प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँग छलफल गर्ने भएका छन् । नेपाल बारका महासचिव लीलामणि पौडेलका अनुसार प्रधानमन्त्री देउवाले बार पदाधिकारीसँग शुक्रबार छलफल गर्ने भएका हुन् ।
प्रधानमन्त्रीसँगको छलफलमा दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमण श्रेष्ठसहितको टोली सहभागी हुने पनि पौडेलले बताए ।
उनका अनुसार प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसद्मा प्रतिनिधित्व गर्ने दललाई गत सोमबार बुझाएको धारणापत्र पनि बारले प्रधानमन्त्रीलाई बुझाउनेछ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्चका १९ न्यायाधीशले इजलास बहिष्कार गरिरहेका छन् । त्यस्तै, एक महिनादेखि नेपाल बारमा आबद्ध कानुन व्यवसायीहरू पनि आन्दोलनरत छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।