घोषणामै सीमित खुला दिसामुक्त जिल्ला, सात वर्षसम्म सार्वजनिक शौचालय प्रयोगविहीन

बाजुरा जिल्लाको सदरमुकाममा रहेका सार्वजनिक शौचालय प्रयोगविहीन बनेको छ । २०७१ सालमा खुला दिसामुक्त जिल्ला घोषणा गरिएको बाजुरा जिल्लाको सदरमुकाममा अहिले जताततै दिसापिसाब देखिन थालेको छ ।

नियमन गर्ने निकायको ध्यान नजाँदा २०७१ सालमा बनेका शौचालय जीर्ण अवस्थामा रहेका छन् भने केही शौचालयको संरक्षण नहुँदा प्रयोग विहीन बनेका छन् । बजार व्यवस्थित नहुँदा व्यापारी तथा बजारमा आएका ग्राहकहरु सास्ती भोग्न बाध्य भएका छन् ।

सदरमुकाम मार्तडीमा सार्वजनिक शौचालय प्रयोग नहुँदा समस्या भएको छ । खुलामञ्चलगायतका ठाउँमा रहेका शौचालाय अलपत्र अवस्थामा रहेका छन् । जिल्लामा आउने जुनसुकै व्यक्तिले कुनै होटलमा खाजा आएर मात्रै होटलको शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

सदरमुकामको बसपार्कमा जति मान्छे ओर्लिन्छन्, ती सबैले खुला दिसा–पिसाब गर्न बाध्य भएको स्थानीय कलक नेपालीले बताए । उनले भने, ‘बसहरु कतै रोकिँदैन, बिहानको समय हुन्छ, शौचालय नदेखेपछि बाध्य भएर खुला दिसापिसाब गर्न बाध्य भएका छन् ।’

त्यस्तै, उत्तरी क्षेत्रको कोल्टी बजारमा पनि शौचालय प्रयोगविहीन रहेका छन् । सडकसँग जोडिएका बजारमा केही ठाउँमा शौचालय नै छैनन्, भएका ठाउँमा पनि प्रयोग नहुँदा यात्रु खुला ठाउँमा शौच गर्न बाध्य भएका छन् ।

स्थानीय तहहरुको बेवास्ताका कारण जिल्ला फेरि २०७१ सालभन्दा अगाडि फर्किन सक्ने अवस्था भएको छ । नेपालकै सोह्रौँ जिल्लाको रुपमा बाजुरा जिल्ला २०७१ मंसिर १२ गते जिल्ला खुला दिसामुक्त भएको थियो । त्यही समयमा सदरमुकामलगायत जिल्लाका व्यापारिक केन्द्र आसपासका सबै सार्वजनिक शौचालय अलपत्र रहँदै आएका छन् । 



जिल्लाका धार्मिक तथा पर्यटकीय स्थानमा शौचालय नहुँदा तीर्थयात्री खुला ठाउँमा शौच गर्न बाध्य भएका छन् ।



  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १९:५५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया