श्रीलंकाली राष्ट्रपतिद्वारा वार्ता आह्वान

कोलम्बो– श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पछिल्लो समय बढ्दै गएको शक्ति संघर्ष समाप्त गर्ने उद्देश्यले आइतबार मुख्य राजनीतिक दलका नेताहरूलाई वार्ताका लागि आमन्त्रण गरेका छन् । गत महिना अक्टोबर २६ मा प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गरेयता श्रीलंकामा राजनीतिक तनाव चुलिएको छ । 

राष्ट्रपति सिरिसेनाले महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीमा गरेको नियुक्ति अवैधानिक रहेको भन्दै बर्खास्तीमा परेका विक्रमासिंघेले अदालतमा मुद्दा दायर गरेका थिए । साथै, पुनर्स्थापित संसद्ले राजापाक्षलाई पदबाट हटाएको छ । रनिल विक्रमासिंघेले आफू अझै मुलुकको प्रधानमन्त्री रहेको दाबी गर्दै आएका छन् । 

‘राष्ट्रपति सिरिसेनाले संसद्मा रहेका दलका प्रतिनिधिसँग आइतबार बैठक डाकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिले हालको राजनीतिक अस्थिरता र द्वन्द्वको अवस्था अन्त्य गर्न बैठक बोलाएको र संसद्को कार्वाहीलाई नियमित गर्न चाहेको बताइएको छ । 

गतसाता राजापाक्ष पक्षधरका सांसदले अविश्वासको प्रस्तावमाथि छलफल हुन नदिन संसद्मा फर्निचर तोडफोड गर्नुका साथै विपक्षीमाथि खोर्सानीको धुलो फालेका थिए । 

राजापाक्षको विपक्षमा शुक्रबार भएको दोस्रो मतदानपछि विक्रमासिंघेले आफ्नो सरकार पुनर्स्थापित हुनुपर्ने माग गरेका थिए तर राष्ट्रपति सिरिसेनाका तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन । 

विक्रमासिंघेले श्रीलंकामा स्थायित्व आवश्यक रहेको बताउँदै संवैधानिक संकट निम्त्याउने गरी शक्ति संघर्ष भए पनि आफू राष्ट्रपतिसँग मिलेर कार्य गर्न तयार रहेको स्पष्ट गरेका छन् । 



राष्ट्रपतिले विक्रमासिंघेलाई पदच्युत गरेपछि नोभेम्बर ९ मा संसद्समेत विघटन गरेका थिए । तर, सर्वोच्च अदालतले राष्ट्रपतिको आदेशलाई खारेज गर्नुका साथै संसद् पुनर्स्थापना गरेको थियो । 

१९ दिनदेखि श्रीलंकाको प्रधानमन्त्रीमा दुई नेताले दाबी गरिरहेका थिए, तर बिहीबार संसद्का सभामुख कारु जयसुर्याले कुनै पनि नेतालाई प्रधानमन्त्रीका ररूपमा मान्यता दिन सकेका छैनन् । उक्त कदमसँगै आधिकारिक रूपमा श्रीलंकामा सरकार छैन । 



  • प्रकाशित मिति : मंसिर २, २०७५ आइतबार १६:०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया