विचार
सरुभक्तकाे विचार : सम्बन्ध मान्छेको हृदयले विकास गर्छ

सम्बन्ध एउटा भेग विषय हो । मान्छेका पारिवारिक, सामाजिक, राष्ट्रियलगायतका अनेकौं सम्बन्ध हुन्छन् ।

सम्बन्धलाई परिभाषित गर्नु पर्दा मान्छेको क्रियात्मक व्यवहार भन्न मिल्छ । मान्छेको सम्बन्ध कोसँग भन्ने कुरा उसको क्रियात्मक व्यवहारले निर्धारण गर्छ । एक व्यक्तिले अर्को व्यक्तिसँग स्थापित गर्ने क्रियात्मक व्यवहारलाई सम्बन्धको नाम दिन सकिन्छ । 

तर, सम्बन्धको परिभाषा निरपेक्ष होइन, सापेक्ष हुन्छ । मान्छेको जैविकता र हार्दिकताबाट सिर्जित सत्यलाई सम्बन्ध भन्न सकिन्छ । तर, सम्बन्धको परिभाषा यतिले पूर्ण हुन्छ भन्ने हुँदैन । 

मान्छेले सोच्न सक्ने हो भने यो विश्व मात्र नभएर सारा ब्रह्माण्ड नै हाम्रो हुन्छ, सबैसँग सम्बन्ध रहेको बुझ्न सक्छ । मान्छेमा भएको सोच्ने क्षमताले आफ्ना लागि सम्बन्ध के हो भन्न सक्छ ।

सम्बन्धको विस्तार मान्छेको चाहना र रुचिअनुसार हुन्छ । कोही मान्छे हुन्छन् जसको सम्बन्ध केवल परिवारका सदस्यसँग मात्र सीमित हुन्छ । परिवारबाहेक समाजसँग पनि उनीहरू सम्बन्ध विस्तार गर्न खोज्दैनन् । धेरै अन्तर्मुखी स्वभावका मानिस सम्बन्ध सिर्जना गर्न चाहँदैनन् । उनीहरू घर–परिवारसँगको सम्बन्धमा मात्र बाँधिएर बाँचिरहेका हुन्छन् । 

कोही व्यक्ति सामाजिक काममा अभिरुचि लिने स्वभावका हुन्छन् । उनीहरू परिवारजस्तै सम्बन्ध समाजसँग पनि विस्तार गरेका हुन्छन् । समाजमा कसैको दुःख–सुखमा सामेल हुन्छन् । सामाजिक कामकाजमा सरिक हुन्छन् ।



बुद्धत्व प्राप्त, ध्यानी, ज्ञानी पुरुष भने सबै मानव र प्राणीजगत्लाई आफ्नो सम्बन्ध ठान्छन् । उनीहरू परिवार वा कुनै राष्ट्रियतामा बाँधिएर बसेका हुँदैनन् । उनीहरूको सम्बन्ध सारा प्राणीजगत्सँग हुन्छ । 

मान्छेको हार्दिक र मानसिक क्षमता जति विस्तार हुँदै जान्छ सम्बन्ध पनि त्यति नै विस्तार हुन्छ । जैविक (बायोलोजिकल) रूपमा आफ्ना छोराछोरी, आमाबाबु, परिवारलगायतसँग सम्बन्ध हुन्छ । रगतको नाताबाट बनेका सम्बन्ध हुन्छन् । प्रकृतिद्वारा निर्देशित ‘प्राकृत’ सम्बन्ध हुन्छन् । अर्को, हार्दिकताका आधारमा भावनात्मक रूपमा स्थापित सम्बन्ध हुन्छन् ।



समयसँगै मान्छेको विचार र हृदय विस्तार भएपछि उसले परिवारभन्दा बाहिर पनि सोच्छ । समाज, देश, मानवजातिलगायत अन्य सबै प्राणी सबैलाई आफ्नो मान्छ । एक–अर्कासँग सम्बन्ध बनाउँछ । यसरी निर्माण भएको सम्बन्ध हार्दिक हुन्छ । जैविक रूपमा कुनै सम्बन्ध नभए पनि भावनाले बाँधिएका हुन्छन् । यस्तो सम्बन्ध महत्त्वपूर्ण पनि हुन्छ ।

हाम्रो समाजमा कतिपय छोराछोरी र आमाबाबुबीच जैविक सम्बन्ध हुन्छ । तर, उनीहरू नाम मात्रको सम्बन्धमा बाँचिरहेका हुन्छन् । जैविक रूपमा भएको सम्बन्धमा भावना हुँदैन । उनीहरू भावनाले बाँधिएका हुँदैनन् । सम्बन्धलाई महसुस गर्न सक्दैनन् । आत्मीयता हुँदैन । सुन्दा निकै अप्रिय लाग्छ, तर हाम्रो देशमा नै समय–समयमा यस्ता घटना बाहिरिइरहेका हुन्छन् । 

बाबुबाट छोरीको बलात्कार, श्रीमतीले परपुरुषसँग मिलेर श्रीमान्को हत्या गरेका विभिन्न घटना भइरहेका हुन्छन् । जैविक सम्बन्धलाई हृदयले मान्यो भने मात्र त्यसको अर्थ रहन्छ । मनले मान्न सकेन भने त्यस्तो सम्बन्धको कुनै औचित्य रहँदैन ।

कतिपयको बीचमा जैविक सम्बन्ध नभए पनि विशुद्ध हृदयले आफ्नो मानेको हुन्छ । हृदयले ग्रहण गरेपछिको सम्बन्ध बढी महत्त्वपूर्ण हुन जान्छ । भावनाले सम्बन्ध स्थापित गर्छन् । सबैभन्दा प्यारो यिनै सम्बन्ध हुन्छन् ।

मेरा पनि विशुद्ध सामाजिक र पारिवारिक सम्बन्ध छन् । भएका सबै सम्बन्ध प्यारा छन् । सम्बन्ध प्यारो नहुने कुरा पनि हुँदैन । परिवारमा पनि मेरा दाजुभाइ दिदीबहिनीसँगको सम्बन्ध जैविक रूपमा भएर भावनात्मक रूपमा बाँधिएका छन् । सम्बन्धको बीचमा प्रतिस्पर्धा गर्नु उचित हुन्छजस्तो लाग्दैन । मन पर्ने र मन नपर्ने भनेर सम्बन्ध छुट्ट्याएर हेर्न पनि मिल्दैन । जति पनि सम्बन्ध छन् सबै मन पर्ने नै हुन् ।

सबै सम्बन्धको बीचबाट छान्नै पर्दा मलाई छोरी सरस्वती (सरस्वती प्रतीक्षा) र नातिसँगको सम्बन्ध अरूभन्दा बढी प्रिय लाग्छ । जैविक रूपमा केही सम्बन्ध नभएपछि भावनात्मक रूपमा गहिरो सम्बन्ध छ । मेरो हृदयले जन्माएकी छोरी सरस्वती र नातिसँगको सम्बन्ध पूर्ण भावनात्मक सम्बन्ध हो । उनीहरूसँगको सम्बन्ध मेरा अन्य सम्बन्धमध्येका सबैभन्दा प्रिय सम्बन्ध हुन् ।

हरेक मान्छेका यस्ता सम्बन्ध हुन्छन् । जैविक रूपमा केही नभए पनि भावनात्मक र हार्दिक रूपमा निकै प्रिय सम्बन्ध स्थापित भएको हुन्छ । हृदयले स्वीकार्न सक्दा सबै आफ्ना लाग्छन् ।

हार्दिक सम्बन्धको विस्तार मान्छेको हृदयको विस्तार जस्तो भयो, त्यस्तै हुन्छ । हृदय जति विशाल हुन्छ सम्बन्धको आयतन पनि उति नै फराकिलो हुन जान्छ । मान्छेले जैविक सम्बन्धलाई मात्र पनि महत्त्व नदिएर हार्दिक सम्बन्धलाई महत्त्व दिन थाल्छ ।

मान्छे आफ्नो परिवार मात्र नभएर समाज र अन्य सबै मानव जातिको भलो चिताउँछ । बुद्धको भाषामा ‘बहुजन हिताय’ भनेजस्तै आफ्नो मात्र नभएर अर्काको हितमा सोच्छ । आफ्ना लागि मात्र नभएर अरूका लागि काम गर्न सक्छु भन्छ । स्वकेन्द्रित नभएर ऊ अरूप्रति पनि केन्द्रित हँुदै जान्छ ।

सम्बन्धको दायरालाई मान्छेको हृदयको विशालताले निर्धारण गर्न सक्छ । जति विशाल हृदय हुन्छ, त्यति नै विशाल सम्बन्ध हुन्छन् । मान्छेले महसुस गर्न सकेको सत्य नै सम्बन्ध हो । महसुस गर्न नसकेको सत्य सम्बन्ध हुन सक्दैन ।

जैविक रूपमा कुनै बन्धन नभएका हार्दिक सम्बन्ध हुन सक्छन् । कसैले बाटोमा खान नपाएर माग्दै बसेकालाई आफ्नो सोचेर केही खान–लाउन दिन्छ भने सम्बन्ध आफैं सिर्जित हुन्छ । प्रेमी–प्रेमिका, साथीभाइबीचमा जैविक नाता नभए पनि हार्दिक सम्बन्ध हुन्छ । स्नेहको धागोले बाँधेर एकले अर्कालाई सम्बन्धको दायराभित्र ल्याउन सकिन्छ । यसर्थ, सम्बन्ध त्यही सत्य हो जुन मान्छेको हृदयले विकास गर्छ ।
आध्यात्मिक व्यक्तिले आदिभौतिक सम्बन्धको कुरा पनि गर्छन् । यस्ता सम्बन्ध भनेको पनि मानसिक र हार्दिक सम्बन्धको विस्तार हो । हार्दिक सम्बन्धको विकास हुँदै गएपछि नै आध्यात्मिक पुरुषले सबैलाई स्नेहले आफ्नो मानेर हेर्छन् । उनीहरूको हृदयले हरेकसँग सम्बन्ध स्थापित गरिदिन्छ ।

सम्बन्धका फरकफरक आयाममा अस्वीकृत सम्बन्ध पनि हुन्छन् । सामान्यतया सम्बन्ध भन्नाले स्वीकार गरिएको सत्यलाई भन्ने समाजको चलन छ । तर, अस्वीकृत सम्बन्ध पनि हुन्छन् । पारिवारिक, सामाजिक वा राष्ट्रिय रूपमा नै यस्ता सम्बन्ध बनेका हुन्छन् ।

हामी विरहका गीत सुन्छौं । एकजनाले आफ्नो ठानेको मान्छेले उसलाई आफ्नो नठानिदिएका उदाहरण धेरै पाउँछौं । हाम्रो समाजमा विरहका सम्बन्ध धेरै छन् । एकातर्फबाट सम्बन्ध स्थापित भए पनि अर्कोतर्फबाट सम्बन्ध स्वीकृत भइदिँदैन । कैयौं दार्शनिक तथा साहित्यकारले समाजमा चलिआएको मूल्यमान्यता र परम्पराभन्दा फरक सम्बन्ध स्थापित गर्न खोज्छन् ।

मान्छेले समाजमा चलिआएका चलनचल्तीभन्दा फरक अग्रगमन किसिमका सम्बन्ध बनाउँछन् । यस्ता सम्बन्धलाई समाजले सहजै स्वीकार गर्दैन । जसकारण साहित्यकार, दार्शनिक, वैज्ञानिकलगायतलाई समाजले सामान्य रूपमा स्वीकार गर्न सक्दैन ।

साहित्य, रंगमञ्च वा कलामा आउने सम्बन्ध भनेका ‘सापेक्ष सम्बन्ध’ हुन् । वास्तविक जीवनमा भएका सम्बन्ध नै सापेक्ष रूपमा कला, साहित्य, रंगमञ्चमा आउने हुन् ।

हाम्रो समाजमा जे–जस्ता सम्बन्ध हुन्छन्, तिनैको अभिव्यक्ति कथा, उपन्यास तथा नाटकमा हुने हो । हाम्रो समाजभन्दा छुट्टै कुनै सम्बन्ध स्थापित गरेर कुनै लेखक वा सर्जकले साहित्य सिर्जना गर्छजस्तो लाग्दैन ।

समाजमा भएका चरित्र, तिनीहरूबीचको घातप्रतिघात, प्रेम तथा घृणालगायतलाई साहित्य, कला र रंगमञ्चमा अभिव्यक्त गरिन्छ । साहित्य तथा कला क्षेत्रका सिर्जनामा भएका सबैजसो सम्बन्ध हाम्रो समाजमा भएका सम्बन्धको प्रतिबिम्ब हुन् ।

लेखकले आफ्ना पात्रसँग सामाजिक सम्बन्ध स्थापित गरेको हुन्छ । प्रतिबिम्बका रूपमा समाजका चरित्रहरूलाई कथा, उपन्यास तथा नाटकमा लेखकले अभिव्यक्त गरेको हुन्छ । कतिपय चरित्रहरू लेखकले काल्पनिक रूपमा पनि प्रस्तुत गरेको हुन्छ । 

लेखक समाजकै अंग भए पनि समाजभन्दा अलि पर रहेर सोचेका र अनुभव गरेका अनुभूति हुन्छन् । यस्ता पक्षलाई उसले त्यो चरित्रको माध्यमबाट व्यक्त गर्छ । ऊसँग लेखकको भावनात्मक सम्बन्ध हुन्छ । समाजबाटै झिकेको भए पनि यस्ता चरित्रलाई लेखकले फरक तरिकाले निर्माण गरेको हुन्छ ।

मलाई कतिपयले ‘आफ्ना कृतिमध्ये कुन मन पर्छ ?’ भनेजस्तै ‘कुन पात्रसँगको सम्बन्ध मन पर्छ ?’ भन्दा आजसम्म त्यस्तो पात्र नजन्मिएको भन्न मन लाग्छ । भविष्यको गर्भमा त्यस्ता चरित्र छन् भन्न मन लाग्छ ।

धेरै पाठक तथा साथीभाइले मेरो प्रतिनिधि पुस्तकको रूपमा ‘पागल बस्ती’लाई लिन्छन् । त्यसभित्रका दुई पात्र ‘आदिमाता मार्फा’ र ‘आदिगुरु प्रशान्त’लाई पाठकले बढी नै रुचाएको पाउँछु । यस्ता चरित्र र सम्बन्ध लेखकले भविष्यमा पनि जन्माउँदै जाने कुरा हुन् । तर, प्रकाशित कृतिमध्ये मेरो भावना र दर्शन धेरै बोकेको चरित्र आदिगुरु प्रशान्त हो ।

पाठकहरूले आदिमाता मार्फालाई बढी रुचाएको भए पनि मलाई भने आदिगुरु प्रशान्तको चरित्र बढी प्यारो लाग्छ । ऊसँगको सम्बन्ध आजसम्म प्रकाशित कृतिका पात्रमध्येको प्रिय सम्बन्ध हो । आदिगुरु प्रशान्तले मेरो भावना र विचार बोकेका छन् ।
 

  • प्रकाशित मिति : मंसिर १, २०७५ शनिबार ७:३३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया