एमाले महाधिवेशन : ओलीले तयार पारे पदाधिकारी र केन्द्रीय सदस्यको सूची

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा आज पदाधिकारी र केन्द्रीय सदस्यको सूची सार्वजनिक गर्ने भएका छन् । 

शनिबार पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा पाएका ओलीले आज बिहान १० बजे बन्द सत्रमा सूची सार्वजनिक गर्ने भएका हुन् । 

पदाधिकारी र केन्द्रीय सदस्य थप्ने जिम्मा अध्यक्ष ओलीलाई दिने प्रस्ताव महाधिवेशनको दोस्रो बन्द सत्रले पारित गरेपछि पार्टी उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले भने असन्तुष्टि जनाएका थिए । 

१९ पदाधिकारी थपिएसँगै अब एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनेको छ । 

स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बन्ने सम्भावना छ । ओलीले वरिष्ठ उपाध्यक्षमा आफूनिकट पोखरेललाई पहिलो रोजाइमा राखेका छन् । त्यस्तै, ओलीले उपाध्यक्षको सूचीमा विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा बादल, लालबाबु पण्डित, रघुवीर महासेठ, घनश्याम भुसालको नाम राखेका छन् ।  

यद्यपि रावल आफू अध्यक्ष पदमै उठ्ने घोषणामा अडिग छन् । उनी आफ्नो अडानमा टिकिरहन्छन् वा ओलीलाई सर्वसम्मत बनाउन तयार हुन्छन् यो विषय हेर्न लायक हुनेछ ।



ओलीले प्रस्तुत गरेका नामहरूमा सर्वसम्मत हुन नसकेमा आज नै मतदान हुने निर्वाचन समितिले जनाएको छ । 

महासचिवमा शंकर पोखरेलको चर्चा छ । उनलाई महासचिव बनाउनुपर्ने प्रस्ताव आएपछि विष्णु पौडेलले भने असन्तुष्टि जनाएका छन् । 



उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र योगेश भट्टराईको चर्चा रहेको छ । पार्टी विभाजन हुँदा एमालेमै रहेकाले ओलीले भट्टराईको नाम महासचिवमा राखेका हुन् । 

एमालेमै रहेपछि ओलीले भट्टराईलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी पनि दिएका थिए ।   

  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ७:४३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया