काठमाडौं– नेविसंघको अधिवेशन र उमेरहदका विषयमा कांग्रेसमा देखिएको विवाद समाधाननजिक पुगेको छ ।
नेविसंघको वर्तमान कार्यसमितिको थपिएको तीन महिने म्याद सकिनै लाग्दा कांग्रेसले शनिबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । बैठकमा अनौपचारिक छलफल गरी नेताहरू सहमतिनजिक पुगेका हुन् । औपचारिक बैठक भने आइतबार बस्नेछ ।
दिउँसो १ बजे बोलाइएको बैठक रोकेर शीर्ष नेताहरू दिनभर छलफलमा जुटे र नेविसंघलाई लिएर देखिएको विवादमा सहमति जुटाए । अधिवशेनको टुंगो भने अझै लागेको छैन ।
अघिल्लो बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेका रामचन्द्र पौडेलसहित चार नेताले उठाएको विषय सम्बोधन गर्न पार्टी नेतृत्व तयार भएको नेताहरूले बताएका छन् ।
३२ वर्षे उमेर हद लगाउने निर्णयपछि प्रक्रिया नमिलेको भन्दै पौडेलसँगै प्रकाशमान सिंह, कृष्ण सिटौला र अर्जुननरसिंह केसीले फरक मत राखेका थिए ।
नेविसंघको वर्तमान कार्यसमितिले विधानको ३२ वर्षे उमेर हद हटाउन पार्टीमा सिफारिस गरेको थियो । तर, कांग्रेसको अघिल्लो बैठकमा पूर्ण विधान पेस नगरी बहुमतका आधारमा ३२ वर्षे उमेर हदसम्बन्धी एउटा धारा मात्र पेस गरेर त्यसलार्इ लागू गर्ने निर्णय भएको थियो ।
नेविसंघले सिफारिस गरेको विधानमाथि छलफल गरेर पार्टीले निर्देशन दिनुपर्नेमा विधानको एउटा धाराबारे मात्र निर्णय गरेको भन्दै चार नेताले फरक मत राखेका थिए ।
शनिबारको छलफलमा नेविसंघले पठाएको विधान आइतबारको बैठकमा पेस गर्ने र त्यसमा गर्नुपर्ने संशोधनबारे निर्देशन दिने सहमति भएको छलफलमा संलग्न एक नेताले बताए ।
वर्तमान कार्यसमितिको म्याद थपबारे भने अझै अन्योल छ । केही महिना म्याद थपेर अधिवेशन गर्न दिने वा कमिटी भंग गर्ने भन्नेमा देउवा र पौडेल दुवै समूहमा अलग–अलग मत छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।