नेपालगन्ज हर्न निषेधित क्षेत्र घोषणा

बाँके– नेपालगन्ज उपमहानगरपालिका क्षेत्र हर्न निषेधित क्षेत्र (नो हर्न) घोषणा भएको छ । ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले नेपालगन्ज उपमहानगरभित्र हर्न बजाउन निषेध गरेको छ । नो हर्न अभियान अन्तर्गत शनिबारदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र हर्न बजाउन नपाइने भएको छ ।

नेपालगन्जलाई ध्वनिप्रदूषणमुक्त नगर बनाउने लक्ष्यअनुसार सवारी साधनमा जडान भएको ‘हर्न’ उपमहानगर क्षेत्रमा बजाउन प्रतिबन्ध लगाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए । उनका अनुसार मंसिर महिनाभर अभियान सफल पार्न व्यापक प्रचारप्रसार गरिनेछ ।

नेपालगन्जलाई पूर्ण रूपमा हर्न निषेधित नगर घोषणा गर्न मंसिर महिनाभर सरोकारवाला र संघ–संस्थाको समन्वयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए । निषेधित क्षेत्र घोषणा गर्दै बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले अभियान सफल पार्न सबैलाई आग्रह गरे ।

नेपालगन्ज प्रवेश गर्ने नाकामा होर्डिङ बोर्ड राखिने, यातायात समिति, व्यवसायी लगायत सरकारी निकायसँग छलफल गरिएको र नगरलाई हर्न निषेधित क्षेत्र बनाउन अन्य कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बढ्दो सवारीसाधनको चापका कारण नगर क्षेत्रमा अत्यधिक ध्वनि प्रदूषण भएपछि नगरमा हर्न निषेधित गरिएको हो ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र अभियान लागू गरिएको छ । अभियान सुरु भएसँगै अब सवारीसाधनले हर्न बजाए १ हजार ५ सय रुपैयाँ जरिवाना गरिनेछ । पछिल्लो समय नेपालगन्जमा ध्वनि प्रदूषण बढ्दै गएपछि अभियान सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

‘बढ्दो ध्वनि प्रदूषणले चुनौती थपेको छ । बजारमा हिँड्दा सवारी साधनको हर्नका कारण केही सुनिँदैन,’ प्रहरी निरिक्षक रोकायले भने, ‘त्यसैले नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको हो ।’ उनका अनुसार अभियान सफल पार्न उपमहानगरका विभिन्न स्थानमा जानकारीमूलक बोर्डहरू राख्ने कार्य भइरहेको छ ।





  • प्रकाशित मिति : मंसिर १, २०७५ शनिबार १३:२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया