कांग्रेस उपसभापति निधिविरुद्ध जनकपुरको पार्टी कार्यालयमा विरोध प्रदर्शन

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मनोमानी गरेको भन्दै असन्तुष्ट नेता–कार्यकर्ताले निधिविरुद्ध जनकपुरधामस्थित पार्टी कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । 

उपसभापति निधिले धनुषाको क्षेत्र नम्बर–३ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा पार्टीको विधान र निर्वाचन प्रक्रिया विपरीत अलोकतान्त्रिक तरिकाले पदाधिकारी घोषणा गरेको आरोप लगाउँदै विरोध प्रदर्शन भएको हो । 

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनबाट आइतबार उपसभापति निधिका भाइ धीरेन्द्र निधिलाई क्षेत्रीय सभापति चुनिएका छन् । उपसभापति निधिले आफ्नै भाइलाई सभापति बनाएको भन्दै पार्टीभित्रकै अन्य नेता–कार्यकर्ताले विरोध जनाएका हुन् ।

पार्टी उपसभापति निधिले तानाशाही प्रवृत्ति देखाउँदै पदीय दम्भमा निर्वाचन प्रक्रियाविपरीत उद्घाटन सत्रको मञ्चबाटै पदाधिकारी घोषणा गरेको नेता शम्भुनाथ झाले आरोप लगाए । उनले सो निर्णय आफूहरुलाई मान्य नरहेको र अधिवेशन खारेजी हुनुपर्ने माग गरे । 

असन्तुष्ट नेता–कार्यकर्ताले जिल्ला निर्वाचन र केन्द्रीय निर्वाचन कार्यालयमा धनुषा क्षेत्र नम्बर ३ को अधिवेशन खारेजीको माग गर्दै निवेदन समेत पठाएका छन् । उनीहरुले जिल्ला निर्वाचन कार्यालयमा निवेदन दर्ता गराउन जाँदा त्यहाँ कोही नभेटिएपछि इमेलमार्फत निवेदन दर्ता गराएका हुन् ।
 
पार्टीका नेता प्रवेश चौधरीले भने, ‘क्षेत्र नम्बर ३ मा गरिएको पदाधिकारी चयनको गलत प्रक्रियाको हामीले विरोध गर्दै जिल्ला र केन्द्रीय निर्वाचन कार्यालयमा इमेलमार्फत निवेदन दर्ता गराएका छौँ ।’

चौधरीले आजसम्म इतिहासमै नभएको काम उपसभापति निधिले गरेको आरोप लगाए । 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार २१:४२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया