समावेशी नीतिअनुसार पदाधिकारीको संरचना तयार गरेको नेपाली कांग्रेसले मंसिर २४ देखि २६ गतेसम्म १४औँ महाधिवेशन गर्दै छ ।
महाधिवेशनबाट पदाधिकारीमा सर्वाधिक आठजना सहमहामन्त्री निर्वाचित हुनेछन् । निर्वाचित हुने सहमहामन्त्रीमा एकजना दलित समुदायका हुनेछन् ।
नेपाली कांग्रेसको संशोधित विधान (२०७५)मा आठ सहमहामन्त्रीमध्ये एकजना दलित हुने प्रावधान छ । यस आधारमा एक सहमहामन्त्री सुरक्षित रहेपछि उक्त पदमा दलित समुदायका नेताहरूले चाहना व्यक्त गर्न थालेका छन् ।
महाधिवेशन आउन १३ दिन बाँकी रहेका बेला केन्द्रीय सदस्य जीवन परियारले दलिततर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेका छन् । उम्मेदवारी घोषणा भने भएको छैन ।
‘मैले नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने विचार गरेको छु । यसको औपचारिक घोषणा गर्ने तयारीमा छु’, उनले फरकधारसँग भने ‘२–४ दिन लाग्ला घोषणा गर्न ।’
परियार कांग्रेस केन्द्रीय सदस्य भएको ११ वर्ष भएको छ । ११औँ, १२औँ र १३औँ महाधिवेशनबाट उनी तीनपटक केन्द्रीय सदस्य छन् ।
२०७० मा उनी समानुपातिकतर्फबाट संविधानसभा सदस्य थिए । संसदको राज्य, व्यवस्था तथा सुशासन समितिको सदस्य भएर संसदमा भूमिका निर्वाह गरेको अनुभव उनीसँग छ ।
उनी दलित आन्दोलनमा जोडिएका नेता पनि हुन् । २०४६ मा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा थालेका उनी दलित संघ कास्कीको संस्थापक सचिवदेखि दुईपटक केन्द्रीय महासचिवसमेत भए ।
परियारले सहमहामन्त्री पदमा यी ६ एजेण्डासहित उम्मेदवारी दिन लागेका छन्
– सामाजिक रूपान्तरण र न्याय स्थापना गर्न ।
– पार्टीको राजनीतिक संगठन सशक्त, सुदृढीकरण र भरोसायुक्त बनाउन ।
– पार्टीको विचार र सिद्धान्तलाई तल्लो तहसम्म पुर्याउन र विचारमाथि बहसमा गराउन ।
– पार्टीको अल्पकालीन र दीर्घकालीन रणनीतिसँगै कार्यनीति तय गर्दै पार्टीलाई जीवन्त बनाउन ।
– जनसम्पर्क समितिहरूको अस्तव्यस्तलाई नियमन गर्न ।
– पार्टीमा विकास विभाग गठन गर्न ।
नेता परियार कांग्रेसका बौद्धिक नेतामध्येमा गनिन्छन् । समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोतर गरेका उनी अधिवक्तासमेत पनि हुन् । २०६७ मा १२औँ महाधिवेशनपछि समावेशीको नीति अँगालेको कांग्रेसले १४औँ महाधिवेशनमा भने पदाधिकारीमा पनि समावेशी सिद्धान्तअनुसार क्लस्टरका आधारमा सहमहामन्त्रीको पद सिर्जना गरेसँगै उक्त पदमा उम्मेदवारी दिन उनी तयार भएका हुन् ।
२०७४ मा कास्की निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश (क) मा प्रत्यक्षतर्फबाट उनी निर्वाचन लडेका थिए । तर, पराजय भए । जतिबेला संघीय संसदको १६५ निर्वाचन क्षेत्र र प्रदेशको ३३० गरी कूल ४९५ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्ष निर्वाचन लड्ने उनी एक्ला दलित नेता भए ।
उनै नेता परियारले यही २१ मंसिरमा सहमहामन्त्री पदमा संस्थापनइतर अर्थात् वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मनोनयन दर्ता गर्ने बताए ।
उनी स्थानीय तह निर्वाचन ऐनमा दलित महिलाको आरक्षणसम्बन्धी व्यवस्था संशोधन प्रस्तावमार्फत सुनिश्चित गर्ने नेता पनि हुन् । परिणामतः २०७४ मा भएको स्थानीय तह निर्वाचनपछि ६ हजार ५६७ जना दलित महिला सदस्य वडा सरकारमा छन् ।
संस्थापनबाट मानबहादुर र मीनबहादुर
संस्थापन पक्षबाट सोही पदमा पूर्वराज्यमन्त्री मानबहादुर विश्वकर्माले उम्मेदवार हुन चाहेका छन् । दलित आन्दोलनको अगुवाको रूपमा उनी चिनिन्छन् । उनकै पहलमा राष्ट्रिय दलित आयोग गठनदेखि दलित विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था भएको हो । तर, उनको उम्मेदवारी घोषणा हुन बाँकी छ ।
यस्तै, चर्चा भएअनुसार पूर्ववाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा पनि संस्थापन पक्षबाट सहमहामन्त्री पदका सम्भावित उम्मेदवार हुन् । स्रोतका अनुसार मीनबहादुरलाई भन्दा पनि मानबहादुरलाई अघि बढाउने देउवाको योजना छ । जे भए पनि यी तीन नेतामध्येबाट एकजना सहमहामन्त्री हुने देखिएको छ ।
कांग्रेस स्थापना भएको ७५ वर्षमा ९ दलित नेता, एक महामन्त्री
बिपी कोइरालाको नेतृत्वमा २००३ सालमा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेसको संस्थापक १० सदस्यमध्ये एक जना थिए, देवव्रत परियार । २००५ सालमा सुवर्णशमशेर नेतृत्वको नेपाली प्रजातान्त्रिक कांग्रेसको संस्थापक १२ सदस्यमध्येमा आरबी गहतराज पनि थिए ।
परियार र गहतराज सदस्य रहेको दुई पार्टीको एकता २००६ सालमा भयो । एकीकृतपछि बनेको नेपाली कांग्रेसको २००९ सालमा जनकपुरमा भएको पाँचौँ महाधिवेशनबाट महामन्त्री धनमानसिंह परियार भए । जतिबेला सभापति पदमा निर्वाचन हुन्थ्यो । निर्वाचनबाट सभापति बिपी भए ।
उनै बिपीले धनमानसिंहलाई आफूपछिको शक्तिशाली महामन्त्री बनाएको देखिन्छ । अभिलेखअनुसार उनी २०१४ सम्म कांग्रेसको केन्द्रीय समितिमा रहेका थिए ।
त्यसपछि एकैपटक ११औँ महाधिवेशनमाबाट मात्रै कांग्रेसको केन्द्रीय राजनीतिमा मानबहादुर विश्वकर्मा र अर्का नेता दलसिंह कामीको प्रवेश भयो ।
१२औँ महाधिवेशनमा पार्टीले समावेशीको नीतिअनुसार दलित केन्द्रीय सदस्यका लागि आरक्षणको व्यवस्था गरेपछि भने जीवन परियार, मीन विश्वकर्मा, मानबहादुर विश्वकर्मा, सुजाता परियार र कविता सरदार निर्वाचित भएका थिए ।
यसरी कांग्रेसको ७५ वर्षे इतिहासमा केन्द्रीय समितिमा दलित समुदायका आठजनाको प्रतिनिधित्व भएको देखिन्छ ।
एकजना महामन्त्री भएको देखिन्छ । जबकि, २०५८ सालको जनगणनाअनुसार देशको कूल जनसंख्यामा १३ दशमलव ८ प्रतिशत दलित समुदाय छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।