पोखरामा थपियो नयाँ साहसिक खेल ‘हट एयर बेलुन’

पाेखरा- पोखरामा साहसिक खेलको रूपमा शनिबारदेखि हट एयर बेलुन पनि थपिएको छ । साहसिक खेलको रूपमा समेत प्रसिद्धि पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङलगायत अब हट बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन गर्न पाउने भएका छन् । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार यसको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री गुरुङले पोखरा आउने पर्यटकका लागि हट एयर बेलुन उडानले पर्यटकलाई थप आकर्षित गर्ने बताए । उनले प्रदेशको समृद्धिको आधार पर्यटन क्षेत्र भएको बताउँदै नयाँनयाँ गतिविधिले पर्यटन विकासमा टेवा पुग्ने धारणा राखे । 

प्रदेश सरकारले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बताउँदै मुख्यमन्त्री गुरुङले जनसङ्ख्याको हाराहारीमा पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य रहेको छ बताए । 

हट एयर बेलुन उडाउन प्रालिले एक करोड ५० लाखको लागतमा इटलीबाट यो बेलुन मगाएको बेलुन प्रालि नेपालका प्रबन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिनुभयो । बेलुन चढ्न नेपाली पर्यटकले ११ हजार र विदेशी पर्यटकले १६० डलर तिर्नुपर्नेछ ।

सानो बेलुनमा ६ जना र ठूलो बेलुनमा आठ जनासम्म उडाउन सक्ने यसको क्षमता छ । बेलुन चढ्ने प्रत्येक यात्रुको २० हजार डलरको बिमा गरिएको महर्जनले बताए । निकट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बञ्जीजम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य साहसिक कार्यक्रम गर्दै जाने र त्यसको सम्भाव्यता अध्ययन भइरहेको उनले जानकारी दिए ।





  • प्रकाशित मिति : मंसिर २, २०७५ आइतबार ९:४९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया