पेट र छाती जोडिएका जुम्ल्याहा बालिकाको जन्म
फाइल तस्बिर

सुर्खेत- कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छिन् । रास्कोट नगरपालिका-५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिएका डा राजीव शाह नेतृत्वमा डा. रबिन खातुङ, डा. महेश पौडेल, शल्यक्रिया कक्षमा रहेकी नर्स विनिता बस्यालसहितको चिकित्सकको संयुक्त प्रयासबाट शल्यक्रिया गरेर जुम्ल्याहा बालिकाको जन्म दिइएको हो । उनीहरूको अवस्था सामान्य रहे पनि खतरामुक्त गर्न एनआइसियुमा राखिएको डा. राजीवले जानकारी दिए । 

उनका अनुसार आमाको अवस्था सामान्य छ । जुम्ल्याहा बालिकाको कलेजोको भाग टाँसिएको र मुटु पनि जोडिएको हुनसक्ने उनले बताए । ‘पेटदेखि छातीसम्मको शरीर जोडिएको शिशु जन्मनु पश्चिम नेपालमा असाधारण र दुर्लभ घटना हो,’ डा. शाहले भने, ‘एमआरआइ वा भिडियो एक्सरे गरेर उनीहरुको थप शल्यक्रिया गर्नुपर्छ ।’ यद्यपि उनीहरुको शल्यक्रिया सफल हुन सक्ने उनले बताए ।

ललिताका पति विर्खबहादुर बुढाले उनलाई चार दिनसम्म कालीकोट अस्पतालमा राखेका थिए । अस्पतालले पठाएपछि उनले शनिबार बेलुका श्रीमतीलार्इ प्रदेश अस्पताल सुर्खेतमा ल्याएका हुन्र। बुढाले सात दिनसम्म बेथाले च्यापेकी श्रीमती र बच्चा सकुशल देख्न पाउँदा खुसी लागेको बताए । 

उनले शल्यक्रिया गरेर पत्नी ललिता र जुम्ल्याहा बालिका बचाउन सहयोग गर्ने चिकित्सकको टोलीलाई धन्यवाद दिए । ‘एकातिर खुसी छु, तर अर्कोतिर आजदेखि चिन्ता पनि थपिएको छ,’ बुढाले भने । बालिकाको जीवन बचाइदिन उनले सरकारसँग सहयोगको याचना गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर ३, २०७५ साेमबार ९:५२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया