पुनः जनगणनाको माग गर्दै तथ्यांक विभागलाई ज्ञापनपत्र

भर्खरै सम्पन्न राष्ट्रिय जनगणना २०७८ मा गम्भीर त्रुटि भएको भन्दै मैथिली साहित्यकार सभाको अगुवाइमा तथ्यांक कार्यालय धनुषामार्फत केन्द्रीय तथ्यांक विभागलाई ज्ञापनपत्र बुझाइएको छ । 

यही वर्षको २५ कात्तिकदेखि ९ मंसिरसम्म सम्पन्न भएको जनगणनामा व्यापक त्रुटि भएकोले त्यसलाई सच्याउनुपर्ने माग गर्दै मैथिली साहित्यकार सभाका सभापाल प्रेमविदेह ललनको अनुवाइमा जनकपुरधामका विभिन्न ८ वटा भाषिक र सामाजिक संघसंस्थाका प्रतिनिधिले तथ्यांक कार्यालय प्रदेश २ का प्रमुख विमलकुमार यादवलाई ज्ञापनपत्र बुझाएका हुन् ।

‘सप्तरी जिल्लास्थित हनुमाननगरको घटना ज्वलन्त उदाहरण हो जहाँ गम्भीर त्रुटि गरिएको कारण जनगणनाका सुपरिवेक्षकलाई बर्खास्त गरिएको थियो । यस्ता गडबडी सप्तरी, सिराहा, धनुषा, महोत्तरीसहित धेरैजसो जिल्लामा पाइएका छन् । सुपरीवेक्षक र गणकहरूले सबैका घरमा तथ्यांक संकलन गर्न नगएको, पेनको सट्टा सीसाकलमले फारम भरेको, फारमको सट्टा सादा कागजसमेत प्रयोग गरिएको, कतिपय व्यक्तिसँग धर्म र मातृभाषासम्बन्धी प्रश्न नसोधिएको, उत्तरदाताले भनेको धर्म र मातृभाषाको सट्टा अर्को धर्म र मातृभाषा लेखेकोजस्ता गम्भीर गडबडी विभिन्न जिल्ला र पालिकाहरूमा देखिएका छन्,’ विज्ञप्तीमा उल्लेख छ । 

खासगरी मैथिलीभाषी जिल्ला झापादेखि रौतहटसम्मको क्षेत्रमा पूर्वाग्रह राखी जातिवादको राजनीति गर्ने राजनीतिक व्यक्ति, केही जातिवादी संघ–संस्था, कबीरपन्थी संस्था तथा कथित मगही र बज्जिका अभियन्ताहरूको निर्देशनमा मैथिलीभाषीको संख्या घटाउन मैथिली भाषालाई नै मगही र बज्जिका भनी फारममा उल्लेख गरिएको मिथ्यांक तथ्यांक कार्यालयमा पठाइएको विभिन्न घटना र प्रमाणबाट प्रमाणित भइसकेको विज्ञप्तिमा दाबी गरिएको छ ।

मैथिली भाषाभाषी जिल्लाहरूबाट पठाइएको जनगणनासम्बन्धी तथ्यांकको छानबिन गरी गलत मनसायले विवरण भरेका सुपरिवेक्षक र गणकमाथि कारबाही गर्नसमेत साहित्यकार सभाले माग गरेको छ । 

साथै, त्रुटि भएका क्षेत्रमा पुनः अर्को जनगणना टोली खटाउन पनि सभाले आग्रह गरेको छ ।  





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार ११:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया