दुई लाख अमेरिकी डलरसहित पोखराबाट एक व्यक्ति पक्राउ

कास्कीबाट विदेशी मुद्रासहित एक व्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिका ३२ बाट मुस्ताङ घर भई पोखराको शिवालय चोक बस्ने ४२ वर्षीय छिरिङ डुन्डु गुरूङलाई प्रहरीले पक्राउ गरेको हो । 

विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय हंशपुर र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले गुरुङको साथबाट एक लाख ९४ हजार २०० अमेरिकी डलर बरामद गरेको हो । 

काठमाडौंबाट डलरसहित हिडेका गुरुङलाई पोखरा आउँदै गरेको सवारी चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका गुरुङलाई हिरासतमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ । 

केही दिनयता उनको काठमाडौं पोखरा आउजाउ निकै बढेको थियो । कहिले मोटरबाटोबाट त कहिले हवाइजहाजबाट उनको आवतजावत हुने गरेको थियो । काठमाडौंबाट फर्किंदा प्रायः उनी हवाइजहावबाटै पोरखा जाने गरेका थिए । तर, यसपटक भने स्थलमार्गबाट आफू सुरक्षित हुने ठानेर सार्वजनिक माइक्रो बसमा उनी पोखरातिर लागेका थिए ।  

उनले आफू बसेको सिटमुनि एउटा झोला राखेका थिए । जहाँ एक लाख ९४ हजार २०० अमेरिकी डलर प्याकिङ गरेर राखिएको थियो । जुन सूचना कास्की प्रहरीले पायो । 

प्रहरीले ठूलो परिमाणमा डलर लिएर एकजना पोखरातिर आउँदै छ भन्ने सूचना पाएको थियो । सूचना पाएलगत्तै प्रहरीले पृथ्वी राजमार्गको पोखरा खण्डमा चेकजाँच बढाएको थियो । 



गुरुङ चढेको माइक्रो पोरखा प्रवेश गर्नासाथ चेकजाँच गरेर नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले बताए । 

उनले झोलामा ५० अमेरिकी डलरको ७२ वटा नोट र १०० डलरका १ हजार १०६ वटा नोट थिए । उक्त रकम साट्दा २ करोड ३२ लाख ६ हजार ९०० रूपैयाँ हुन आउँछ । 



नेपालमा एक हजार डलरभन्दा बढी विदेशी पैसा बोक्न राष्ट्र बैंकको अनुमति चाहिन्छ । उनले के प्रयोजनका लागि उक्त डलर बोकेका हुन् भन्ने खुल्न सकेको छैन । राष्ट्र बैंकबाट स्वीकृति लिएको कागजात समेत नभेटिएको एसपी थापाले बताए ।  

प्रहरीले उक्त रकम सुन तस्करीका लागि प्रयोग हुन सक्ने अनुमान गरेको छ । प्रारम्भिक बयानका क्रममा गुरुङले यसअघि पनि ठूलो परिमाणमा डलर लिएर पोखरा आउने गरेको स्वीकार गरेका छन् ।

  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १८:४८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया