आफ्नै भाइलाई सर्वसम्मत अध्यक्ष बनाएपछि गृहमन्त्री खाणले भने : सहमति र सहकार्यको अभियान रुपन्देहीबाट सुरु भयो

गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सहमति र सहकार्यले मात्र कांग्रेस बलियो हुने बताएका छन् । शनिबार नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाण सर्वसम्मत विजयी भएपछिको घोषणा सभामा बोल्दै गृहमन्त्री खाणले यस्तो अभियान रुपन्देहीबाट सुरु भएको दाबी गरे । 

लोकतन्त्र सुदृढ बनाउन, संविधानलाई अक्षरशः कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न नेपाली कांग्रेस बलियो बन्नुपर्ने उनको भनाइ थियो । ‘नेपाली कांग्रेस बलियो भयो भने नेपालमा लोकतन्त्र बलियो हुन्छ । संविधानलाई कार्यान्वयन गर्न सकिन्छ । विधिको शासन अवलम्बन हुन्छ,’ गृहमन्त्री खाणले भने, ‘कांग्रेस कमजोर भए जनता कमजोर हुन्छन् । लोकतान्त्रिक मूल्य र पद्धति कमजोर हुन्छ । संविधान कमजोर हुन्छ । जनताका मौलिक अधिकार कमजोर हुन्छन् ।’

पार्टीभित्र सहमति र सहकार्यले मात्रै कांग्रेस बलियो हुने उल्लेख गर्दै उनले जनतालाई सबल बनाउन, लोकतान्त्रिक शासन व्यवस्थालाई सबल बनाउन संविधानलाई सबल बनाउन, मुलुकमा शान्ति सुरक्षा कायम गर्न, मुलुकमा समृद्धि ल्याउन कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताए । 

रुपन्देहीमा गृहमन्त्री खाणकै पहलमा संघीय सांसदद्वय भरतकुमार शाह, प्रमोद यादव, कांग्रेस रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, रुपन्देही कांग्रेसका पूर्वसभापति रामचन्द्र ढकाल, प्रदेश सांसद अष्टभुजा पाठकलगायतको छलफलबाट जिल्ला सभापतिमा खाणलाई सर्वसम्मत सभापति बनाइएको हो । 

सभापतिमा निर्वाचित खाण गृहमन्त्री खाणका सहोदर भाइ हुन् । त्यस्तै उपसभापतिमा थानेश्वर घिमिरे र अनिता शाह सर्वसम्मत भएका छन् । शाह संघीय सांसद भरत शाहकी श्रीमती हुन् ।
 
गृहमन्त्री खाणले निर्वाचनबाट चुनिएको सभापति भन्दा सर्वसम्मतिले चुनिएको सभापतिको कार्यभार बढी हुने र सबैको साझा सभापति हुने बताए । 





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार २३:३७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया