एकातिर चुरोट खान प्रोत्साहन गर्ने, अर्कोतिर एम्बुलेन्स बाँड्दै हिंड्ने

सूर्य नेपाल प्रालिले कोरोना महामारीको समयमा सातै प्रदेशलाई १/१ करोडका दरले आर्थिक सहयोग गर्‍यो । आफ्नो सामाजिक उत्तरदायित्व भन्दै सूर्य नेपालले प्रदेश सरकारलाई मात्र नभएर संघीय सरकारको कोरोना कोषमा समेत एक करोड जम्मा गरेको थियो ।

यति मात्र नभएर उसले विभिन्न जिल्लामा एम्बुलेन्ससमेत सहयोग गरेको थियो । यस्तै, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको काठमाडौं इस्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) ले समेत सूर्य नेपालले दिन लागेको ५ करोड सहयोग लिन लागेको थियो । चौतर्फी आलोचना भएपछि डा. भण्डारी पछि हटेका थिए । दुई पक्षबीच सम्झौता नै गरेर सूर्य नेपालले अस्पताल बनाउन ५ करोड सहयोग दिने र अस्पतालमा सूर्य नेपालको नामसमेत राखिने सहमति भएको थियो । चौतर्फी आलोचनापछि अहिलेलाई त्यो विषय थाती राखिएको छ ।

कोरोना महामारीको दोस्रो लहरका बेला काठमाडौंका तीन ठूला अस्पताललाई सूर्य नेपालले स्वास्थ्य सामग्री सहयोग गर्‍यो । राष्ट्रिय ट्रमा सेन्टर, सिभिल अस्पताल र त्रिवि शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो । महामारीकै समयमा सूर्य नेपालले देशभर विभिन्न स्वास्थ्य संस्थालाई समेत स्वास्थ्य सामग्रीसँगै आर्थिक सहयोगसमेत गरेको थियो ।

कानून विपरीत गएर सूर्य नेपालले सहयोग गर्दै आएको हो । सूर्य नेपाल र यस्तै कम्पनीले उत्पादन गरेका चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन गरेर वार्षिक २५ हजार जनाले ज्यान गुमाउने गरेका छन् । कानुनले नै रोक लगाएको कुरा खुलेआम बिक्री गर्दै एकातिर कानुनको धज्जी उडाइरहेका छन्, भने अर्कोतिर मान्छे मार्ने कम्पनीको प्रोत्साहन गर्दै हिँडेको छ ।

के छ कानूनी व्यवस्था ?

नेपालमा सन् २०११ मा पहिलो पटक सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने ऐन लागू भएको थियो । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन–२०६८ को दफा १० मा सुर्तीजन्य उद्योगले कुनै पनि प्रकारको विज्ञापन तथा प्रायोजन गर्न नपाउने व्यवस्था छ



यही ऐनलाई टेकेर बनाइएको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २१ र २२ ले सहयोग गर्न नपाउने र उनीहरूको सहभागितामा कार्यक्रम गर्न नपाउने व्यवस्था गरेको छ ।

उपदफा १ मा भनिएको छ,– ‘(१) सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन लगायत नीति निर्धारण र कार्यान्वयन गर्ने कार्यमा सार्वजनिक निकायका पदाधिकारीले उत्पादक लगायतको सहभागितामा गराउन पाइनेछैन । (२) उत्पादक लगायतलाई राजश्व परामर्श समिति र यस्तै अन्य नीति निर्माण गर्ने निकाय, समिति र अन्य बैठक तथा कार्यक्रममा सहभागी गराउन पाइनेछैन । (३) कसैले पनि सुर्तीजन्य पदार्थका उत्पादक लगायतको साझेदारीमा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रम सञ्चालन गर्न पाइने छैन ।’



त्यस्तै, दफा २२ मा भनिएको छ,– ‘(१) सरकारी वा गैरसरकारी वा नीजि क्षेत्रबाट सञ्चालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिक प्रवचन, सत्संग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राविधिक, भौतिक संरचना तथा अन्य कुनै पनि प्रकारको सहयोग उत्पादक लगायतले प्रदान गर्न पाउने छैन । (२) कसैले पनि उत्पादक लगायतले प्रदान गर्ने आर्थिक, भौतिक र संरचनागत सहयोग ग्रहण गर्न पाउनेछैन र उत्पादक लगायतले पनि यस्तो सहयोग गर्न पाउने छैन् ।’

यी तमाम कानूनी व्यवस्था विपरीत सूर्य नेपालले भने सामाजिक उत्तरदायित्वको नाममा चलखेल गर्दै नजानिँदो ढंगबाट आफ्नै विज्ञापन गर्दै आएको छ । तर, सरकार तथा सरोकारवाला निकाय भने मौन देखिएका छन् ।

आर्थिक सहयोग मात्र हैन विज्ञापन पनि गर्दै

सूर्य नेपालले कानून विपरित आर्थिक सहयोग मात्र गरिरहेको छैन, उसले कानूनको धज्जी उडाउँदै विज्ञापन पनि गर्दै आएको छ । कानूनले सुर्तीजन्य पदार्थको विज्ञापन गर्न पूर्ण रूपमा रोक लगाएको छ । कानूनले खुद्रा रूपमा चुरोट बिक्री वितरण गर्न प्रतिबन्ध नै लगाएको छ । तर, सुर्ती उद्योगीहरूले कानूनको ठाडो उल्लंघन गर्दै विज्ञापन नै गर्न थालेका छन् ।

सूर्य नेपालले त किराना पसलदेखि लिएर विभिन्न क्षेत्रमा समेत आफ्ना पोस्टर टाँसेको देखिन्छ । आफ्ना विभिन्न ब्राण्डका चुरोटहरू विज्ञापन गर्दै खुद्रा तथा थोक मूल्यहरूको पोष्टर बनाएर टाँस्न थालेको हो ।

सूर्य नेपालले सुर्ती खेतीका लागि समेत कृषकहरूलाई प्रोत्साहन गर्दै आएको छ । उसले विभिन्न जिल्लामा सूर्ती उत्पादनका लागि कृषकहरूलाई आर्थिक सहयोग गर्ने, उनीहरूलाई विभिन्न खालका तालिम प्रदान गर्नुका साथै आफैँले समेत ठूलो क्षेत्रफलमा खेती गर्दै आएको छ ।

सूर्य नेपालले विभिन्न ८ ब्राण्डका चुरोट उत्पादन गर्दै आएको छ । विगत २५ वर्षदेखि सूर्य नेपालले आफ्ना उत्पादनहरू बजारमा पठाउँदै आएको छ । देशभर रहेका ५ हजारभन्दा बढी होलसेलर र एक लाखभन्दा बढी खुद्रा व्यापारीमार्फत सूर्य नेपालले आफ्ना चुरोटका उत्पादन उपभोक्ता समक्ष पठाइरहेको छ ।

सूर्य नेपालसँगै सिखर टोबाको उद्योगलगायतका उद्योगले चुरोटका उत्पादन बजारमा पठाउँदै आएका छन् । नेपालमा ३८ लाखभन्दा बढी मानिसहरू चुरोट खाने गरेका छन् ।

कानूनविपरत जानेलाई कारवाही खै ?

यसरी कानूनले नै रोक लगाएको काम गर्दै आएको सूर्य नेपाललाई सरकारले न कारवाही गर्न सकेको न त चेतावनी नै दिन सकेको छ । यसको नियमनकारी निकाय हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालय । उसले भने यसको नियमन गर्न नसकिएको स्पष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विविध कारणले यसको नियन्त्रण गर्न नसकिएको बताए ।

द इन्टरनेशनल युनियन एसिया प्यासेफिक क्षेत्रीय निर्देशक डा. तारासिंह बमले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरूलाई बन्द नै गर्नुपर्ने बताए । हरेक वर्ष २५ हजारको ज्यान लिने, यसबाट लाग्ने रोगबाट बचाउन वार्षिक ४७ अर्ब लगानी गर्नुपर्ने उद्योगहरूलाई आखिर केका लागि खोलिएको भन्दै उनले प्रश्न गरे ।

सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी बनेका कानून राम्रा भए पनि सरकारले त्यसको कार्यान्वयन राम्ररी गर्न नसकेको उनको भनाइ छ । कानून कार्यान्वयनका लागि व्यक्तिगत सामूहिक र राजनीतिक रूपमा समेत प्रतिबद्धता आवश्यक रहेको भन्दै उनले सबैभन्दा राम्रो उद्योग नै बन्द गरिदिए वार्षिक २५ हजार मानिसहरू सुर्तीजन्य रोगबाट मर्नबाट बच्ने तर्क गरे ।

त्यस्तै, एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले कानून विपरीत कार्य गर्ने सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरूलाई सरकारले कारवाही गर्न नसकेको बताए । वार्षिक २५ हजारभन्दा बढी मानिसको ज्यान लिने उद्योगको प्रोत्साहन गर्न उनीहरूले नै दिएको सहयोग लिनु गलत भएको उनको तर्क छ ।

  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १९:४३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया