प्रधानमन्त्रीका दुई सारथिलाई गृहजिल्लामै समस्या

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र मानिन्छन् । उनी सरकारका प्रवक्तासमेत हुन् । यसले पनि देउवासँग उनको निकटता प्रष्टिन्छ । 

भोजपुरबाट विद्यार्थी राजनीति थालेका उनको राजनीतिक थलो भने सुनसरी हो । यहाँको ४ नम्बर क्षेत्रबाट उनी विजयी भएका हुन् । अहिले कार्कीको दौडधुप सुनसरीमा मात्रै नभई प्रदेश १ भरी छ । 

यो जिल्ला उपसभापति विजयकुमार गच्छदारको पनि गृह जिल्ला हो । कुनैबेला सुनसरीमा गच्छदारको बोलवाला थियो । जे भन्थे, त्यही हुन्थ्यो । कांग्रेसमा रहँदा मात्रै होइन, मधेसी जनअधिकार फोरमदेखि लोकतान्त्रिक फोरममा हुँदासमेत गच्छदारले सुनसरी कांग्रेस चलाउने ल्याकत पनि राख्थे । 

उनको इच्छाविपरीत कोही नेता हुन सक्ने अवस्था थिएन । उनी पनि सभापति तथा प्रधानमन्त्री देउवा निकट मानिन्छन् । अर्थात् उनलाई देउवाको विश्वास पात्र भनेर चिनिन्छ । 
प्रधानमन्त्रीका दुई सारथिको रूपमा परिचित कार्की र गच्छदारले प्रदेश १ मै संस्थापन पक्षको नेतृत्व गर्छन् । 

उनीहरू देउवाको लाइनलाई प्रदेशमा विस्तार गर्ने जिम्वेवारीमा समेत देखिन्छन् । जिल्ला आएका बेला जे बोल्छन्, पार्टीमा त्यो लागु भएको देखिन्छ । तर, पछिल्लो समय प्रदेशको पार्टी मिलाउने जिम्मेवारी पाएका कार्की र गच्छदारलाई जिल्लामा समस्या भएको छ । त्यो समस्या भनेको सुनसरीको पार्टी नेतृत्व हो । उनीहरूले आफ्नो पक्षमा नेतृत्व पार्न खोजेका थिए । तर, १४औं अधिवेशनले भने उनीहरू निकटकालाई पाखा लगायो । उनीहरूको समर्थन रहेको सञ्जय श्रेष्ठ पराजित भए । 

उनलाई संस्थापनइतरका केदार भण्डारीले पराजित गरेका हुन् । भण्डारीले एक हजार ४२२ मत ल्याउँदा श्रेष्ठले एक हजार ३०९ मत प्राप्त गरे । उपसभापतिमा पनि इतरकै उम्मेदवार विजयी भएका छन् । विजयी हुनेहरू नागेशचन्द्र राई र पंकजकुमार महतो छन् । 



यति मात्रै होइन, चारवटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा तीजना क्षेत्रीय सभापतिहरू पनि इतर पक्षका बनेका छन् । 

अधिवेशनमा प्रदेश क्षेत्रका दुई सभापति भने कार्की निकटका निर्वाचित भए । बाँकी ६ सभापति पनि इतर पक्षकै निर्वाचित भए । 



यो परिणामले कुनैबेलाका शक्तिशाली गच्छदार र अहिले पार्टीको केन्द्रीय राजनीतिमा शक्तिशाली देखिएका कार्कीलाई शाख जोगाउन हम्मेहम्मे परेको छ । प्रदेश सरकार गठनमा सक्रिय भूमिकासमेत खेलेका कार्की जिल्लामा कमजोर भएको निष्कर्ष कार्यकर्ताहरूको छ । 

प्रदेश सभामा एमालेपछिको ठूलो दल कांग्रेस हो । २१ सिट रहेको प्रदेश सभामा मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)लाई दिनुमा कार्कीको भूमिका रहेको इतर पक्षका प्रदेशसभा सदस्यहरू बताउँछन् । 

यहाँसम्म कि संस्थापनइतरका प्रदेश सभा सदस्यहरूलाई मन्त्री बनाउनसम्म रोक लगाएको एक प्रदेशसभा सदस्यले आरोप लगाए । तर, कार्की सफल हुन सकेनन् । केन्द्रको चाहनाविपरीत सरकार गठन भएकै दिन आन्तरिक मामिलामन्त्री केदार कार्की बने । 

संसदीय दलका नेता राजीव कोइराला मुख्यमन्त्री बन्न चाहन्थे । तर, मुख्यमन्त्री बनेको अवस्थामा जिल्लामा शक्तिशाली हुने बुझाइएका आधारमा उनलाई कार्कीले रोक्न खोजेको चर्चा प्रदेशमा छ ।
जिल्लामा दुई कार्यकाल सभापति बनेका कोइरालालाई रोक्न भने सफल भएनन् । 

उल्टै क्षेत्रीय प्रतिनिधि छनोटमै कमजोर देखिए । उनी र गच्छदारलाई महधिवेशन प्रतिनिधि जिताउनसमेत समस्या भएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट भएकामध्येमा ६५ प्रतिशत इतरका पक्षका छन् । 

गच्छदारलाई संकट 

पटकपटक निर्वाचन जित्दै आएका गच्छदारलाई आफ्नै क्षेत्रमा संकट भएको छ । गाउँ÷नगर अधिवेशनबाट उनी कमजोर बने । क्षेत्रीय अधिवेशनसम्म आइपुग्दा थप कमजोर भएको देखिएको छ । 

निर्वाचनबाट नतिजा आफ्नो पक्षमा नपर्ने भएपछि सुनसरी क्षेत्र नम्बर ३ मा सहमतिबाट नेतृत्व छान्न उनको जोड रह्यो । त्यही भएर दुई दिनसम्म निर्वाचन भएन । यसबीच निकटका उम्मेदवार प्रदीप चौधरीलाई क्षेत्रीय सभापति बनाउन अन्तिमसम्म प्रयास गरे । 

महाधिवेशन प्रतिनिधि पनि निकटकालाई मात्रै लैजान उनको प्रयास भयो । तर, सफल भएनन् । अन्ततः पछि हट्न बाध्य भए । यससँगै मंगलबार मनोनयन दर्ता सम्पन्न भयो । बुधबार निर्वाचन भयो । निर्वाचनमा इतरका पक्षका मेहदी हुस्सेन क्षेत्रीय सभापतिमा विजयी भए । प्रतिस्पर्धीभन्दा दोब्बर मतले उनी विजयी भएका हुन् । यसअघि गाउँ/नगर अधिवेशनमा उनी निकटका कुनै पनि उम्मेदवारले सभापति पदमा जित निकाल्न सकेनन् । 

 

  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १४:३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया