महासचिवमा दाबी गरिरहेका पौडेल र पोखरेललाई यसरी व्यवस्थापन गर्न चाहन्छन् ओली

नेकपा एमालेका विभिन्न पदमा आफूनिकट नेताहरुले दाबी गर्न नछाडेपछि एमाले अध्यक्ष केपी शर्मा ओली बिलखबन्दमा परेका छन् । नयाँ नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तथा महासचिवका लागि ओलीनिकट नेताहरुले नै दाबी गरिरहेका छन् । र, उनीहरुले आफ्नो दाबीलाई सौराहामा सुरु भएको पहिलो दिनको बन्दसत्रसम्म पनि कायम राखेका छन् ।

महाधिवेशनका लागि बिहीबार काठमाडौंबाट चितवन आएका ओलीले चितवनको बसाइमा आफूनिकट नेताहरुलाई मनाउन प्रयास गरिरहेका छन् । तर, उनका प्रयास निरर्थक हुँदै गएका छन् । 

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेल र शंकर पोखरेललाई व्यवस्थापन गर्न ओलीलाई हम्मेहम्मे परिरहेको छ । 

शुक्रबार मध्यरातमा बसेको नवौं महाधिवेशनको केन्द्रीय कमिटी बैठकले पदाधिकारीमा केही संख्या र केन्द्रीय सदस्यमा केही संख्या थप्ने निर्णय गरेको छ । बन्दसत्रबाट यसलाई अनुमोदन पनि गरिनेछ । तर, पदाधिकारी संख्या थप्दा पनि ओलीले विभिन्न पदका आकांक्षीहरुलाई व्यवस्थापन गर्न सकिरहेका छैनन् ।

यसमा सबैभन्दा समस्यामा परेको एक पद हो, महासचिव । महासचिवमा यसपटक सुरु देखि नै लुम्बिनी प्रदेशका शंकर पोखरेल र विष्णु पौडेलले दाबी गरिरहेका छन् । उनीहरुसँगै महासचिवमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरिरहेका छन् । स्रोतका अनुसार गुरुङले उपमहासचिवमा पनि आफू एडजस्ट हुनसक्ने ओलीलाई वचन दिइसकेका छन् ।

तोकिएको समयभन्दा पाँच घन्टा ढिलो बन्दसत्र शनिबार सुरु भएको थियो । आफू बसेको होटलबाट अध्यक्ष ओली बन्दसत्र सुरु हुनुभन्दा तीन घन्टाअगाडि नै होटल सेभेन स्टार पुगेका थिए । त्यहाँ उनी तीन घन्टासम्म रुम नम्बर ३०१ म बसे । अनि पदाधिकारीका आकांक्षीहरुलाई एक्लाएक्लै बोलाएर कुराकानी पनि गरे । 



तर, त्यहाँ पनि ओलीले सहमतिको वातावरण बनाउन सकेनन् । सुवास नेम्वाङ र विष्णु पौडेल दुवैले ओलीलाई आफूहरु आफ्नो दाबीबाट पछाडि नहट्ने बताएका छन् । यस्तो भएको खण्डमा ओलीले यसअघिदेखि भन्दै आएको सर्वसम्मत नेतृत्व चयन नहुने सम्भावना देखिन्छ । 

‘तर, कम्तिमा पनि पदाधिकारीमा सर्वसम्मत गर्ने हरप्रयास जारी छ,’ ओलीनिकट एक नेताले फरकधालाई बताए, ‘त्यसका लागि कोही न कोही नेताहरुले त्याग गर्न सक्नुपर्छ, सक्नुहुन्छ भन्ने लागेको छ ।’



शुक्रबार अबेर राति बसेको केन्द्रीय कमिटी बैठकले एमाले पदाधिकारीमा दुई जना उपमहासचिव थप्ने निर्णय गरेको छ । शनिबारको बन्दसत्रमा यसलाई अनुमोदन गरिँदै छ ।

उपमहासचिव दुई जना थपेर तीन जना बनाउने ओलीको निर्णय शंकर पाखेरेललाई व्यवस्थापन गर्नका लागि बलियो हतियार बन्ने अनुमान एमाले वृत्तमा भएको छ ।

‘यसअघि नेकपा हुँदा पनि विष्णु पौडेल महासचिव हुनु भएको थियो, स्वभाविक रुपमा उहाँलाई अहिले एमालेको महासचिव बनाउने भन्ने पनि चर्चा चलेको हो,’ एमालेका एक नेता भन्छन्, ‘यस्तो भएको खण्डमा यसपटकका लागि शंकर कमरेड उपमहासचिव हुनु हुनेछ ।’

अहिलेसम्म उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङको चर्चा चलेको छ । त्यस्तै, विन्दा पाण्डे, विष्णु रिमालले पनि उपमहासचिवमा चासो देखाएका छन् । तर, ओलीले पोखरेललाई उपमहासचिव बनाएको खण्डमा प्रदीप ज्ञवाली यसमा नअटाउने सम्भावना बढ्ने देखिन्छ ।

  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १९:१३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया