कांग्रेसका यी नेताहरू जसका छोराछोरी र श्रीमती राजनीतिमा आए

नेपाली कांग्रेसमा परिवारवाद र नातावादलाई लिएर विरोधको चर्को स्वर सुनिएको बर्सौं भयो । लामो कालखण्ड कांग्रेसमा रहेर राजनीति गर्नेहरूले अवसर नपाउनुको मूल कारण यसैलाई ठान्छन् ।

कांग्रेसमा पहिचान बनाउन कसरत गरिरहेकाहरूका अनुसार परिवारवाद र नातावाद नराम्ररी पार्टीमा झाँगिएको छ । यसलाई अनुचित ठान्ने नेताहरू कांग्रेसमा अधिक छन् । तर, अनुचित ठानेर हुनेवाला केही देखिएको छैन ।

किन भने, १४ औं महाधिवेशनमा पार्टीका शीर्ष नेतादेखि तल्ला तहका नेताहरूले आफ्ना परिवारका सदस्यलाई अघि बढाएका छन् । जुन ‘ट्रेन्ड’ नै बनेको छ ।

परिवारबाटै आफ्नो राजनीतिक उत्तराधिकारी तयार गरिँदै छ । साथ दिएका नेताहरूलाई किनारा लगाउने काम हुँदै छ । हुन त यस्तो हुनुलाई नेपालसहित भारत, श्रीलंकालगायत दक्षिण एसियाली देशहरूमा नौलो मानिँदैन । यद्यपि, परिवारवादलाई प्रश्रय दिनुको विरुद्धमा दलकै एकथरी नेताहरू उभिँदै आएका छन् ।

नेपालको सन्दर्भमा जुनसुकै राजनीतिक दलमा यो प्रवृत्ति स्थापित छ । यहाँ नेपाली कांग्रेसबाट राष्ट्रिय राजनीतिमा स्थापित नेताहरूको राजनीतिमा पारिवारीक मोहबारेको चर्चा प्रस्तुत छ ।

शेरबहादुर देउवा



उमेरको आधारमा ज्येष्ठ नागरिक भइसकेका प्रधानमन्त्री शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री र एकपटक पार्टी सभापति भइसकेका छन् । राजनीतिबाट ‘रिटायर्टमेन्ट’ हुने बेलामा फेरि सभापति बन्ने सुरमा रहेका उनले श्रीमती डा. आरजु राणा देउवालाई महाधिवेशन प्रतिनिधिमा निर्विरोध चुनाए ।

श्रीमती मात्रै होइन, उनले छोरा जयवीरलाई पनि राजनीतिमा प्रवेश गराएका छन् । बेलायतस्थित युनिभर्सिटी अफ न्यूयोर्कबाट स्नातकोत्तर गरेका जयवीर २६ वर्षीय हुन् । उनको उमेरमा बुबा शेरबहादुर भने नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय अध्यक्ष थिए ।



देउवाले नेविसंघ अध्यक्ष भएकै उमेरमा छोरालाई राजनीतिमा प्रवेश गराएका हुन् । उनको प्रवेशलाई राजनीतिमा देउवा परिवारको उत्तराधिकारीको रूपमा लिइएको छ ।

रामचन्द्र पौडेल

वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल सामाजिक संघ संस्थामा क्रियाशील थिइन् । अब उनी राजनीतिक क्षेत्रमा देखिएकी छिन् । हालै महाधिवेशन प्रतिनिधि पदमा उनी निर्वाचित भएकी छिन् । यससँगै १४औँ महाधिवेशनमा मतदाता त भइन् नै उनी पार्टीको केन्द्रीय समितिको कुनै पनि पदका लागि योग्य भएकी छिन् ।

उनी वरिष्ठ नेता पौडेलकी माइली छोरी हुन् । पौडेलले आफ्नो उत्तराधिकारीको रूपमा छोरी संज्ञालाई अघि बढाएको देखिएको छ । उनी कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट खुला महिलातर्फ उम्मेदवार दिएर निर्वाचित भएकी हुन् ।

विजयकुमार गच्छदार

उपसभापति विजयकुमार गच्छदारले पनि राजनीतिमा पारिवारिक मोह देखाएका छन् । कान्छा छोरा सुवासलाई महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनाउँदै चयन गराएका हुन् ।

मधेसी कोटामा मोरङ क्षेत्र नं ६ बाट उनी निर्विरोध प्रतिनिधि चयन भए । सभापति पदका उम्मेदवार डा. शेखर कोइरालाले सुवासलाई निर्विरोध महाधिवेशन प्रतिनिधि बनाउन सहयोग गरेका थिए । उनी लामो समय अमेरिका बसेर नेपाल आएका हुन् ।

४० वर्षीय उनी हाल कांग्रेसमा महासमिति सदस्यको हैसियतमा छन् । उनी पेशाले इञ्जिनियर हुन् ।

प्रकाशमान सिंह

पञ्चायती व्यवस्थालाई फाल्दै बहुदलीय व्यवस्था स्थापनाका खातिर २०४६ मा भएको जनआन्दोलनको कमाण्ड समालेका थिए गणेशमान सिंहले । उनै गणेशमानको राजनीतिक जीवनकालका केही तस्बिर सामाजिक सञ्जाल ट्वीटरमा घरिघरी सार्वजनिक गर्दै सिर्जना सिंह सम्झना गर्छिन् । उनै सिर्जना गणेशमानकी बुहारी अर्थात् छोरा प्रकाशमानकी श्रीमती हुन् । प्रकाशमान र सिर्जनाका छोरा प्रभाषमान हुन् ।

पार्टीको १४औँ महाधिवेशनमा सिर्जना र प्रभाषमान दुवै महाधिवेशन प्रतिनिधि चयन भएका छन् । काठमाडौं क्षेत्र नम्बर – ७ बाट उनीहरू सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

यसरी प्रकाशमानले पनि कांग्रेसमा पारिवारिक उत्तराधिकारीका रूपमा श्रीमती र छोरालाई तयार गरेका छन् ।

खुमबहादुर खड्का

जीवित छँदा कांग्रेसमा हिन्दू राज्य पुनर्स्थापना खातिर आवाज उठाउने नेता खुमबहादुर खड्काका छोरा अनुराग पनि राजनीतिमा आएका छन् । महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित दाङबाट उनी निर्वाचित भए ।

बुधबार दिउँसो सार्वजनिक नजिताअनुसार उनले खुल्ला तर्फबाट ४९७ मत प्राप्त गरे । जुन २१ जना महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा सर्वाधिक हो । उनी दाङ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचन लडेका हुन् ।

उनको महासमिति सदस्यमा उठ्ने योजना छ । आमा शीला गौतम खड्काले उनलाई राजनीतिमा अघि बढाएका हुन् । शीला पार्टीको केन्द्रीय सदस्य हुन् ।  

  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार २०:०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया