गत असोज १८ मा ललितपुरको गोदावरीमा विधान महाधिवेशनको समापन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए– केही फेरबदल भएन भने बुटवलमा १० औँ महाधिवेशन हुन्छ ।
स्वयं एमाले नेताहरू पनि महिनौँ अघिदेखि दशौँ महाधिवेशन बुटवलमा हुने बताउँदै आएका थिए ।
बुटवलमा महाधिवेशन गर्ने ओलीको ‘मुड’ केही दिनपछि नै परिवर्तन भयो ।
र, ४ कात्तिकमा ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गर्यो । एमाले बैठकले यो निर्णय गरेदेखि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग जोडेर एमाले महाधिवेशनको चर्चा भएको थियो ।
ओलीले महाधिवेशनस्थल चितवन नै रोज्नुलाई धेरैले ‘प्रचण्डको सेखी झार्न’ खोजेको टिप्पणी गरेका थिए । किनभने चितवन प्रचण्डको गृहजिल्ला हो । यति मात्र होइन अघिल्लो स्थानीय चुनावमा प्रचण्डपुत्री रेणु दाहाललाई भरतपुरको मेयर बनाउन प्रचण्डले ठूलै सकस व्यहोर्नुपरेको थियो ।
भव्य तयारीका साथ चितवनमा आज सम्पन्न भएको १० महाधिवेशनबाट एमालेले प्रचण्डको गृहजिल्लामा ‘पावर शो’ गरेको छ ।
नारायणी किनारमा जे देखियो...
दशौँ महाधिवेशनको उद्घाटन सत्रका लागि नारायणी किनारमा केही दिनअघिदेखि नै भव्य तयारी थियो । हिजो (बिहीबार) देखि देशका विभिन्न क्षेत्रबाट एमाले नेता तथा कार्यकर्ताको चितवनमा बाक्लो उपस्थिति बढ्दै थियो ।
बिहीबार राति नै नारायणगढदेखि सौराहसम्मका होटल भरिएका थिए । ५ लाख मान्छे उद्घाटन सत्रमा उतार्ने उद्घोष एमालेले गरेको थियो ।
शुक्रबार बिहानैदेखि नारायणी किनार भरिभराउ थियो । अध्यक्ष ओली बिहीबार राति नै सौराहस्थित पार्क सफारी रिसोर्टमा बसेका थिए । देशभरबाट आएका नेता कार्यकर्ताहरू बिहीबार बिहानै जुलुससहित विभिन्न सडक हुँदै महाधिवेशनस्थलतर्फ लागे ।
सुरुमा अध्यक्ष ओली सौराहबाट जलमार्ग हुँदै नारायणी किनारा पुग्ने हल्ला चलेको थियो । तर, पछि प्रधानमन्त्री शेरबहादुर देउवा र ओली मध्यान्ह कार्यक्रमस्थल पुगे ।
केन्द्रीय कमिटी, स्थायी कमिटी, सल्लाहकार परिषद र पदाधिकारीलाई मञ्चमा आसन गर्ने व्यवस्था एमाले व्यवस्थापकीय टोलीले मिलाएको थियो । गत प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धन गर्नेदेखि एकतासम्मको प्राक्टिस सँगै गरेका प्रचण्डप्रति लक्षित गर्दै तयारी गर्न नेताहरूलाई ओलीको निर्देशन थियो ।
चितवनको माडीमा रामसीताको मूर्ति स्थापनादेखि महाधिवेशनसम्म आइपुग्दा ओलीले चितवनमा प्रचण्डप्रति कटाक्ष गरिरहेका छन् । जसको निरन्तरता नारायणी किनारमा देखिएको ठूलो मासअघि ओलीले आज पनि गरे ।
जब प्रचण्डमाथि ओली खनिए
उद्घाटन सत्रको पूर्वसन्ध्यामा पोडियम अघि पुगेका अध्यक्ष ओली सुरुमा आफ्नै चर्चा परिचर्चामा थिए । महाधिवेशनले दिएको सन्देश, महाधिवेशनपछिका कार्यक्रम र सरकारको आलोचनामा व्यस्त ओली एकाएक प्रचण्डमाथि खनिए ।
आगामी चुनावमा मुख्य प्रतिस्पर्धा कांग्रेससँग रहेको बताउँदै आएका ओलीको नजर भने चितवन र प्रचण्डतर्फै आकर्षित देखियो । संसद विघटनदेखि नै चिसिँदै आएको ओली–प्रचण्ड सम्बन्ध झन–झन चिसिँदै आएको छ ।
जसको पटाक्षेप चितवनको नारायणी किनारबाटै ओलीले आज गरे ।
ओलीले प्रचण्डप्रति लक्षित गर्दै १० हजार पूर्वलडाकु एमालेमा प्रवेश गर्ने तयारी रहेको खुलासासमेत गरे । १० औँ हजार पूर्वलडाकुलाई एमालेमा प्रवेश गराउने तयारी भइरहेको भन्दै ओलीले प्रचण्डलाई झस्काउन भ्याए ।
ओलीले अहिलेसम्म पनि शान्ति प्रक्रिया नटुंगिएको बताउँदै प्रचण्डको नेतृत्वमा पुरानै नाम लिएर एउटा चोइटो गएको बताए । प्रचण्डकै कारण सत्य निरुपण तथा बेपत्ता खोजबिनको काम अड्किएको जिकिर ओलीको थियो ।
प्रचण्डलाई इंकित गर्दै ओलीले भने, ’अनि मन परेका मान्छेलाई दश, दश हजार बाँड्ने रे ! दश, दश हजार मन परेको मान्छेलाई बाँडेर यो समस्याको समाधान हुन्छ ? घाइतेलाई उपचार गर्नुस् । समस्यामा परेकालाई हेर्नुस् ।’
केही समयअघि मात्र ५ दलीय गठबन्धनलाई सत्ता सुम्पिएका ओलीले यो सरकारभन्दा आफू नै पावरफुल भएको बताए । ’हिजो सरकारले गर्न दिएन भनेर भाषण गर्नुहुन्थ्यो । तर, आज म प्रधानमन्त्री नभए पनि यो सरकार मेरो हातको कठपुतली हो म नचाइदिन्छु, मै शक्तिशाली, मै पावरफुल भन्दै हुनुहुन्छ’ उनले चुनौती दिँदै नारायणी किनारबाट उद्घोष गरे, ‘किन पावर देखाउनुहुन्न? पावर देखाउनुस् । समस्या समाधान गर्नुस् लडाकुका । म भन्न चाहान्छु, अब यो महाधिवेशन सकिनेबित्तिकै हामी पूर्व लडाकुको व्यवस्थापन गर्नेछौँ ।’
साथै, ओलीले प्रचण्डले युद्ध गराएका लडाकुलाई बेवास्ता गरेको भन्दै उनीहरूलाई फकाउने कोसिस गरे । तर त्यो कुराको प्रहार पनि उनै प्रचण्डमाथि थियो । ’हामी पूर्व लडाकुहरूको व्यवस्थापन गर्छौँ । अहिले मिल्ने भए यहाँ दशौँ हजार प्रवेश गर्न तयार थिए । जनयुद्ध हाँक्ने पूर्वलडाकु तर मेयर र मन्त्री त अरु नै बनेँ ।’ ओलीको भनाइ थियो ।
ओली खनिँदा प्रचण्ड विमानस्थलमा अड्किए
एमाले महाधिवेशनमा एमाले फुटाएर गएका माधव नेपालबाहेकका दलहरूलाई निम्ता थियो । प्रचण्डलाई पनि थियो ।
एमाले नेता प्रदीप ज्ञवालीले कार्यक्रम संचालन गर्दैगर्दा प्रचण्डलाई पनि निम्ता दिएको तर काम विशेषले नआएको भन्दै प्रतिनिधि पठाएको बताए ।
तर, ओलीसँग चिसिएको सम्बन्धलाई प्रचण्डले एमालेको मञ्चमा पुगेर सुधार्न चाहेनन् । आजै काभ्रेको खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाको पार्टी सम्मेलनलाई सम्बोधन गर्न जाने निधो गरे ।
तर, विमानस्थलमा गएर ३ घन्टा बसेपछि पनि मौसममा सुधार नभएपछि प्रचण्ड विमानस्थलबाटै फर्किए । दुई गाउँपालिकामा प्रचण्ड आउने भनेर गरिएको भव्य तयारीलाई प्रचण्डले फोनमार्फत नै सम्बोधन गर्न बाध्य भए ।
प्रचण्ड विमानस्थलमा अलपत्र पर्दा यता ओली भने उत्साहका साथ प्रचण्डकै निर्वाचन क्षेत्रमा आलोचना गरिरहेका थिए । उता, प्रचण्ड भने आफ्नै प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न नसकेर फोनमार्फत सम्बोधन गरिरहेका थिए ।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले पनि प्रचण्डले गृहजिल्लामा आएर एमालेलाई शुभेच्छा प्रकट गर्ने बताएका थिए । तर, प्रचण्डले त्यसो गरेनन् ।
अन्तै कार्यक्रम तय गरेका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै हराए । एमालेसँगको तुष कम गर्न प्रचण्डले नचाहेपछि ओलीले पनि उद्घाटनसत्रभर नै कैयौँ पटक प्रचण्डमा शब्दवाण प्रहार गरिरहे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।