एमाले महाधिवेशन : साढे सात करोड खर्च, पाँच लाख सहभागी

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन शुक्रबार चितवनको नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन् । उद्घाटनको लागि अध्यक्ष ओली बिहीबार नै बुद्ध एयरको विमानमार्फत भरतपुर आइसकेका छन् । उनी विमानस्थलबाट सीधै सौराहा गएर बसेका हुन् ।

देउवालगायत विदेशी पाहुनाले सम्बोधन गर्ने

ओलीले उद्घाटन गर्ने कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आउने छन् । बन्दसत्रलाई पार्टी अध्यक्ष ओली र विदेशी पाहुनाले सम्बोधन गर्ने कार्यक्रम  रहेको  नेकपा एमालेका प्रचार प्रसार विभाग प्रमुख योगेश भट्टराईले  बिहीबार महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गरी जानकारी दए ।

उनले भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाबाट ८ वटा पार्टीका १५ जना पाहुनाहरू महाधिवेशनमा उपस्थित हुने निश्चित भएको बताएका हुन् । साथै  चीनसहित २५ वटा देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको भट्टराईले बताए ।

उद्घाटनपछि सबै प्रतिनिधिहरू सौराहा जाने उनले बताए । शुक्रबार बेलुका प्रतिनिधिहरूको परिचयपत्र वितरण हुने छ । त्यसपछि शनिबार ११ मंसिर बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुनेछ । बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ ।



त्यसलगत्तै निर्वाचन आयोगले निर्वाचनको प्रक्रिया अघि बढाउँछ । साँझ ६ बजेसम्ममा उम्मेदवारी दर्ता, फिर्ता लिने, दाबी विरोधलगायतका सबै प्रक्रिया पूरा गरेर उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गर्ने भनी आयोगले जानकारी दिएको भट्टराईले बताए । 

यस्तै  १२ मंसिर बिहान ८ बजेबाट मतदान सुरु हुने छ । सयवटा इलेक्ट्रोनिक भोटिङ मेशिनमध्ये १० वटा स्टक राखेर ९० वटामा भोटिङको काम हुने उनले बताए । त्यस दिन साँझसम्म मतमरिणाम सार्वजनिक गर्ने कार्यतालिका छ ।



सात स्थानबाट जुलुस

नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा जिल्लाका सात स्थानबाट जुलुस निस्कने छन् । गैँडाकोट, आँपटारी, विशालचोक, केन्द्रीय बसपार्क, चौविसकोठीलगायतका स्थानबाट जुलुस निस्कने छन् ।  जिल्लाका चोक–चोकमा झण्डा राखिएको छ ।

जिल्लाभित्र ५० भन्दा बढी स्वागतद्वार निर्माण गरिएको उनको भनाइ छ । महाधिवेशन सम्पन्न गर्न साढे सात करोड बढी खर्च लाग्ने अनुमान गरिएको छ । जिल्ला प्रवेश गर्ने नाकाहरूमा पनि प्रवेशद्वार निर्माण गरिएको छ ।

पाँच लाख सहभागी, पाँच हजार स्वयंसेवक

एमालेका प्रचार प्रसार विभाग प्रमुख भट्टराईका अनुसार उद्घाटनसत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदायसमेत गरि पाँच लाख जना सहभागी हुने अपेक्षा छ । सहभागीहरूलाई नारायणी नदी किनारको नारायणगढ र गैँडाकोट दुवैतर्फ राखिने उनले बताए ।

उद्घाटनमा जिल्लाको सात स्थानबाट जुलुस निस्कने उनको भनाइ छ । बन्दसत्रमा भूगोल, जनसंगठन, विभाग, सम्पर्क कमिटी र प्रवास कमिटीका गरि दुई हजार १७५ प्रतिनिधि र १०३ जना पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिहरूमध्ये ६२७ जना महिला प्रतिनिधि हुनेछन् ।

दलित उत्पीडित क्षेत्रबाट २०९ जना प्रतिनिधि आउने छन् । महाधिवेशनको उद्घाटनसत्रमा व्यवस्थापनका लागि पाँच हजार स्वयंसेवक खटाइने उनले बताए । प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई खानपान र बन्दोबस्तको व्यवस्था गरिएको छ । उनले साढे सात करोड खर्चमा महाधिवेशन सम्पन्न गर्ने बताए ।

ब्रेक फाष्टदेखि जीप सफारीसम्म

महाधिवेशनमा सहभागी हुन आएका विदेशी पाहुनाहरूलाई पार्टी अध्यक्ष ओलीले मंसिर १२ गते बिहान चितवनमा संयुक्त ब्रेकफास्ट मिटिङ गर्ने कार्यसूची रहेको छ । अतिथि सत्कार समितिका अनुसार चितवनमा रहँदा पाहुनाहरूलाई ग्रिन मेन्सन जंगल रिसोर्टमा बसोबासको व्यवस्था मिलाइएको छ ।

त्यसैगरी स्थानीय पर्यटकीय क्षेत्रको भ्रमण गराउनुका साथै जीप सफारी र थारु सांस्कृतिक प्रदर्शनीको अवलोकनसमेत गराइने भएको छ ।

महाधिवेशनमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सात वटा राजनीतिक दललाई निमन्त्रणा गरिएको भए पनि हालसम्म प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कार्यक्रममा सहभागि हुने जानकारी गराएको एमाले दशौं राष्ट्रिय महाधिवेशन अतिथि सत्कार समितिले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १८:५४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया