Sun, 16 Jun, 2019


सानाे लगानी ठूलाे सफलता
जो बिएससी पढ्दै सडकमा पुस्तक बेचिरहेछन्
फरकधार / कात्तिक ३०, २०७५

रामेछापको मन्थलीमा खाइखेली हुर्किएका दीपक श्रेष्ठलाई भविष्यले कता डोर्याउने हो भन्ने अनुमान २०६५ सालसम्म थिएन ।



त्यो वर्ष उनले एसएलसी सकाएका थिए, राम्रै नम्बर ल्याएर उत्तीर्ण भएका पनि थिए । त्यसपछि उनी काठमाडौं पसे । 

मध्यम परिवारका दीपकलाई काठमाडौंको बसाइ सहज थिएन । एउटा नजानिँदो चक्रव्यूहमा पसेको जस्तो आभास हुन थाल्यो दीपकलाई । त्यसैले, सुरुवाती दिनमै उनले काठमाडौंमा पेट पाल्न जागिर खोज्न थाले । 

‘के काम पाउनु ?’ दीपकसँग ती दिनको सम्झना अझै ताजा छ, ‘होटलमा काम खोजेँ ।’

होटलमा ‘क्लिनर’को कामबाट काठमाडौंको जीवन सुरुवात गरेका दीपकसँग अहिले आफ्नै ‘व्यवसाय’ छ ।

० 

अध्ययन दीपकको ‘प्यासन’ हो । सहरमा निस्किएका साहित्यका पुस्तक उनी खोजी–खोजी पढ्छन् ।

र, त्यही प्यासनले डोर्याएर उनलाई अहिले पुस्तक विक्रेता बनाइदिएको छ । तर, पुस्तक बेच्न उनीसँग भव्य डेकोरेटेड सोरुम छैन, पुस्तक पसल छैन । 

उनका लागि त प्रदर्शनीमार्गको पेटी नै आफ्नो व्यापारिक थलो हो । जहाँ उनी नयाँ निस्किएका पुस्तकदेखि ‘बेस्ट सेलर’ पुस्तकसम्म राख्छन् । 

उनी साँझ पुस्तकहरू ल्याएर बारमा अड्याउँछन् र बेच्न थाल्छन् । प्यासनले जन्माइदिएको व्यवसाय भएकाले हुनुपर्छ, दीपक पुस्तक मात्र बेच्दैनन्, अध्ययन गर्न रुचाउनेहरूलाई पुस्तकको गुदीबारे पनि बताउँछन् ।

भृकुटीमण्डपको छेउमा दीपकले पुस्तक बेच्न थालेको अब चार वर्ष पुगेको छ ।

र, यी चार वर्षले उनमा नयाँ साहस र जोश भरिदिएको छ, सानो लगानीमा सुरु गरेको यही व्यवसायबाट उनले सुनौलो भविष्य बनाउने परिकल्पना गरिसकेका छन् । 

०००

पुस्तक अध्ययन गर्ने बानीले पनि यो कल्पनालाई सार्थक बनाउनेमा दीपक विश्वस्त छन् । दीपकले पुस्तक अध्ययन पुस्तक बेच्न सुरु गरेपछि मात्रै सुरु गरेका होइनन् । उनी त स्कुलमै पनि कोर्स बुकबाहेक बाहिरका पुस्तक खोजी–खोजी पढ्ने भइसकेका थिए । दर्शनसँग सम्बन्धित पुस्तकमा उनको लगाव बढिसकेको थियो । 

आफ्नो चाह र इच्छालाई परिपूर्ति गर्न पनि दीपकले सडकमा पुस्तक व्यवसाय गर्ने सोचलाई अझ बलियो बनाए । तर, यसको सुरुवाती दिन कम सकसका थिएनन् । 
‘साथीभाइले पनि सहयोग गर्लान्, किताब किन्न मेरै पसल आउलान् भन्ने थियो,’ केही दिनअघि आफ्नो पसलअगाडि पुस्तक मिलाइरहेका दीपकले हाँस्दै भने, ‘तर, चिने–जानेका साथीभाइले त पुस्तक किनेर कहाँ सहयोग गर्नु, मुन्टो बटारेर पो हिँड्न थाले ।’

तर, यतिवेलासम्म दीपकले दुःखलाई साथी बनाइसकेका थिए । क्लिनरबाट सुरु भएको जागिर होटलको कुकसम्म पुग्यो । तर, मनले त्यसलाई निरन्तरता दिन मानेन । 

त्यसपछि दीपकले ‘मार्केटिङ’को जागिर खोज्न थाले । उनलाई समय र परिस्थितिले एउटा प्रकाशनगृहसम्म पुर्यायो । आफूलाई पढ्नमा रुचि भएकाले दीपकले पुस्तक ओसारपसार गर्दा केही समय इन्जोय गरे । 

‘पुस्तक ओसारपसार गरेर मात्र अध्ययनको भोक नमर्दो रहेछ,’ उनले भने ।

यही कुरा सोचेपछि चार वर्षअघि उनले निर्णय गरे– आफ्नै व्यवसाय सुरु गर्छु ।

सानो लगानीमा सुरु गर्न सकिने विभिन्न व्यवसायको लिस्ट तयार पारे, दीपकले । उनको त्यो सूचीको सबैभन्दा माथिल्लो स्थानमा रह्यो, पुस्तक पसल नै । किनकि, उनलाई लाग्यो– आफ्नै पसल भएपछि पुस्तक पढ्न थप पैसाको जोहो गरिरहनुपर्दैन ।

फेरि आफैँले अर्को प्रश्न निकाले– लगानी छैन, कसरी सुरु गर्ने ? के व्यवसाय गर्ने ? भनेको ठाउँमा राख्न पनि पाइँदैन होला । 

किताब किनेर पढ्दा पैसा पनि निकै खर्च भएको थियो । त्यसरी किताब किनेर पढ्नुपर्दा र पैसा साथमा नभएका वेला पढ्न नपाउँदा आफ्नै किताब पसल भए पनि हुने नि –उनको मनमा खेलिरहने कुरा थियो यो । 

किताबमा धेरै नै लगाव भएको पाए, आफूलाई । बजारमा आएका नयाँ किताब खोजी खोजी पढ्थे, उनी । 

भनेजस्तो काम नपाउँदा र पढ्ने तिर्खा नमेटिँदा एक दिन उनको मनमा यही कुरा क्लिक भयो । यही कुरा अर्थात् आफँैले किताबको व्यापार सुरु गर्ने । 

व्यापार सुरु होस् या नहोस् उनले ठानिसकेका थिए, आफ्नै व्यापार हुँदाका फाइदा । धेरै किताब पढ्न पाइने । आफ्नै हुने हुँदा स्वतन्त्र महसुस हुन पाइने र चाहेका वेला समय मिलाउन सकिने । 

जे होस्, किताबको व्यापार उनले आफूलाई फिट हुन्छ भन्ने सोचिसकेका थिए । प्रकाशनगृहमा काम गर्दा किताब किनबेचमा कसरी डिल गर्ने भन्ने पनि उनलाई जानकारी थियो । यसले गर्दा व्यापार फस्टाउँछ नै भन्ने लागेको थियो, दीपकलाई । 

यति हुँदाहुँदै पनि कुन ठाउँमा व्यापार गर्ने र लगानीको जोहो कसरी गर्ने भन्ने समस्याले छाडेको थिएन । 

त्यसको पनि उपाय निकाले, दीपकले । आफैँले काम गरेको प्रकाशनगृह र अन्य ठाउँबाट पुस्तक उधारोमा लिने र बिस्तारै पैसा चुक्ता गर्ने । 

समस्या थियो, ठाउँको । यतिका मानिसले सडकमा नै व्यापार गरिरहेका छन् भने मैले पनि सडकमा नै किताब राखेर बेच्न सुरु गरे भइहाल्यो– यस्तै सोचे दीपकले । 

प्रदर्शनीमार्ग । प्रदर्शनकै कारण त्यहाँ दिनहुँ मानिसको भिडभाड जमिरहेको हुन्थ्यो । आसपासमा ठूला कलेज पनि यथावत् नै छन् । दीपकको छनोटमा त्यही मार्ग पर्यो । यसरी सडकमा दीपकको आफ्नै पुस्तक व्यापार जन्मियो । 

० 

व्यापार सुरु गर्दा जुन सजिलै उपलब्ध भयो, सोही किताब साथमा लिए । सुरुमा कतिवटा पुस्तक साथमा थिए, दीपकलाई ठ्याक्कै याद छैन । आफूले सुरु गरेको व्यापार अथाह ज्ञानको भण्डार हो भन्ने कुराचाहिँ उनले आजसम्म पनि याद गरिरहेका छन् । त्यसैले पनि होला, सायद उनी आफ्नो काममा सन्तुष्ट देखिन्छन् । 

‘सुविधाजनक काम खोज्दै धेरै भौतारिएँ,’ उनले भने, ‘अन्त्यमा यो काम मात्र मेरा लागि फिट भयो ।’ 

महानगरको नियम छ– साँझ ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न पाइने । नियमअनुसार साँझ ६ बजेपछि मात्रै उनले आफ्नो व्यापार सुरु गर्न पाउँछन् । योग साधनामा उनको विशेष रुचि छ । बिहानको केही समय योग सिकाएर बिताउने गरेको दीपक बताउँछन् । साँझको केही घन्टा व्यापारमा खटिन्छन् । 

‘दिनभर यहाँ राख्न पाए त मज्जैको व्यापार हुन्थ्यो,’ उनले भने, ‘के गर्नु राख्न नै पाइँदैन ।’ 

व्यापारका लागि थोरै समय भए पनि व्यापारचाहिँ राम्रो छ, उनको । कहिलेकाहीँ पाँच हजारसम्मको व्यापार हुन्छ, तर कहिले भने एक हजारबराबरको मात्रै । तर, शून्य भने भएको छैन । 

भृकुटीमण्डप परिसरबाहेक मानिसहरू भिडभाड हुने स्थानमा पनि उनी व्यापारमा जुट्छन् । कहिलेकाहीँ कार्यक्रममा पनि व्यापारिक हिसाबले जान्छन्, दीपक । 

प्रायः होलसेलरले फोन गरेको भरमा ठाउँमै किताब ल्याइदिन्छन् । त्यसो हुँदा सजिलो भएको बताउँछन्, दीपक । होलसेलरले नै कति प्रतिशत नाफा राख्ने भनेर पनि बताइदिन्छन् ।

नाम लिन चाहँदैनन्, तर फुटपाथमा व्यापार गर्दा आफ्नै साथीहरूले पनि नजर घुमाएर हिँडेको बिर्सेका छैनन् दीपकले । तर, सबै त्यस्ता छैनन् । फुटपाथमै सही व्यापार गरेको छ भनेर खोजीखोजी आउने र स्याबासी दिने पनि भेटेका छन्, दीपकले । 

दीपकको बुझाइमा योग साधनामा भेटेका मानिसले उनलाई ज्यादा सहयोग गर्ने गरेका छन् । पुस्तक व्यापारका अलवा दीपकले औपचारिक अध्ययनलाई पनि समय छुट्याएका छन् । विज्ञान संकायमा स्नातक तह अध्ययन गर्छन्, दीपक ।

बजारमा आएको नयाँ पुस्तकलाई उनले विशेष प्राथमिकता दिएका छन् । ‘ग्राहकले बजारमा के नयाँ आएको छ भनेर सोध्छन्,’ उनले भने, ‘कतिपयले आफैँले थाहा पाएर नयाँ किताबको नाम लिँदै सोध्छन्, अनि त्यही किताब धेरै राख्छु ।’ 

बितेका चार वर्षको उनको अनुभवमा जुन किताब प्रचारप्रसारमा रहेको छ, त्यही किताब पाठकले रुचाएका छन् । उनको व्यक्तिगत अनुभवमा सुरुवाती दिनहरूमा भन्दा हिजोआज पठनसंस्कृति पनि बढिरहेको छ । 

अहिले दीपकले व्यापारमा ८० प्रतिशत आफ्नो लगानी जमाइरहेका छन् । केही किताब प्रकाशनगृहबाट उधारोमा पनि खरिद गरेका छन् । साथमा २०० भन्दा बढी किताब छ । 

उनले देखेका छन्, पछिल्लो समय सडकमा पुस्तक व्यापार गर्नेको संख्यामा वृद्धि भइरहेको । तर, यसले उनको व्यापारमा असर नगर्ने दीपक बताउँछन् । भन्छन्– यो त राम्रो कुराको सुरुवात हो । 

अरूले भन्दा फरक काम सुरु गर्दा मानिसबाट आउने नकारात्मक प्रतिक्रिया पनि सुन्नुपर्छ भन्ने बुझेका छन् दीपकले । भन्छन्– ज्ञानको भण्डार बाँडेको हो किन लजाउनुपर्यो ?’

हतोत्साहित गर्ने मानिसबाट बच्नु नै सफलताको सूत्र हो– यो दीपकको बुझाइ र यथार्थ दुवै हो ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्