विचार
दाइ ध‍‍‍.च. गाेतामेमाथि ध्रुवचन्द्र गाैतम

दाजु हामी छोराछोरीमध्येको पहिलो छोरा हुनुहुन्थ्यो । म उहाँको काइलो भाइ । उमेरको हिसाबले उहाँभन्दा १३/१४ वर्ष कान्छो छु म ।
 
मैले थाहा पाउँदादेखि नै दाजुको लेखनयात्रा सुरु भएको लाग्छ । उहाँले सुरुवातमा नेपाली मात्र नभएर हिन्दीमा पनि साहित्य सिर्जना गर्नुभएको थियो । नातागत रूपमा मेरो दाजु मात्र नभएर उहाँ मेरो साहित्यिक गुरु पनि हुनुहुन्छ । मैले दाजुबाट धेरै प्रेरणा पाएको छु । 

सुरुवातमा दाजुले कविताबाट साहित्य लेखन थालेको जस्तो लाग्छ । कवितासँगसँगै कथा, नाटक, उपन्यास, संस्मरण, समालोचनाजस्ता विभिन्न विधामा उहाँले कलम चलाउनुभएको छ । जीवनका संघर्षका श्रममा उहाँले साहित्यका सबै विधालाई आफ्नो लेखनले छुनुभएको छ । पछि साहित्य लेखनमा नै दाजुका हास्यव्यंग्यका कृति पनि निस्किए । दाजुलाई ‘भर्सटायल’ लेखक भन्न रुचाउँछु म । 

पेसागत रूपमा पनि दाजु धेरै पेसामा लाग्नुभएको छ । कहिले शिक्षक हुनुभयो । कहिले राजनीतिमा लागेर हिँड्नुभयो । कहिले सरकारी कर्मचारी भएर काम गर्नुभयो । जीवनका आयामहरूमा विभिन्न अनुभव सँगाल्दै हिँड्नुभएको थियो दाजु । 

दाजुले उपन्यास लेखन सुरु गर्दा समय–समयमा हामी वीरगन्ज गइरहन्थ्यौँ । पहिलो उपन्यास ‘घामका पाइलाहरू’मा भएका अंश सुनाउनुहुन्थ्यो । उपन्यास लेख्दा नै आफ्नो कृतिले मदन पुरस्कार पाउँछ भन्नेमा दाजु पूर्ण विश्वस्त हुनुहुन्थ्यो । पछि, पुस्तकले मदन पुरस्कार पनि पायो । त्यो वेला म पढाइको सिलसिलामा पुनेमा थिएँ । छुट्टीमा घर आउँदा भाउजूले खबर सुनाउनुभयो । मदन पुरस्कार पाएर उपन्यास निकै चर्चित पनि भयो । 

मदन पुरस्कार पाएपछि दाजुको उपन्यास सबैको प्रिय उपन्यास बन्यो । भर्खर सहर बन्दै गरेको सीमान्त सहरका बारेमा लेखिएको उपन्यासलाई सबैले रुचाए । दाजुको अर्को उपन्यास ‘त्यहाँदेखि यहाँसम्म’ पहिलोजस्तो चर्चित भएन । चर्चित नहुनुमा कैयौँ कारण होलान् । भित्री विकट गाउँको कथा भएर पनि पाठकले नरुचाएका होलान् । गाउँ बुझेका पाठकले पक्कै मन नै पराउने थिए । तर, मलाई भने त्यो उपन्यास पनि एकदम बेजोड लाग्छ । यति त भन्न सक्छु, दाजुका दुई उपन्यासजस्ता कृति नेपाली साहित्यमा छैनन् ।

दाजुको लेखनबाट कुनै पनि विधा छुटेको जस्तो लाग्दैन । दाजुले लेखेका विधामध्ये हास्यव्यंग्य, संस्मरण र उपन्यासलाई म सशक्त मान्छु । अरूले अन्य विधालाई मान्न सक्छन् । तर, मलाई यी तीन विधामा दाजुको लेखन निकै सशक्त लाग्छ । 



म लेखनमा आउनुको कारणमा एउटा कारण दाजु पनि हो । दाजु लेखनमा लागेकै कारण मलाई पनि लेखनमा लाग्ने वातावरणको सिर्जना भयो । आफूभन्दा अगाडिका मान्छे जुन बाटोमा हिँडेका हुन्छन्, आफू पनि त्यही बाटोमा हिँडिदो रहेछ । दाजु लेखनको बाटोमा लागेकै कारण म पनि लेखनमा प्रेरित भएँ ।
 
