सहरमा नारी–आवाज : आन्दोलनमा हतियार, अधिकारको सट्टा बलात्कार ?

काठमाडौं– दिन धुम्म छ । माहाेल बहसको छ । तर, पार्श्वमा व्यप्त छ, निर्मला पन्तको चित्कारको आभाष । उनको बलात्कार र हत्या भएको १ सय १५ दिन पूरा भइसकेको छ ।

कञ्चनपुरमा निर्मलाका बुबाआमा निरन्तर धर्नामा छन् । यता मार्टिन चौतारी परिसरमा खचाखच न्यायप्रेमीहरु बहसमा छन् ।

‘अहिले नगरे कहिले’ शिर्षकमा बहसको विषय छ– ‘जस्टिस फर अल रेप भिक्टिम’ । अर्थात्, सबै बलात्कारपीडितका लागि न्याय । सहजकर्ता सरोजराज अधिकारीको सुरुवाती प्रश्न– के हामीले बोल्न ढिलो गरेका हौं ? वक्ताका रुपमा उपस्थित कवि निभा शाहको जवाफ आउँछ, ‘८ हजार वर्ष भयो महिलाहरुको दोहन भएको । जहिले देखि लालपुर्जाको चलन आयो, त्यहि समयदेखि महिलाहरु बोल्न पाएका छैनन् ।’


युरोपेली देशको तुलनामा नेपालमा महिलाको आवाज निकै पछि मात्र सुनिन थालेको उनको बुझाई थियो । तर महिलाले बोल्न ढिला गरेको भन्न नमिल्ने तर्क राखिन् साहित्यकार आन्विका गिरीले । ‘नमिता–सुनिता काण्डमा पनि महिलाले आवाज उठाएका थिए’ उनले अगाडि भनिन्, ‘विभिन्न आन्दोलनमार्फत पनि महिलाले आवाज उठाएको भए पनि हुनुपर्ने जति बुलन्द भएको छैन ।’

नेपाली महिला सचेत हुन किन ढिला भयो भन्ने सन्दर्भमा इतिहास केलाउनुपर्ने जिकिर गिरीको थियो । युरोपेली देशको तुलनामा नेपालमा शिक्षा, अधिकारका आन्दोलन सबै ढिला शुरु भएको ऐतिहासिक दृष्टान्त प्रस्तुत गर्दै उनले भनिन्, ‘महिलाको सामुहिकता निर्माण हुन नसकेकोले पनि महिलाका आवाज बुलन्द नभएको हो ।’

बहसमा रौनक थप्दै शाहले समाजको माथिल्लो तहमा रहेका महिलाको आवाज मात्र सुनिने गरेको बताइन् । उनको प्रश्न थियो, ‘पिँधका मान्छेको आवाज खोइ ? सानासाना भुइँमान्छेका पीडा किन दबाइन्छ ?’ कञ्चनपुरकै माया विकको बलात्कारको घटनामा आरोपी पक्राउ परे पनि चर्चामा नल्याइएको उदाहरण उनले दिइन् ।



यो तर्कमा गिरी पनि सहमत भइन् । ‘दलित भएकै कारण बलात्कार लगायत सामाजिक तथा कानूनी हिंसामा पर्ने सम्भावना धेरै छ’ उनले भनिन्, ‘अर्कोतिर निर्मला जस्ता महिलाहरु गरिब परिवारका भएकै कारण हिंसाको जोखिममा बाँच्न बाध्य छन् ।’

नेपालमा दैनिक तीन जना बलत्कारको शिकार भैरहेको तथ्यांक छ । विगतमा यस्ता घटना बाहिर नआएको अवस्था थियो । अहिले धेरै बलात्कार लगायत हिंसाका घटना सावंजनिक भैरहेका छन् । बलात्कारका घटना बढ्नुमा राज्यसत्ता जिम्मेवार रहेको शाहको दाबी थियो ।



राजनीतिक व्यवस्था परिवर्तनमा महिलाहरुको भूमिका अहम् थियो । हरेक आन्दोलनमा महिलाले गरेको योगदान पुरुषसरह नै बलियो रहेको छ । तर तिनै आन्दोलनबाट शक्तिमा आएका राजनीतिक दलहरु महिलाको मुद्दामा किन सहिष्णु छैनन् ? बहसमा यो मुद्दाले पनि प्रवेश पायो ।

व्यवस्था परिवर्तनको आन्दोलनमा एक जुट भएर होमिएका महिला दलगत राजनीतिमा विभाजित भएको तर्क आन्विका गिरीले गरिन् । उनले परिभाषित गर्न खोजेको सामुहिकताको प्रसंग यहीँ जोडिन्थ्यो । महिलाको बलियो सामुहिक शक्ति निर्माण हुन नसक्नुमा दलगत विभाजन मूख्य रहेको विश्लेषणमा धेरैजसो वक्ता तथा टिप्पणीकर्ता सहमत देखिन्थे ।

‘व्यवस्था परिवर्तनको आन्दोलनमा महिलाको साथ लिने राजनीतिक दलका नेताले महिलाको हक अधिकारको सवाललाई भने बेवास्ता गरे,’ गिरीले भनिन् । उता निभा शाह भने पुरुषको वर्चस्व रहेका कुनै पनि व्यवस्थामा महिलाको अधिकार सुरक्षित हुनेमा विश्वस्त थिइनन् । बहसमा भाग लिँदै धनकुमारी सुनारले पनि राजनीतिक दलहरु संवेदनशील नहुँदासम्म महिलामाथि हिंसाका घटना अन्त्य नहुने बताइन् ।

‘महिलामाथि हुने हिंसाको कुरा उठाउनु जरुरी छँदैछ’ सुनारले अगाडि भनिन्, ‘तर महिलामा पनि दलित महिलामाथि हुने हिंसा किन बढी छ त्यो हेक्का राख्नु जरुरी छ ।’ महिलाका मुद्दालाई गौण सामाजिक मुद्दाको नाम दिएर दबाउने दलहरुले नै शासन गरिरहेकोमा उनले रोष व्यक्त गरिन् ।

शाहले बलात्कारका घटनालाई पनि विपक्षमा रहेको बेला मात्र मुद्दा बनाएर दलहरुले भोटको राजनीति गर्ने गरेको आरोप लगाएपछि लक्ष्मी खतिवडाले प्रतिवाद गरिन् । निर्मला बलात्कार र हत्याको घटनाले चर्चा पाउनुको पछाडि पनि भोटको राजनीति जिम्मेवार रहेको शाहको तर्क थियो । उनको सिधा भनाई थियो, ‘सत्ताको विपक्षमा जो रहन्छ, उसले भोटको लागि आवाज उठाएको देखिन्छ ।’

उनको यो तर्कलाई खण्डन गर्दै खतिवडाले निर्मला हत्याकाण्डमा काँग्रेसले भोटको राजनीति नगरेको स्पष्टिकरण दिइन् । सत्तामा हुँदा पनि काँग्रेस बलात्कारका घटनामा चुप नलागेको उनको जिकिर थियो । तर दलहरुले यथोचित आन्दोलन नगरेकोले निर्मलाले न्याय नपाएको भने उनले स्विकार गरिन् ।

महिला हिंसामा धर्मशास्त्रहरुको भूमिका पनि बहसमा उठ्यो । महाभारत, स्वस्थानी जस्ता धर्मशास्त्रको उदाहरण दिँदै कवि शाहले दाबी गरिन्, ‘धर्मशास्त्रको काम हो बलत्कार गराउनु । महिलाको शोषण गराउनु ।’ महिलाको दुःखको कथा ‘नायल नदि’ भन्दा लामो भएको इतिहास सम्झाउँदै उनले सामाजिक तथा सास्कृतिक रुपमा महिलालाई धुलोको रुपमा पनि नगनिएको बताईन । 

बलात्कारलाई महिलाको मुद्दाको रुपमा मात्र लिन नहुने निस्कर्षमा सबै सहमत देखिन्थे । निर्मलालाई न्याय दिलाउने आन्दोलन पनि सबैको आन्दोलन हुनुपर्नेमा पनि कार्यक्रममा जोड दिइयो । साहित्यकार गिरीले निर्मला बलात्कारको घटनालाई मियोका रुपमा लिन सकिने बताइन् । यसै घटनाको आडमा हिंसाका तमाम घटना बाहिर आइरहेको उनको विश्लेषण थियो । 

‘आह्वान समूह’को आयोजनामा चलेको बहसमा राधा शर्मा, बिना थिङ तामाङ लगायतले आफ्ना विचार तथा प्रश्न राखेका थिए । निर्मला बलात्कार र हत्याको सन्दर्भ कार्यक्रममा बारम्बार उठ्यो भने महिला हिंसाको विरुद्ध जबर्जस्त आन्दोलन निर्माण गरिनुपर्नेमा सबैले जोड दिए ।

बहस सकिएपछि पनि एउटा सवाल बाँकी रह्यो– दलहरुका निम्ति आन्दोलनमा हतियार भए महिला, तर अधिकारको साटो बलात्कार किन पाइरहेछन् उनै महिला ? 

  • प्रकाशित मिति : मंसिर १, २०७५ शनिबार २१:३३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया