एमाले नेता रामबहादुर थापा 'बादल'ले देशी-विदेशी शक्तिको षडयन्त्रबाट नेकपालाई तीन टुक्रामा विभाजन गरिएको बताएका छन् । चितवनमा जारी १०औँ महाधिवेशनमा अतिथिहरूलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।
'देशी विदेशी शक्तिको षडयन्त्रबाट नेकपालाई तीन टुक्रामा विभाजन गरिएको छ । जनादेशबाट निर्मित सरकार अलोकतान्त्रिक विधिबाट विस्थापित गरिएको छ । मुलुक व्यवस्थापिका संसदको जनादेशबाट होइन ठाडो अध्यादेशबाट सञ्चालित भइरहेको छ' उनले भने ।
उनले देशको परिस्थित सहज नभएको बताए । कोरोनाको प्रभाव र प्रकोप अझै अन्त्य नभएको र जसले गर्दा देशको अर्थतन्त्र तंग्रिन नसकेको उनको भनाइ छ ।
देशको नीति निर्माण गर्ने संसद् अस्तव्यस्त भएको उनले बताए । देशको न्याय व्यवस्थालाई सेटिङबाट भताभूंग पारिएको उनको भनाइ छ । देशलाई अस्थिरता अशान्ति र कुशासनको दुष्चक्रमा बलपूर्वक धकेलिएको उनले धारणा राखे । उनले जसका कारण राष्ट्रियता लोकतन्त्र गणतन्त्र संघीयता र जनजीविका जोखिममा परेको बताए ।
उनले देश मुख्यतः दुई ध्रुवमा विभाजित भएको धारण राखे । 'मुलुकको राजनीति मुख्यतः दुई ध्रुवमा विभाजित भएको छ । एकातिर अग्रगमन र समाजवादका पक्षधरहरु अर्कोतिर पश्चगमन र दलाल पूँजीवादका ताबेदारीहरू एकातिर देशभक्त लोकतान्त्रिक र वामपन्थी शक्तिहरू अर्कोतिर अन्ध राष्ट्रवादी राष्ट्रिय आत्मसमर्पणवादी र दक्षिणपन्थी शक्तिहरू' उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।