दाजु कसैको कुरा नमानी वीरगन्जबाट काठमाडौं आउनुभयो । उहाँसँग आफ्नो परिवारबाहेक केही पनि थिएन । काठमाडौंमा आएर उहाँले निकै संघर्षको बाटो हिँड्नुभयो । सानाठूला जस्ता पनि काम गर्नुभयो, दाजुले । 

लेखनमा लागेको मान्छेका लागि अहिलेको जस्तो जागिर पाउन सजिलो थिएन । जसोतसो गरेर आफूलाई स्थापित गर्नुभयो, काठमाडौंमा । काठमाडौं आएर जागिर पाएपछि दाजुको लेखनयात्राले निरन्तरता पाएको थियो । पहिला सरकारी कर्मचारीले राजनीतिमा काम गर्दा जागिर नै जाने डर पनि थियो । वेलावेलामा आफूभन्दा ठूलो पदको मान्छेसँगको मनमुटावले दाजुको जागिर पनि धरापमा थियो । 



लेखनयात्रामा पनि दाजु निरन्तर यात्रामा लाग्न पाउनुभएन । साहित्य लेखनमा लागेको केही समयपछि बीचमा दाजुको लेखनले गति लिन पाएन । पछि फेरि समालोचनाबाट साहित्यमा नै आउनुभयो । त्यसपछि उहाँले उपन्यास, संस्मरण, हास्यव्यंग्यजस्ता विधामा लेख्नुभयो । लेखनयात्राकै क्रममा अर्को एउटा उपन्यास पनि दाजुले लेख्न चाहनुभएको थियो । तर, पूरा हुन सकेन । अधुरै भए पनि त्यो उपन्यास ‘अग्राखको पालुवा’ प्रकाशित भएको छ । 

बाल्यकालमा कहिलेकाहीँ दाजुले गाली गरे पनि त्यो गाली सम्झिँदा ठिकै होजस्तो लाग्छ । एकातिर दाजु धेरै घरमा नबस्ने भएकाले पनि उहाँले त्यस्तो गाली गरेको याद छैन । दाजु राजनीतिमा हुनुहुन्थ्यो । २००४ सालमा क्याम्पस पढ्न छाडेर उहाँ आन्दोलनमा हिँड्न थाल्नुभयो । त्यसैले, लुकीलुकी मात्र घर आउन पाउनुहुन्थ्यो । 

कोही मान्छे राजनीतिमा किन लाग्छ भन्न निकै गाह्रो छ । तर, एउटा सर्जक, सचेत मान्छेमा देशप्रति पनि जिम्मेवारी हुन्छ भन्ने लाग्छ । लेखनको माध्यम पनि हुन्छ । तर, कसरी गर्ने भन्ने उसैको इच्छाको कुरा हो । दाजु पढाइको सिलसिलामा बनारसमा हुनुहुन्थ्यो । जहाँसम्म लाग्छ, उहाँको विभिन्न नेतासँग भेटघाट भइ नै रहन्थ्यो । पछि, २००४ सालमा क्रिजुदा हाइस्कुलबाट पढ्दापढ्दै निस्किनुभयो । पढाइ छाडेर उहाँ राजनीतिमा लाग्नुभयो ।

उहाँ राजनीतिमा कृष्णप्रसाद भट्टराईबाट प्रेरित भएर प्रवेश गर्नुभएको थियो । २००७ सालपछि कम्युनिस्ट पार्टीतिर लाग्नुभयो । पुष्पलाल, मनमोहन अधिकारीजस्ता मान्छे उहाँका मित्र भए । समय–समयमा उहाँलाई भेट्न राजनीतिक मान्छे आइरहन्थे । दाजुको राजनीतिक विचारबारे त्यत्ति जान्न पाइनँ । बाल्यकालमा उहाँहरूले गरेको गफगाफ त सुन्थेँ, तर बुझ्न सक्ने भइसकेको थिइनँ । 

राजनीतिमा लागेकै कारण दाजुको पढाइले पनि निरन्तर गति लिन पाएको थिएन । अर्कोतिर, आमाको देहान्तपछि हाम्रो परिवार पनि छरिएको थियो । दाजु पार्टीमा लागेर हिँड्न थाल्नुभयो । आमाको देहान्तपछि दाजुसँगको संगत अलि कम भयो । पछि पढाइकै लागि म काठमाडौं आएँ । फेरि दाजुसँगको संगत बढ्न थाल्यो ।

फेरि २०२० सालको आसपासबाट उहाँ राजनीतिबाट बाहिर निस्किनुभयो । केही परिस्थिति थिए होलान् । आफ्नो परिवार, सन्तान, जिम्मेवारीबाट पर रहेर राजनीति गरिरहन चाहनुभएन दाजुले । अन्य कुरामा भुल्दाभुल्दै दाजुको राजनीतिक जीवन कतै छुटिगयो ।

सामान्यतः शान्त स्वभावको हुनुहुन्थ्यो दाजु । चिनेका सँग पनि निकै सरल हुनुहुन्थ्यो । ख्यालठट्टा गरिरहनुहुन्थ्यो । हामीसँग ख्यालठट्टा नगरे पनि दाजुले अरूसँग गरेको कुराकानी सुन्न पाउथेँ म । दाजुको स्वभाव मलाई निकै ओझिलो लाग्छ । कवितामा भूपिजस्तै आख्यानमा म मेरो दाजुलाई मान्छु ।

दाजु बढी नै चेतनशील हुनुहुन्थ्यो । कहिलेकाहीँ मैले गल्ती गर्दा उहाँले गाली गर्नुहुन्थ्यो । नराम्रो लाग्ने गरी कहिल्यै पनि गाली गर्नुभएन । बरु, उहाँका अनुभव सुन्न पाएँ मैले । रातारात भूमिगत रूपमा यात्रा गरेको कुरा सुनाउनुहुन्थ्यो । अनुभव सुनाउने शैली नै साहित्यिक थियो । अहिले दाजुले आफ्नो अनुभव सुनाउने शैली सम्झिँदा लाग्छ, दाजु धेरै पहिले उपन्यासकार हुन सक्नुहुन्थ्यो । 

जब म पनि कविता लेख्न थालेँ, दाजुलाई आफ्ना सिर्जना देखाउँथे । उहाँले सच्याइदिनुहुन्थ्यो । प्रोत्साहन गर्नुहुन्थ्यो । आफू पनि लेखनमा लागेकै कारण मलाई पनि लेखनमा लाग्दा भरपुर सहयोग गर्नुभयो । लेखनमा लागेकोमा कहिल्यै पनि नराम्रो भन्नुभएन । बरु, मेरो पढाइलाई लिएर चिन्ता व्यक्त गर्नुहुन्थ्यो । दाजुको पढाइ निकै राम्रो थियो । मेरो पढाइ कमजोर थियो । 

दाजुको ओझिलो स्वभाव निकै मन पर्छ मलाई । अर्कातिर, उहाँ निकै सहयोगी स्वभावको हुनुहुन्थ्यो । एकपटक म काठमाडौंमा हुँदा निकै बिरामी भएको थिएँ । आर्थिक रूपमा धेरै सम्पन्न थिएनौँ । दाजुसँग एउटा रेडियो थियो । मेरो उपचारको लागि त्यही रेडियो बेचौँला न भन्नुहुन्थ्यो । दाजुका त्यस्ता व्यवहारले निकै प्रभाव पार्थे । 

नराम्रा पक्ष भन्दा दाजुमा कुनै पनि कुराको लत थिएन, नसा थिएन । चुरोट पिउनुहुन्थ्यो, तर, दिनमा एउटा मात्र । खाना खाएपछि एउटा चुरोट पिएको देख्थेँ म । फिल्म धेरै हेर्ने दाजुको बानी थियो । साथीभाइसँगको जमघटमा रक्सी सेवन गर्नुहुन्थ्यो । राजनीतिमा लागेका कारण भेट्न आउने मान्छे धेरै थिए । साथीभाइसँग बसेर रक्सी खाने गर्दा मलाई किनेर ल्याउन अह्राउनुहुन्थ्यो । 

पढाइमा निकै लगाव थियो दाजुको । निरन्तर पढ्न नपाए पनि उहाँले एमएसम्मको अध्ययन गर्नुभयो । मेट्रिक पनि वीरगन्जबाट दिन पाउनुभएन । रक्सौलबाट दिनुभयो । आइए बिहारबाट दिनुभयो । त्यसपछि, पढाइमा निकै ‘ग्याप’ भयो । पछि, काठमाडौं आएर काम गर्दै पढ्नुभयो । पारिवारिक जिम्मेवारीलाई पनि सम्हाल्दै दाजुले पढ्नुभएको थियो ।

दाजुले कलम चलाएका सबै विधा उत्तिकै मन पर्छन् मलाई । अरू विधाभन्दा पनि दाजुका उपन्यास र संस्मरण प्यारो लाग्छन् । हास्यव्यंग्य पनि उत्तिकै मन पर्छन् । 

हाम्रो अगाडि कहिल्यै लेख्नुभएन, दाजुले । धेरै समय लेखनमा व्यतीत गर्न पनि पाउनुभएन । एकान्तमा बसेर लेख्न बढी रुचाउनुहुन्थ्यो दाजु । लेखनमा पनि नेपालीजस्तै हिन्दी पनि एकदम छुरा थियो । हिन्दीमा लेखिएका दाजुका कविता पनि निकै शक्तिशाली लाग्छन् मलाई । एमए पढ्दा दाजुको लेखन बढी मात्रामा समालोचनामा केन्द्रित भएको थियो । सायद, दाजुले पनि महसुस गर्नुभयो । सिर्जनशील लेखन छुट्दै गएको महसुस गर्नुभयो होला । त्यसैले, फेरि सिर्जनशिल लेखनतर्फै आउनुभयो । हास्यग्यंग्य, संस्मरण, उपन्यासजस्ता विधामा फेरि कलम चलाउन थाल्नुभएको थियो ।

दाजुको विवाहको पनि रमाइलो प्रसंग छ । उहाँको ससुराली विराटनगर हो । भाउजूलाई भित्र्याउने समयमा दाजुले हेर्नुभएको थिएन । बुबाले नै हेरेर छिनोफानो गरेपछि विवाह भएको थियो । स्वीकृत भएपछि मात्र दाजुले भाउजूलाई हेर्नुभएको थियो । 

दाजुको देशान्तको समयमा म काठमाडौंमा नै थिए । दाजुलाई मुटुको समस्या थियो । उच्च रक्तचापबाट ग्रसित हुनुहुन्थ्यो । औषधि सेवन गरिरहनुभएको थियो । २०६३ मा हृदयाघातका कारण दाजुको मृत्यु भयो । त्यो वेला ओम हस्पिटलमा राखेको थियौँ दाजुलाई । दाजुको अभावले कस्तो महसुस हुन्छ त्यो भन्न त सक्दिनँ । उ मेरो दाजु मात्र नभएर साथी पनि थियो, साहित्यमा गुरु पनि थियो । नेपाली साहित्यमा पनि दाजुजस्तो मान्छे जन्मिएको छैन भन्न सक्छु । 

घुम्री मेरो अन्तिम पुस्तक थियो, दाजुले पढ्नुभएको । पुस्तक पढेर प्रतिक्रिया दिनुभएको थियो । अर्कातिर, दाजुले नाम जुध्छ भनेर आफ्नो नाम पनि ध.च. गोतामे राख्नुभयो । आफ्नो कृति ‘संज्ञा सर्वनाम’मा पनि दाजुले यी कुरा उल्लेख गर्नुभएको छ । 

दाजुको सम्झनामा ध.च. गोतामे स्मृति पुरस्कार स्थापना गरेका छौँ । हरेक वर्ष एउटा आख्यानलाई प्रदान गर्ने गरेका छौँ । व्यक्तिगत तवरबाट जे–जे गर्न सक्थ्यौँ, हामीले गरि नै राखेका छौँ । तर, राष्ट्रिय पक्षबाट दाजुका लागि केही नै भएको छैन । एउटा दुःखद कुरा यो पनि हो ।

दाजुलाई सम्झिनलाई कैयौँ कारण छन् । समग्रमा भन्दा दाजु मेरा निम्ति साहित्यको एकदम प्रेरक शक्तिको रूपमा सम्झिन्छु । साहित्यमा दाजुजस्तो मान्छे मैले पाएको छैन । उहाँमा भएको जस्तो बहुमुखी प्रतिभा कसैमा पनि छैनजस्तो लाग्छ । 
 

  • प्रकाशित मिति : मंसिर १, २०७५ शनिबार १०:१४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया