जब कसैलाई कुनै निकायको जिम्मेवारी दिइन्छ, सहज अपेक्षा हुन्छ कि उनी सम्बन्धित क्षेत्रका विज्ञ हुन् । कम्तीमा आफूले नेतृत्व गर्ने निकायले गर्ने काम र त्यसको प्राविधिक पक्षबारे आधारभूत जानकारी त चहिन्छ नै ।
तर, जापानका साइबर सुरक्षा मन्त्री योसिताका सेकुराडाले जीवनमा कहिल्यै कम्प्युटर चालाएकै छैनन् ।
२०२० मा टोकियोमा हुने ओलम्पिक गेम्सलक्षित साइबर सुरक्षा तयारीको जिम्मेवारीसहित गत महिना मन्त्री बनेका योसिताकाले आफूले कहिल्यै कम्प्युटर नचलाएको खुलाएपछि विपक्षी नेताहरूले उनको चर्को आलोचना गरे ।
क्योडो न्युज एजेन्सीका अनुसार योसिताकाले संसद्को कानुन बनाउने समितिसामु यो तथ्य खोलेका हुन् ।
‘२५ वर्षको उमेरदेखि मैले आफ्ना कर्मचारी र सचिवहरूलाई काम लगाउँदै आएको छु, त्यसैले म आफैँ कम्प्युटर प्रयोग गर्दिनँ,’ विपक्षी नेताको प्रश्नको जवाफमा उनले भने ।
विपक्षी डेमोक्रेटिक पार्टीका नेता मसातो इमाएले योसिताकाको बयानप्रति आपत्ति जनाए । उनकै एक प्रश्नको जवाफमा योसिताकाले आफूले कहिल्यै कम्प्युटर नचलाएको बताएका थिए ।
मसातोले भने, ‘मलाई यो कुरामा विश्वास छैन कि जुन व्यक्तिले देशको साइबार सुरक्षा हेर्नु छ, उसले कहिल्यै कम्प्युटर प्रयोग गरेकै छैन ।’
जवाफमा योसिताकाले भनेका छन्, ‘अरू अधिकारीहरूसँग यसबारे काफी अनुभव छ, र मलाई भरोसा छ कि यसले केही समस्या पार्नेछैन ।’
त्यसपछि सोधिएको एक प्रश्नले यस विषयमा झनै चिन्ता थप्यो । उनलाई सोधियो कि परमाणु ऊर्जा केन्द्रमा युएसबी ड्राइभ (पेन ड्राइभ) को प्रयोग हुन्छ कि हुँदैन । यसको जवाफ दिन उनलाई निकै मुस्किल पर्यो ।
यो खबर बाहिर आएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भयो । कतिले जापानको साइबर सुरक्षाबारे चिन्ता व्यक्त गरे, कतिले योसिताकालाई उडाए ।
कतिपयले त ट्रोल नै बनाए, ‘कम से कम योसिताकालाई ह्याक गर्न मुस्किल छ ।’
सामान्य कम्पनीको हाकिमले समेत कम्प्युटर प्रयोग गर्ने जमानामा साइबर सुरक्षा हेर्ने मन्त्रीलाई युएसबी के हो भन्नेसम्म थाहा नहुनु लज्जास्पद भएको भन्दै धेरैले आलोचना गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।