सूर्यको रापमुनि उज्यालो खोजिरहेकी जुनकिरी

शुक्रबार चितवन, नारायणगढ र सौराहा अनि चितवन जोड्ने बाटाहरु ‘सूर्यमय’ बने । त्यसमाथि नारायणी नदी किनारमा बनाइएको भव्य मन्चबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले सूर्यकै महिमा सुनाए ।

नेकपा एमालेको महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आएनन्, उनी महाभारततिर गए । यता, नारायणी नदीको किनरामा हजारौँ एमालेका कार्यकर्ता यसरी उत्रिएका थिए, मानौं यो कुनै कुरुक्षेत्र हो । एमालेको दसौं महाधिवेशनका कारण प्रचण्डको चुनावी क्षेत्रमा एमालेको उपस्थिति ‘प्रचण्डमय’ बन्यो ।

कार्यक्रम सकिएर सौराहा फर्किइरहेका एमालेका नेता कार्यकर्ताले सामाजिक सन्जालमा लेखिरहेका छन्, टिप्पणी गरिरहेका छन्– आज सूर्यको राप कति बलियो छ भन्ने देखियो । त्यसो त प्रतिनिधिसभा निर्वाचन आउन केही महिना बाँकी नै छ, तर पार्टीहरुका यस्ता भेलालाई पछिल्लो समय निर्वाचनका लागि गरिएको शक्ति प्रदर्शनका रुपमा पनि लिन थालिइसकिएको छ ।

सूर्यको राप र तापको चर्चा एमाले नेता तथा कार्यकर्ताले गरिरहँदा हामीलाई चाहिँ यही नारायणी नदी किनरामा जुनकिरीसँग कुराकानी गर्ने मौका मिल्यो । जुनकिरी अर्थात् जुनकिरी परियार ।

समाचारहरुमा छाएको छ, सौराहामा व्यापार निकै बढेको छ, होटलहरुमा बस्नका लागि ठाउँ अहिले खाली छैन । तर, नारायणी नदी किनारमा बर्सौदेखि बदाम बेचिरहेकी जुनकिरीलाई कुनै चासो र चाहना छैन, यही किनारामा नेकपा एमालेले किन ब्यानर टाँगिरहेको छ भन्ने पनि मतलब छैन, जुनकिरीलाई । यति मात्र होइन, कुन पार्टीले के गर्छ र अहिले भइरहेको महाधिवेशन पनि कुन पार्टीको हो भन्ने उनलाई थाहा छैन ।

उनलाई त चिन्ता र चासो, जिज्ञासा र सरोकार छ, उनको बदामको । आधा मानाको ३० रुपैयाँ र पूरा मानाको ५० रुपैयाँ । किनकी यही कमाइ हो उनले आफ्नो पेट पाल्न प्रयोग गर्ने ।



तर, महाधिवेशन छ । उनको व्यापार पक्कै स्वाट्टै बढेको हुनुपर्छ । ‘आज त निकै भयो होला है दिदीको व्यापार,’ हामीले सोध्यौँ ।

उनले जवाफ दिनुअघि लामो मन्द मुस्कान हाँसिन् । केही बेर हाँसेपछि भनिन्, ‘उस्तै हो नि पहिलेको पनि, अहिलेको पनि ।’



अनि भनिन्, ‘यहाँ नेताहरुको भेला हुन लागेको छ रे नि ।’ हामीले उनलाई फेरि अर्को प्रश्न सोध्नै परेन । उनले नै आफैं यस्तो बताएकी छिन् । 

बरु हामीले उनलाई सोध्यौँ, ‘यहाँ नेकपा एमालेका नेताहरुको भेला हुन लागेको हो, तपाईंको पार्टी चाहिँ कुन हो ?’ उनले झट्ट उत्तर दिइनन् । अनि हामीले अझ सरलीकृत गरेर उनलाई सोध्यौँ, ‘कुन छापमा भोट हाल्नुहुन्छ ?’

व्यापार बढेर अनुहारमा खुसी ल्याएकी जुनकिरीका लागि यो प्रश्न ‘बादलको छायाँ’जस्तै भयो । अनि उनले भनिन्, ‘मसँग नागरिकता नै छैन नानी, कसरी भोट हाल्नु ?’

जुनकिरी परियार ६० वर्ष पुगिसकेकी छिन् । उनले बारम्बार प्रयास पनि गरेकी हुन्, नागरिकता बनाउन । तर, अहँ उनको आग्रह र अनुरोध, चाहना र अधिकारलाई कसैले वास्ता गरेको छैन । 

‘बारम्बार गएकी पनि छु, तर, अहिलेसम्म कसैले नागरिकता बनाउन नै खोज्दैनन्,’ जुनकिरीले भनिन् ।

अनि उनी चाहन्छिन्– नारायणी नदी किनारमा भएका नेताहरुले हामीजस्ता नागरिकता नहुनेलाई नागरिकता दिने प्रावधान बनाइदिए हुन्थ्यो नि । 
 

  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार २१:४५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया