनी भन्छन्, ‘अध्यक्ष ओलीसँग चिढिएका धेरै नेताहरूले रावललाई साथ दिनुहुनेछ ।’ पार्टीलाई १० बुँदे सहमतिको आधारमा लग्नुपर्छ भन्ने पक्षमा रहेको नेताहरूले पनि रावललाई साथ दिने उनले बताए ।
अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी रावल निर्वाचन क्षेत्रमै एक्लिएका छन् । रावल निकट निर्वाचन क्षेत्र नम्बर १ का ६ नेताले एमाले छोडेका छन् ।
राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, प्रदेश सांसद मीना कुमारी साउँद, साँफेबगर नगरपालिकाका इन्चार्ज सिलोज कुँवर, मेयर कुल बहादुर कुँवर, बिर्मलादेवी बुडथापा, चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले रावलको साथ छोडेर एकीकृत समाजवादीमा गएका छन् ।
सुदूरपश्चिम प्रदेशसभा पनि रावल निकट १७ सांसदमध्ये १३ जनाले उनको साथ छोडेका छन् । अहिले उनको साथमा सभामुखसहित चार जना मात्रै छन् ।
यस्तै, सुदूरपश्चिमबाट २५ जना केन्द्रीय सदस्यमध्ये अहिले रावलको साथमा कैलालीका झपट रावल र बाजुराका प्रकाश शाह मात्रै छन् । प्रतिनिधिसभा सदस्यमध्ये कैलालीका रावल र कञ्चनपुरका दीपक प्रकाश भट्ट मात्रै रावलसँग छन् । गृह प्रदेशमै कमजोर देखिएका रावल महाधिवेशनमा कति मत ल्याउने हुन् त्यसका लागि भने केही दिन पर्खिन पर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।