सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत भोली (सोमबार) दशरथ रंगशालामा त्रिभुवन आर्मी फुटबल क्लबले अघिल्लो सालको लिग बिजेता मछिन्द्र क्लबको सामना गर्दैछ ।
आर्मीको लागि सोमबारको खेल विशेष हुनेछ । विशेष यस अर्थमा– उसले दुई वर्षपछि मछिन्द्रसँग बदला लिने अवसर पाउँदै छ ।
२०७६ सालमा सम्पन्न लिगको अन्तिम खेलमा आर्मी मछिन्द्रसँग १–० गोल अन्तरले पराजित हुँदा हात पर्नै लागेको लिगको उपाधि फुत्काएको थियो ।
उक्त खेलमा आर्मीले बराबरी खेलेको भएपनि लिगको उपाधि जित्थ्यो । सोचे झै कहाँ हुन्छ र, आत्मघाती गोलका कारण मछिन्द्रसँग आर्मी हार्न पुग्यो । मछिन्द्रलाई भने उपाधि हात पार्न आर्मीलाई जित्नै पर्ने थियो । मछिन्द्रलाई भाग्यले पनि साथ दियो । मछिन्द्र लिग बिजेता बन्यो, आर्मीले उपविजेता मै चित्त बुझायो ।
२०७७ सालमा कोरोना महामारीका कारण लिग हुन सकेन । यसैकारण दुई वर्षअघि दशरथ रंगशालामा लागेको हारको चोटमा मलम लगाउने अवसर आर्मीलाई सोमबार प्राप्त गर्दैछ ।
आर्मी र मछिन्द्र दुवै ए डिभिजन लिगका बलिया टोली हुन् ।
गत संस्करणमा ए डिभिजन लिगको उपाधि आफ्नो नाम गरेको मछिन्द्रले यस बर्ष पनि उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ । आर्मी पनि पुरानो घाउमा मलम लगाउने प्रयासमा हुनेछ ।
पहिलो चरणमा भएको खेलमा आर्मीले अर्को विभागीय टोली पुलिससँग १–१ को बराबरी खेलेको थियो । खेलमा आर्मीका केही खेलाडी घाइते भएका थिए ।
विभागीय टोलीमा कुनै पनि विदेशी खेलाडी छैनन् । विदेशी खेलाडीको अनुभव र प्रदर्शनका कारण अन्य टोली चम्किरहेको बेला विभागीय टोलीमा पनि विदेशी खेलाडीको अभाव खट्किन थालेको छ ।
एपीएफ क्लबका प्रशिक्षक कुमार थापाले खुलेर नै विदेशी खेलाडी माथि विभागीय टोली पनि सकरात्मक हुनु पर्ने बताउँदै आएका छन् ।
यस्तै मछिन्द्रले न्युरोड टिम (एनआरटी) चालु लिगको पहिलो चरणको खेलमा २–१ को जित हात पारेको थियो ।
विदेशी तथा नेपालका स्टार खेलाडीले भरिपूर्ण मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्न आर्मीका लागि त्यति सहज भने पक्के हुनेछैन ।
तुलनात्मक हिसाबले गत बर्ष जस्तो बलियो नदेखिएको आर्मीले स्टार खेलाडीको जमात तथा विदेशी खेलाडीले भरिएको मछिन्द्रको सामना गर्न रणनीति भने बलियो नै बनाउनु पर्छ ।
सोमबार हुने खेलमा आर्मी कस्तो रणनीति लिएर मैदानमा उत्रिन्छ ? के आर्मीले मछिन्द्रसँग अघिल्लो संस्करणको बदला लिन सक्ला त ? भन्ने फरकधारको जिज्ञासामा आर्मीका प्रशिक्षक नवीन न्यौपाने भन्छन्, ‘हाम्रो प्रमुख उद्देश्य भनेको भोलीको खेलमा मछिन्द्रसँग जित निकाल्ने हो । उपाधि दौडमा कायम रहन हामीलाई भोलीको खेलको ३ अंक एकदमै महत्वपूर्ण छ ।’
पुलिससँगको खेलमा आर्मीको डिफेन्स लाइनमा समस्या देखिएको थियो ।
प्रशिक्षक न्यौपाने भन्छन्, ‘नवयुग श्रेष्ठ र विकास खवास टोलीमा नहुँदा उनीहरुको स्थानमा प्रतिस्थापन गर्ने खेलाडी त छन् तर नवयुग र विकाससँग राष्ट्रिय टोलीबाट खेलिसकेको अनुभव पनि थियो । उनीहरु नहुँदा टोलीमा केही न केही फरक भने पक्कै पर्छ ।’
राम्रा खेलाडी टोलीमा नहुँदा गाह्रो भएको अनुभव प्रशिक्षक आफैले महसुश गरेका छन् । अहिले आएका सुदिल राई र विवेक बस्नेतको खेलबाट सन्तुष्ट देखिएका प्रशिक्षक न्यौपाने आफै पनि सन्चो नभएका कारण टोलीका खेलाडीसँग समन्वय कम भइरहेको स्वीकार्छन् । पुलिसको खेलमा भएको गल्ती सच्याउने प्रयासमा छन् उनी ।
‘पछिल्लो पटक मछिन्द्रसँग हार व्यहोर्दाको घाउ पक्कै अझै बाँकी छ । भोलीको खेलमा जसरी हुन्छ जित निकाल्ने हाम्रो लक्ष्य रहनेछ । मछिन्द्रको टोली निकै राम्रो छ । हरेक प्रतिस्पर्धी बलियो हुन्छ । उनीहरुको टोलीमा राम्रा खेलाडी छन्,’ पछिल्लो ए डिभिजन लिगको अन्तिम खेलको बारेमा सोध्दा उनले भने ।
मछिन्द्र जित निकाल्ने दाउमा
डिफेन्डिङ च्याम्पियन मछिन्द्र पनि भोलीको खेलमा ३ अंकको खोजीमा हुनेछ ।
मछिन्द्र पनि जितकै लक्ष्य बोकेर मैदान उत्रने प्रशिक्षक प्रवेश कटुवाल बताउँछन् । उनी भन्छन्, ‘हाम्रो लक्ष्य भनेको भोलीको खेल जित्ने नै हो । हामी उपाधि रक्षा गर्ने अभियानमा छौँ । त्यसको लागि भोलीको जित अनिवार्य रहनेछ ।’
उनले यसो भन्दै गर्दा आर्मीको टोलीको खुलेर तारिफ पनि गरे, ‘आर्मी नेपाली फुटबलको एक राम्रो र सेट भएको टोली हो ।’
नवयुग नहुँदा मछिन्द्रको डिफेन्डरलाई कम प्रेसर पर्ने बुझाई कुटवालको छ । तर अर्माीमा मौका नपाएका खेलाडी पनि राम्रा भएको उनले सुनाए । ती खेलाडीलाई कम आँक्नु नह्ने उनले बताए ।
‘पहिलाको भन्दा फरक खेल प्रदर्शन गर्ने तयारीमा रहेका छौं,’ कटुवालले थपे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।