खसाेग्गीलाई मार्न साउदी युवराजको निर्देशनः सिआइए

वासिङ्टन- अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सिआइएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खसाेग्गीको हत्या गर्न निर्देशन गरेको ठहर गरेको एकजना अमेरिकी अधिकारीले बताएका छन् । 

साउदी अरेबियाले भने त्यस्तो दाबीलाई गलत भनेको छ र युवराजलाई उक्त हत्याको योजनाबारे केही थाहा नभएको दोहोर्याउँदै आएको छ । अमेरिकी गुप्तचर निकाय निकट स्रोतहरूका अनुसार घटनाको अनुसन्धानका क्रममा उसले विस्तृत प्रमाणहरूमा आफ्नो पहुँच पुर्याएको थियो । 

खसाेग्गीले काम गरेको पत्रिका द वासिङ्टन पोस्टले सिआइएको मूल्यांकन आंशिक रूपमा साउदी युवराजका भाइ खालेद बिन सलमानको फोनको कुराकानीमा आधारित रहेको जनाएको छ । खालेद बिन सलमान अमेरिकाका लागि साउदी राजदूतसमेत हुन् । आफ्ना दाइको निर्देशनमा खालेदले खसाेग्गीलाई फोन गरी महाबाणिज्य दूतावास जान सुरक्षित रहेको भनी आश्वासन दिएको आरोप उनीमाथि लगाइएको छ । 

यसैबीच, साउदी अरेबियामा रहेका खालेदले आफू करिब एक वर्षयता खसाेग्गीसँग सम्पर्कमा नरहेको भनी पछिल्लो ट्विटर सन्देश जारी गरेका छन् । ह्वाइट हाउस र अमेरिकी विदेश मन्त्रालय दुवैले त्यस्ता खबरहरूबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । तर, स्रोतहरूका अनुसार केन्द्रीय गुप्तचर निकायको निष्कर्षबारे भने दुवैलाई सूचित गरिसकिएको छ । 

अमेरिकी ट्रम्प प्रशासनले गत हप्ता खसोग्गीको हत्यामा संलग्न रहेको आरोपमा १७ जना साउदी अरबका अधिकारीलाई सजाय दिइसकेको छ । उक्त प्रकरणपछि अमेरिकी सांसदहरूले साउदी अरबलाई वासिङ्टनले बेच्दै आएको हतियारमा कटौती गर्न सुझाब दिएका छन् । उनीहरूले साउदी अरबलाई दोषी ठहर गर्दै उविरुद्ध अहिलेको भन्दा कडा उपाय अवलम्बन गर्न सुझाव दिएका छन् । 

यसैबीच, अमेरिकी उपराष्ट्रपति माइक पेन्सले शनिबार खसाेग्गीका हत्यारालाई उम्कन नदिने प्रतिबद्धता जनाएका छन् । पपुवा न्यु गिनीमा भएको एउटा सम्मेलनपछि बोल्दै उनले खसाेग्गीको हत्याका जिम्मेवार सबैलाई जवाफदेही बनाउन अमेरिका प्रतिबद्ध रहेको बताए । 



साउदी पत्रकार खसाेग्गीको अक्टोबर २ तारिखका दिन इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा हत्या गरिएको थियो । उनको शव अझै फेला परेको छैन । टर्कीले उक्त हत्याका लागि उच्च तहहरूबाट निर्देशन आएको दाबी गर्दै आएको छ । वासिङ्टन पोस्ट पत्रिकामा मासिक रुपमा स्तम्भ लेख्ने पत्रकार खसाेग्गी आफ्नो विवाहका लागि कागजातहरू लिन गएका बेला इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा प्रवेश गरेयता बेपत्ता भएका हुन् ।

उनको अन्तिम संस्कार साउदी अरेबिया र टर्कीमा शुक्रबार गरिएको थियो । टर्कीको स्तानबुलमा हत्या गरिएका साउदी पत्रकार जमाल खसाेग्गीकाे स्मृतिमा शुक्रबार अन्त्येष्टि सभा गरिएको थियो । सभामा राजनीतिक व्यक्ति, पत्रकार खसोग्गीका साथीहरू, शुभेच्छुक तथा समर्थकलगायत गरी झण्डै पाँच सयजना सहभागी थिए । विश्वका विभिन्न ठाउँबाट आएका ती व्यक्तिहरू फतिह मस्जिदमा भेला भएका थिए । उनीहरूले पत्रकार खसाेग्गीलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । 



  • प्रकाशित मिति : मंसिर २, २०७५ आइतबार ९:२१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया