कर्मचारी विवादले सेवा प्रभावित

धनगढी– पाउनुपर्ने सेवासुविधाको विषयलाई लिएर जिल्ला हुलाक कार्यालय कैलालीका प्रमुख र अन्य कर्मचारीबीच विवाद बढ्दै जाँदा कार्यालयको सेवा प्रभावित हुन थालेको छ । 

कार्यालयका हुलाकी र हल्कारालगायतका कर्मचारीले नियमानुसार पाउनुपर्ने वर्षादी, छाता, जुत्तालगायत सामग्रीको सुविधा नपाएपछि बढेको विवादले बेलाबखत सेवा प्रभावित हुने गरेको सूचना अधिकारी दिनेश चौधरीले बताए । 

‘अन्य सबै जिल्लाका हुलाकी हल्कारालाई सम्बन्धित जिल्लाको हुलाक कार्यालयले छाता जुत्ता वर्षादीलगायत सुविधा दिइरहेको छ,’ चौधरीले भने, ‘तर कैलाली जिल्ला हुलाक कार्यालयले बजेट कार्यक्रम आए पनि अघिल्लो आव ०७४/७५ देखि यो सुविधा उपलब्ध नगराउँदा प्रमुख र अन्य कर्मचारीबीचको विवाद बढेको छ ।’ 

कार्यालयप्रमुख मेनका श्रेष्ठले भने यो कार्यक्रममा छुट्याइएको रकम कार्यालयको मसलन्द सामान खरिदमा खर्च भएको बताउँछिन् । बजेट कम भएकाले उनीहरूलाई यो सुविधा उपलब्ध गराउन नसकिएको र सुविधा उपलब्ध गराउन थप बजेट माग गरिएको श्रेष्ठले बताइन् ।

विवादबीच कार्यालयप्रमुखले उपस्थितिविना नै हाजिरी गरेर अमयार्दित काम गरेको भन्दै अन्य कर्मचारीले हालै हाजिरी रजिस्टर बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । जुत्ता वर्षादीलगायत सामग्री खरिद गरेर उपलब्ध गराउन निकास भइआउने बजेट आफूखुसी अन्यत्रै खर्च गरिएको गुनासो हल्कारा र हुलाकीको छ ।
 
आफूहरुले पाउनुपर्ने सुविधाबाट वञ्चित गराइएको भन्दै जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हल्कारा हुलाकीले उजुरी दिएका थिए । यो विषयमा प्रशासनले दुईपटक कार्यालय प्रमुख श्रेष्ठसँग स्पष्टीकरण सोधिसकेको जनाइएको छ । 

विवाद मिलाउने प्रयासस्वरुप जिल्ला प्रशासन कार्यालय कैलालीले हालै दुवै पक्षलाई झिकाएर छलफलसमेत गरेको थियो । छलफलका क्रममा कर्मचारीबीच हात हालाहालको स्थिति उत्पन्न भएपछि प्रशासनका कर्मचारीले रोक्नुपरेको थियो । 



यो विषयमा प्रमुख श्रेष्ठसँग स्पष्टीकरण सोधेर सम्बन्धित कागजातको फायल आवश्यक कार्यार्थ हुलाक विभागमा पठाइएको प्रजिअ बाबुराम श्रेष्ठले बताए । जिल्ला हुलाक कार्यालय कैलालीअन्तर्गत १३ इलाका र ३३ अतिरिक्त हुलाक कार्यालय छन् । यी कार्यालयमा हुलाकी, हल्कारा, पत्र वितरक, डाँक वाहक र हुलाक प्रतिनिधिसमेत १ सय ६८ जना कार्यरत छन् ।



  • प्रकाशित मिति : कात्तिक ३०, २०७५ शुक्रबार १९:५३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया