एजेन्सी- भारतको उत्तराखण्डमा आइतबार एउटा यात्रुबहाक बस सडकबाट चिप्लिएर खोल्सामा खस्दा त्यसमा यात्रारत १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।
साे घटनामा बसमा यात्रारत अन्य १३ जना घाइते भएका बताइएको छ । घाइतमध्ये केहीलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ भने गम्भीर चोट लागेका केही जनालाई उपचारका लागि देहरादुन पठाइएको भारतीय अधिकारीले बताएका छन् । उत्तराखण्डको प्रान्तीय राजधानीबाट सय किलोमिटर टाढा उत्तरकाशी जिल्लाको ग्रामीण क्षेत्रमा साे दुर्घटना भएको बताइएको छ ।
जिल्लाको भित्री क्षेत्रमा चल्ने उक्त गाडी सार्वजनिक बस सडकबाट करिब डेढ सय मिटर तल खोल्सामा खसेको थियो ।स्थानीय र प्रहरीको सहयोगमा दुर्घटनामा घाइते र मृत शरीरलाई घटना भएको केही समयभित्र उद्धार गरिएको प्रहरीले जनाएको छ ।
भारतमा सडक दुर्घटनाका कारण प्रतिदिन औसत चार सयजनाको ज्यान जाने गरेको भारतीय अधिकारीहरूले बताए । दुर्घटनाको कारण कमजोर सडक संरचना, चालकको लापर्बाही, पुराना सवारीसाधन र तीव्र गति नै हुने गरेको अधिकारीहरूको भनाइ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।