अस्पतालको खर्च जुटाउन नसकेपछि बिरामीले गरे आत्महत्या
सांकेतिक तस्बिर

विराटनगरमा उपचार खर्च जुटाउन नसकेपछि अस्पतालको तीन तलाबाट हाल फालेर एक जना बिरामीले आत्महत्या गरेका छन् । 

मोरङको धनपालथान गाउँपालिका- १ नोचाका ३५ वर्षीय शिवकुमार मण्डलले उपचार गरेको खर्च तिर्न नसकेपछि गोल्डेन हस्पिटलबाट हाम फालेर शुक्रबार आत्महत्या गरेका हुन् ।

उपचार गराउँदा लागेको खर्च नतिरेको भन्दै गोल्डेन अस्पतालले तीन दिनदेखि मण्डललाई घर जान दिएको थिएन । उपचारमा लागेको खर्च तिर्न नसकेका कारण घर जान नपाएका बिरामीले अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

अस्पतालको तीन तलाबाट हामफालेपछि मण्डलको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । छारेरोग र मानसिक समस्या भएपछि उनलाई उपचारका लागि मंसिर ३ गते अस्पताल ल्याइएको थियो ।
 
आइसियुमा राखेर अस्पतालले उनको उपचार गर्‍याे । आइसियुबाट वार्डमा सारेपछि घर लैजाँदा हुने भन्दै अस्पतालले मण्डललाई मंसिर ७ गते डिस्चार्ज दिएको थियो । तर उपचारवापतको २१ हजार रुपैयाँ तिर्न नसक्दा परिवारका सदस्यले घर लैजान पाइरहेका थिएनन् ।

गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले बिरामीको डिस्चार्ज भएकोले अस्पतालले जतिसक्दो चाँडो घर लैजानू भनेर भनिरहेको भए पनि परिवारका सदस्यले नै पैसा तिरेर मात्रै लैजान्छौं भन्दै बिरामीलाई राख्दा अहिले यस्तो घटना भएको बताए । 

उनले भने, ‘बिरामीमा मानसिक समस्या पनि रहेछ । उनले देखाउने अस्वाभाविक व्यवहारले अरू बिरामीलाई पनि धेरै असर गरिरहेको थियो,’ उनले भने, ‘त्यही भएकाले चाँडै घर लगिदिए हुन्थ्यो भन्ने चाहना अस्पतालको पनि थियो ।’





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १०:३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया