एमाले महाधिवेशनको बन्दसत्र माओवादीको होटलमा !

चितवनको सौराहा केही दिन यता एमालेमय भएको छ । नेकपा एमालेले पहिले बुटवलमा गर्ने तय गरेको महाधिवेशन अचानक चितवनमा सारिएपछि र सौराहामा महाधिवेशन गर्ने निर्णय गरेपछि चितवनका सडक एमालेका झन्डाले सजिएका छन्, सौराहामा सयौँ मानिस भेला भएका छन् ।

शुक्रबार नारायणी नदी किनारमा सुरु भएको एमालेको दसौं राष्ट्रिय महाधिवेशनका लागि पार्टीले सौराहाका अधिकांश होटल बुक गरेको छ । महाधिवेशन प्रतिनिधि राख्नका लागि होटल बुक गरिए पछि सौराहामा अहिले होटलहरुको व्यापार फस्टाएको छ । सौराहाका होटल व्यवसायी तथा व्यापारीहरु यसका कारण खुसी पनि देखिन्छन् ।

अहिले सबैभन्दा बढी चर्चामा छन्, दुई होटल– पार्क सफारी र होटल सेभेन स्टार । पार्क सफारी किन चर्चामा छ भने त्यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बसेका छन् । उनले यही होटलमा आफूनिकट नेताहरुसँग साँझविहान, दिनरात छलफल गरिरहेका छन्, पार्टीमा आफू अनुकूल नेतृत्व ल्याउन चाहिरहेका छन् । 

अनि अर्को होटल होटल सेभेन स्टार चर्चामा आउनुको कारण चाहिँ हो, त्यहाँ नेकपा एमालेको बन्दसत्र छ ।

तर, कस्तो अचम्म, नेकपा एमालेले आफ्नो जीवनको महत्वपूर्ण काम गरिरहेको यो होटल चाहिँ हो, माओवादीका स्थानीय नेताको । हामीले स्थानीय होटल व्यवसायीहरुसँग एमालेले आफ्नो बन्दसत्रका लागि सौराहाको होटल सेभेन स्टार नै किन छानेको होला भनेर सोधेका थियौँ । सौराहामा भएका होटलहरुमध्ये सबैभन्दा ठूलो मिटिङ रुम भएकाले यो होटल छानिएको हुनसक्ने उनीहरुको अनुमान छ । तर, एमालेले आफ्नो बन्दसत्र होटलको त्यो ठूलो मिटिङ रुममा गरेको छैन, होटलको बाहिर टेन्टमा नयाँ ठाउँ बनाइएको छ जहाँ एमालेको बन्दसत्र जारी छ ।

आउनुहोस्, यो होटलको विषयमा केही चर्चा गरौँ ।



यो होटलका सन्चालक हुन्, माधव दुवाडी । अहिले पनि माओवादीमा सक्रिय रुपमा लागिरहेका दवाडीले पछिल्ला केही वर्ष एक्लै होटल सेभेन स्टार चलाइरहेका छन् । डा. नूर कँडेलसँगको पार्टनरसिपमा खोलिएको यो होटलमा कुनै समय नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि लगानी रहेको चर्चा चल्थ्यो ।

‘तर, अहिले होटल सेभेन स्टार पूर्ण रुपमा दवाडी सरको हो,’ सौराहाकै एक होटल व्यवसायी भन्छन्, ‘तर, जतिबेला होटल खोलिएको थियो, त्यति बेला यो होटलमा यति धेरै लगानी कसले गरेको छ भन्ने विषयमा चर्चा चल्थ्यो ।’ त्यति बेला माओवादी शान्ति प्रक्रियामा भर्खरै आएको थियो, दवाडीले माओवादीले आम मानिसबाट चन्दास्वरुप उठाएको पैसालाई होटलमा लगानी गरेको हुनसक्ने आशंका गरिएको थियो ।



यो आशंका किन पनि बलियो थियो भने प्रचण्डपुत्र प्रकाश दाहाल चितवनमा हुँदा दवाडीसँगै हेलमेलमा हुन्थे । ‘होटल सेभेन स्टार प्रकाशको दोस्रो घरजस्तो थियो, उनी चितवन आउँदा बस्ने ठाउँ नै होटल सेभेन स्टर हो,’ सौराहाका एक व्यवसायीले भने ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि दवाडीको हिमचिम राम्रै छ । अनि उनको सम्बन्ध छ, एमालेमा माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलसँग पनि ।

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादल हुनु र उनीसँग निकट दवाडीले होटललाई महाधिवेशनका लागि तयार गर्नुमा पनि यो सम्बन्ध कारक भएको हुनसक्ने अनुमान गरिएका छन् । अझ कतिले त दवाडी अब एमालेमा प्रवेश गर्न सक्ने अनुमान पनि गरेका छन् ।

‘उहाँले आजभोलि आफूलाई पोलिटिकल्ली फाइदा पुग्नेगरि काम गरिरहनु भएको छ,’ ती व्यवसायी भन्छन्, ‘उहाँ अब एमालेमा प्रवेश गरे पनि अन्यथा नमान्दा हुन्छ ।’

  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १५:३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया